बगर (खोला किनार) मा गरिने तरकारी खेती सम्बन्धी सम्पूर्ण आधारभूत जानकारी र प्रविधि

यो समाचार 3866 पटक पढिएको

काक्रोदेखि जुकुनी फर्सी, करेला, लौंका, तरभुजा, घिरौला, खरबुजा, फर्सीसम्म

खोलाको छेउछाउको भाग, जहाँ वर्षादको समयमा खोलामा पानी बढेको बेलामा खोलाको पानी बग्दछ भने हिउँदको समयमा खोलाको पानी घट्न गई बलौटे पाङ्गो माटो देखिन्छ, त्यसलाई बगर (खोला किनार) भनिन्छ । आज हामीलाई यही बगरमा गरिने विभिन्न प्रकारका तरकारी खेतीको बारेमा आवश्यक सम्पूर्ण प्राविधिक जानकारी र प्रविधि कृषि बिज्ञ पदमबहादुर सुवेदीले सिकाउदै हुनुहुन्छ ।  सुवेदीले कृषितर्फको हर्टिकल्चर बिषयमा एम एस्सी गर्नुभएको छ । उहाँ कृषि विकास मन्त्रालयको कृषि अधिकृतका साथै सुर्खेतमा सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको जोन कार्यान्वयन इकाई (अदुवा र बेसार) को जिम्मेबारी पनि सम्हाल्नुभएको छ । आशा छ, वगरमा गरिने तरकारी खेतीसम्बन्धी यो आवश्यक जानकारी र प्रविधिले किसानहरुलाई ठूलो सहयोग प्रदान गर्नेछ ।

• पदमबहादुर सुवेदी

खोलाको छेउछाउको भाग, जहाँ वर्षादको समयमा खोलामा पानी बढेको बेलामा खोलाको पानी बग्दछ भने हिउँदको समयमा खोलाको पानी घट्न गई बलौटे पाङ्गो माटो देखिन्छ, त्यसलाई बगर (खोला किनार) भनिन्छ । आज यही बगरमा गरिने विभिन्न प्रकारका तरकारी खेतीको बारेमा आवश्यक सम्पूर्ण प्राविधिक जानकारी उपलब्ध गराउने प्रयास गरेको छु । 

माटो :

विभिन्न मानिसहरुले माटोको उपयोगिताको आधारमा माटोलाई विभिन्न तरिकाबाट परिभाषित गरेको पाइन्छ, तर एउटा कृषकको लागि माटो पृथ्वीको खुकुलो सतह हो । साथै बिरुवाको विकासको लागि एउटा प्राकृतिक माध्यम पनि हो । यो एउटा गतिशिल प्राकृतिक पिण्ड हो, जसको सिर्जना खनिज पदार्थ, प्राङ्गारिक पदार्थ र जीवित रुपबाट बनेको हुन्छ,, अनि जसमा बिरुवा उमार्न सकिन्छ । माटोले बिरुवाको जीवनचक्र पूरा गर्नको लागि आवश्यक खाद्यतत्व प्रदान गर्दछ । माटोलाई दुई भागमा विभाजन गर्न सकिन्छ । उपलल्लो सतह जहाँ बिरुवाको जराहरुले मुख्य क्रियाकलाप गर्दछन्, जहाँबाट बिरुवाले आफ्नो खाना लिन्छ, त्यसलाई उपल्लो तहको माटो (Top Soil) भनिन्छ भने उपल्लो तहको माटो भन्दा तलको माटोलाई उपतह (Sub Soil) को माटो भनिन्छ ।

बगरमा पाइने माटोः
बगरमा सबभन्दा प्रारम्भिक अवस्थाको माटो पाइन्छ । यो माटो भर्खर निर्माण भएको माटो हो । यसको तह निर्माण भईसकेको हुँदैन । यो माटो विभिन्न हावापानीमा पाइन्छ । साधारणतया पहाड र नदी किनारमा यस्तो प्रकारको माटो पाइन्छ । प्रवाहित लेदो माटो, गुरुत्वबाट जम्मा भएको माटो यो समूहको मुख्य माटोको श्रोत हो । नेपालमा यस्तो प्रकारको माटो देशभरी नै पाइन्छ । उत्पादकत्वको हिसाबले हेर्दा मल र जलको राम्रो प्रबन्ध हुनु आवश्यक छ । यस्तो माटो धान, गहुँ, सुन्तलाजात फलफुल, बदाम र तरकारी बालीको लागि राम्रो मानिन्छ । नदीले थुपारेको ठाउँमा पाइने माटो, पहिरोले थुपारेको ठाउँमा पाइने माटो र पानीले ढाकेको ठाउँमा पाइने माटो यस समूहमा पर्ने माटो हुन् ।

 

बगरमा उपलब्ध अवसरहरुः

  •  खाली जमिन ।
  •  वर्षादको पानीले मलिलो माटो थुपारेको हुन्छ ।
  • बगरको छेउमा रहेको खोलाको पानी तथा जमिनमुनिको चिस्यान उपलब्धता ।

बगर वर्गीकरणका आधारहरुः

 बगरको उचाई
 बगरको माटोको बनौट र बुनोट
 चिस्यानको गहिराई
 बगरको क्षेत्रफल
 बाढीको सम्भावना
 बस्ती, बजार तथा सडकदेखि बगरको दूरी
 बगरको स्वामित्व

कृषकहरुसंग उपलब्ध श्रोत–साधन तथा अवसरहरुः

  •  आफ्नै श्रम
  • बेमौसमी तरकारीको बजार उपलब्ध
  • प्राविधिक सहयोग उपलब्ध
  •  आवश्यक परे ऋण प्राप्त गर्न सकिने अवसर

बगर खेती प्रविधिः
नदीमा बाढी आएर बालुवा-बगर पटान भएको वा थुपारिएको ठाउँमा गरिने खेतीलाई बगर खेती प्रविधि भनिन्छ । अर्को शब्दमा भन्नु पर्दा वर्षात याममा आउने विनाशकारी वाढीले नदि खोला किनारका कृषि भूमिलाई कटान गरी बगरमा परिणत गर्छ र वाढी आउन छाडेपछि खाली रहने त्यस्ता उराठलाग्दा बगरक्षेत्रलाई विशेष प्रविधि प्रयोग गरी अर्को वर्षको वाढी नआउन्जेलसम्म हराभरा पारी राम्रो र लगातार आम्दानी लिने खेती प्रविधिलाई बगरखेती भनिन्छ । हालका केहि वर्षयता जलवायु परिवर्तनका कारणले गर्दा वर्षामा आउने अध्याधिक वर्षा, वनविनाशका कारणले गर्दा कृषि भूमिलाई बगरक्षेत्रमा परिणत गर्ने क्रम बढदै गइरहेको छ । भूमिहिन, वाढिपिडीत एवं सिमान्तकृत कृषकहरुलाई स्वरोजगार बनाउने दिशामा संस्थागतरुपमा सरकारी तथा गैरसरकारी निकायहरुबाट बगरखेतीलाई प्रवद्र्धन गर्नका लागि प्रयासहरु थालनी भएको पाईन्छ ।

यसैक्रममा बि.सं. २०६५ सालमा पश्चिम नेपालको तराईमा आएको बाढी तथा पूर्वमा कोशि नदिको बाढीले क्षति गरेको स्थानहरुमा एशियाली विकास बैंकको सहयोगमा नेपाल सरकारबाट बगर खेतीमा आधारित खेती प्रणालीका क्रियाकलापहरु शुरुवात गरेको पाईन्छ । त्यसको परिणाम स्वरुप हाल नेपालका मोरङ, कैलाली–कञ्चनपुर एवं बाँकेको राप्ती नदि किनारका बगरक्षेत्रमा बगरखेतीलाई अगाढि बढाएको देखिन्छ । ठाउँ हेरी यसको खेतीगर्ने समयमा पनि केही फरक पर्छ । यो खेती मंसिर उप्रान्त शुरु भई माघ १५ सम्म रोपी सकिन्छ र बाली हेरी उत्पादन चैत्र महिनादेखि जेठसम्म उब्जति लिन सकिन्छ ।

खासगरी तराईका नदीहरुले छोडेका बगर भएका स्थानहरुमा यो खेती परम्परादेखि नेपालमा भईरहेको छ र यो खेती वर्षमा केवल एक पटकमात्र गरिन्छ र वर्षायाम अन्त्य भएपछि त्यहाँ छोटो अवधिका बालुवामा हुने खालका काँक्रो, लौका, फर्सी, करेला, जुकुनि फर्सी, तरवुजा र खरवुजा जस्ता बालीहरुलाई बगर खेतीको रुपमा लगाएर राम्रो उत्पादन लिन सकिन्छ । खासगरी बगरखेती सम्बन्धि कृषकहरुलाई प्राविधिक ज्ञान हस्तान्तरण गर्नको लागि यसतर्फ थप अध्यन अनुसन्धान गरी प्रचार प्रसार गर्न सकेमा यस्तो श्रोतहरुको प्रयोगमा व्यापकता र व्याबसायिकता नआउला भन्न सकिन्न । नदिजन्य पदार्थहरुको जसरी आजकाल ठेक्कापठ्ठाको माध्यमबाट विभिन्न गा.वि.स. तथा जि.वि.स.हरुले राजस्व पाएका छन त्यसरी नै यस्ता खेती गर्न सकिने बगरक्षेत्रहरुलाई पनि नीतिगतरुपमै थोरै राजस्व लिई विभिन्न संगठित कृषक समूह,सहकारी तथा कृषि व्यवसायीहरुलाई प्रदान गरी उत्पादन बढाउने तर्फ गराउन सम्पूर्ण निकायहरुको ध्यान जान जरुरी छ ।

बगरखेतीका उद्देस्यहरु
१. खेर गईरहेको खोला बगरको सदुपयोग गर्ने ।
२. कृषकहरुमा प्राविधिक ज्ञान र सीपको विस्तार गर्ने ।
३. बेमौसममा ताजा तरकारी उत्पादन गरी अतिरिक्त आय–आर्जन गर्ने ।
४. स्थानिय श्रोत र साधनको प्रयोगलाई बढावा दिने ।
५. ग्रामिण कृषक समूदायमा रहेको अर्ध वेरोजगारीको समस्यालाई न्यूनिकरण गर्ने ।
६. ताजा तरकारीको खपत बढाई पारिवारिक पोषणमा सुधार ल्याउने ।
७. ताजा तरकारीको आयात घटाउने ।
८. स्थानिय निकायसंग स्वामित्वमा रहेको खोला नदि किनारका बगरक्षेत्रलाई करारमा लिई
थप आय –आर्जनको श्रोत बनाउने ।
९. वातावरणमा सुधार ल्याउने ।

बगर खेतीको महत्वः
१. जमिनको सदुपयोगः

मौसमी तथा नदीको छेउछाउको ठूलो फाँट जहाँ हिउँदको समयमा त्यसै खाली रहने गरेको थियो सो ठाउँमा तरकारी खेती गर्दा खेर गईराखेको जमिनको सदुपयोग हुने गरेको छ ।

२. तरकारीको माग आपूर्तिमा सहयोगः

बगर जस्ता खेर गईराखेको ठाउँहरुमा तरकारी खेतीले बजारमा तरकारीको मागलाई पूर्ती गर्न सहयोग गर्दछ ।

३. आर्थिक महत्वः

क) बगरमा तरकारी खेती गर्ने कृषक तथा कृषक समूहले बेमौसमी तरकारीहरु जस्तैः काँक्रा, लौका, घिरौला, फर्सी, भाण्टा उत्पादन गरी बढी मूल्यमा तरकारी बिक्री गरि आर्थिक लाभ गरिराखेका छन् र गर्न सक्छन् ।
ख) सम्बन्धित टोल वा समुदाय वा गाउँ विकास समितिले बगर क्षेत्रलाई ठेक्का दिएर तरकारी खेती गर्ने अनुमती दिने गर्नाले ठेक्काबाट उठेको रकमले विकास निर्माणका कार्यहरु गर्न टेवा पु¥याउँदछ ।

४. पौष्टिक महतवः

बगरमा उत्पादन गरिने तरकारीहरु प्रायः बेमौसमी हुने गरेको छ । यसले उत्पादक तथा उपभोक्ता दुवैले उपभोग गर्ने हुँदा तरकारीबाट प्राप्त हुने खाद्यतत्व प्राप्त हुन गई हामीहरुको पोषण सुधारमा पनि महत्वपूर्ण भूमिका खेल्दछ ।

५. रोजगारी सृजनाः

बगरमा तरकारी खेती गर्नाले यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको सिर्जना गरिराखेको हुन्छ ।

६. प्रत्यक्ष रोजगारीः

बगरमा तरकारी उत्पादन गर्न संलग्न कृषक तथा ज्यामीहरु-कृषक तथा कृषक परिवारको लागि बगर खेतीले स्व–रोजगार सिर्जना गरिराखेको हुन्छ ।

७. अप्रत्यक्ष रोजगारीः

तरकारी ढुवानीकर्ता, लोड–अनलोड गर्ने व्यक्तिहरु, ग्रेडिङ्ग, प्याकेजिङ्ग गर्ने व्यक्तिहरु, थोक तथा खुद्रा ब्यापारीहरु ।

बगरखेतीका अवसरहरु

  • रोगकिराको प्रकोप तुलनात्मकरुपमा कम देखिनु ।
  • खनजोत÷खेतीगर्न सजिलो हुनु ।
  • प्राङगारिक पदार्थको उपयोग छिटो र प्रभावकारी देखिनु ।
  • प्रायः खोला किनारमा गरिने भएकाले सिंचाई सरलता हुनु ।
  • गोडमेल गर्न सजिलो हुनु ।
  • भूमिहिनहरुका लागि खेती गरी जिविकोपार्जन सुधार गर्न राम्रो अवसरकोरुपमा स्थापित हुनु ।
  • बेमौसमी उत्पादन हुने भएकोले उत्पादित तरकारीको राम्रो बजार पाईनु
  • नेपालका थुर्पै खोला नदिका उपयुक्त बगरहरुमा विस्तार गर्न सकिने ।

बगरखेतीका चुनौतीहरु

  • छाडा पशुहरुबाट हुनसक्ने नोक्सानी ।
  • प्राकृतिक प्रकोप ( हुरी –बतास -आधिं ) बाट हुनसक्ने क्षति ।
  •  बगरहरु प्राय मानिसहरुको बासस्थान भन्दा टाढा हुने भएकोले चोरीको बढि सम्भावना ।
  •  मलखादको आवश्यकता अधिक हुने ।
  •  बाली लिन लामो समय कुर्नु पर्ने ।
  •  बर्षमा एक बालीमात्र लिन सकिने ।
  •  पटक पटक मल दिई रहनु पर्ने ।
  •  विरुवाले शूक्ष्म तत्वको अभावका लक्षणहरु वढि देखाउन सक्ने ।

बगरखेतीको लागि बगरक्षेत्रको छनौट

मनसुनी वर्षा बन्द भई बाढि आउन छाडेपछि बाढिले थुपारेको मलिलो पाँगो माटो भएको बगरक्षेत्र यो प्रयोजनको लागि छनौट गर्नु पर्दछ । बढि चिस्यानले वीउ तथा विरुवालाई असर नगरोस भन्नाकाखातिर पानीको सतह करिब २ फिट जति तल भएको बगर यसको लागि अनुकुल मानिन्छ । यस्तो बगरक्षेत्र कृषक वस्तीवाट नजिक वा कृषकले अस्थायी रुपमा त्यही बस्न र रेखदेख गर्न सक्ने खालको हुनु जरुरी छ ।

बगरखेतीमा ध्यान दिनु पर्ने कुराहरु

  • हावाहुरीबाट आउने धुलो वालुवाका कणहरुबाट वालीलाई जोगाउन ,उपजको गुणस्तर बढाउन,जमिनमा चिस्यान कायम राख्न जमिनको सतहमा सुख्खा घाँस परालको छापो दिनु पर्छ ।
  • राम्रो उत्पादन पाउनको लागि घाँस उम्रीसकेको बगरमा भन्दा भर्खरमात्र त्यसै वर्षको वाढिले पुरेको वालुवा ÷बगरमा खेती गर्नु पर्दछ ।
  •  कम उब्जाउ बगरहरुमा विरुवा बाक्लो रोप्नु उपयुक्त हुन्छ ।
  •  खस्रो बालुवा भएको स्थानमा प्रति खाडल १–२ के.जी. चिम्टा्इलो माटो मिसाई बाली लगाउदा उत्पादन राम्रो हुन्छ ।
  •  पानीको सतह हेरी आवश्यकता अनुसार बालुवा उठाएर सतहमै अथवा खाडल बनाई वीउ रोप्दा बाली राम्रो हुन्छ ।
  •  बगरमा खाद्यतत्वहरु चाडै नै सकिने हुदाँ लहरे तरकारीमा लामो समयसम्म उत्पादन लिन डि.ए.पी.,युरिया र पोटास मलले टपडे«स गर्नु पर्दछ ।
  •  उचित बजार भाउ पाउनको लागि प्लाष्टिक घर बनाई जाडो मौसमको सुरुमा बेर्ना उत्पादन गर्नु पर्दछ ।
  •  राम्रो उत्पादन लिनको साथै फलमा लाग्ने औंसा किराको प्रकोप कम गर्नको लागि स्क्वास फर्सीलाई कार्तिक महिनामा लगाउनु पर्दछ ।
  •  हावाहुरीबाट नोक्सान कम गर्न र यसले ल्याउने धुलो,बगरका कणहरुलाई तरकारीको झाङ्मा नपरोस् साथै अतिरिक्त आम्दानी समेत लिनको लागि गहुँ हारमा लगाउनु पर्छ ।

बगर खेतीका तरिकाहरुः
१) खाडलमा लगाइने तरिका (Pit method)
२) ४५–६० फिट लामो सुरुङ्ग खनेर लगाइने तरिका (Trench method)

१) खाडलमा लगाइने तरिका (Pit method) 

बगर क्षेत्रमा लगाइने तरकारी बालीहरुको लागि अगाडि नै बेर्ना तयार गरि सार्नुपर्छ । ठण्डा मौसममा बीउहरु उम्रनको लागि कमपोष्ट मलको थुप्रो वा प्लाष्टिक गुमोजको प्रयोग गरिन्छ ।

कम्पोष्ट-गोबर मलको थुप्रोमा राखी बीउ उमार्ने विधि
एउटा कपडाको टुक्रामा बीउहरु फिजाउने, कपडा बेर्ने र भिजाउने । बीउ राखी बेरेको कपडा कम्पोष्ट मल वा थुपारेको गोठेमलको मित्रि तातो भएको ठाउँमा राख्ने । प्रत्येक दिन बीउ उम्रेको नउम्रेको जाँच गर्ने । उम्रेको बीउ मुख्य जग्गामा रोपी राख्ने ।

प्लाष्टिकको गुमोजभित्र बीउ उमार्ने र बेर्ना हुर्काउने विधिः
जमिनमाथि आधा बाटुलो हुनेगरी बनाइएका बाँसका भाटामाथि ठण्डा मौसममा माटोलाई तातो राखी बीउ राम्रोसंग उम्रनको लागि प्लाष्टिकले ढाकिन्छ । हावाको राम्रो आदान–प्रदानको लागि प्लाष्टिकको टुप्पोहरु दिनमा खुला गरिन्छ र रातमा बन्द गरिन्छ । ५ मि.लामो प्लाष्टिकको गुमोज बनाउँदा साधारणतया ५००० बेर्नाहरु उत्पादन गर्न सकिन्छ, तर बीउहरु प्लाष्टिक थैलामा राखी बेर्ना उत्पादन गर्दा त्यो भन्दा कम संख्यामा बेर्नाहरु उत्पादन गर्न सकिन्छ ।

बगर क्षेत्रमा लगाइने लहरे तरकारीको बेर्ना उखेलेर सार्न सकिँदैन, लहरे तरकारीका बीउलाई प्रायः एकैचोटी सिधैं तयारी स्थायी जग्गा (खाडल वा सुरुङ खनेर बनाइएको गहिरो ड्याङ जग्गामा) १–१.५ से.मी.को गहिराईका १.५–२ मिटरको फरकमा रोप्ने गरी खेती गरिन्छ । तर बजारमा राम्रो मूल्य पाउन र यथासम्भव छिटै बजारमा बेच्न ल्याउनको लागि ४”x ६” आकारको १०० गेज मोटाई भएको प्लाष्टिकको थैलामा राम्रो कुहिएको कम्पोष्ट या गोबर मल १ भाग, मसिनो बलौटे माटो १ भाग र मलिलो माटो २ भागको मिश्रण तयार गरी प्लाष्टिक थैलाको पिंधमा ८–१० वटा प्वाल पारी भर्नु पर्दछ । यसरी भरिसकेपछि हरेक थैलोमा २ वटा बीउका दरले १ से.मी.गहिराईमा रोप्नु पर्दछ । बीउ रोपिसकेपछि सबै थैलाहरुलाई प्लाष्टिकको घर या टनेलभित्र मिलाएर राखिन्छ ।

यसको लागि यु.भि.आर.प्लाष्टिक सीट प्रयोग गर्न वेश हुन्छ । यसरी प्लाष्टिक थैलाहरुमा बीउ रोपी सकेपछि बीउ उम्रन आवश्यक पर्ने चिस्यानको मात्रा ठीक अवस्थामा कायम राख्न हजारीका मद्दतले आवश्यकता अनुसार सिंचाई गर्नु पर्दछ । यसरी प्लाष्टिक टनेलभित्र थैलामा बीउ रोप्दा बाहिर खुला वातावरणमा बीउ उम्रनको लागि तापक्रम अपुग भएको अवस्थामा पनि टनेलभित्रको तापक्रम केही उच्च हुनेहुँदा समयमा नै बीउ उम्रन्छ र छोटो समयमै बेर्ना सार्न लायक बन्दछ ।

यसरी तयार पारिएका बेर्नाहरु सार्दा प्लाष्टिक थैलोलाई ब्लेडले विस्तारै काटेर जरालाई अलिकति पनि नखलबलाईकन सार्नु पर्दछ । बेर्ना सार्न खाडल उपयुक्त दूरीमा तयार गर्नुपर्छ, ६० से.मी.गहिराई भएको खाडल बनाउनु पर्छ । बेर्ना सार्नु अगाडि प्रत्येक खाडलमा प्रतिबोट कम्पोष्ट १०–१२ किलो, डि.ए.पी.१०० ग्राम, पोटास ५० ग्राम, युरिया ५० ग्राम,पिना १०० ग्रामका दरले सबै मलहरु बेर्ना सार्नुभन्दा एक हप्ता अगाडि खाल्डोमा हाल्नुपर्छ ।

बेर्ना सार्ने समय १५ माघभित्र सारी सक्दा राम्रो हुन्छ । थाक्रा (झिक्रा) दिने-नदिने के हो सोही हिसाबले बेर्ना सार्ना जात अनुसारको दूरी कायम राख्ने र तपसिल अनुसारका दूरीमा बेर्नाहरु रोप्नु पर्छ ।

क्रसं बाली जात थाक्रा -झिक्रा_ दिने दूरी मिटर थाक्रा -झिक्रा) नदिने गरी मिटर
काँक्रो स्थानीय 3 x 2 3 x 3
वर्णशंकर 2 x 2 3 x 2
जुकुनी फर्सी वर्णशंकर 0.90 x 90 थाक्रा नपर्ने
करेला स्थानीय 2 x 2 2 x 2
वर्णशंकर 2 x 2
लौका स्थानीय 5 x 3 5 x 5
वर्णशंकर 5 x 4 4 x 4
तरवुजा वर्णशंकर 4 x 3 4 x 4
घिरौला वर्णशंकर 4 x 3 4 x 4
खरवुजा वर्णशंकर 4 x 3 4 x 4
फर्सी ग्रिनवल 4 x 3 4 x 4

बेर्ना रोपेपछि बेर्ना वरिपरि माटो हाली राम्रोसंग थिचेर सुकेको घाँस÷पराल आदिको छापो दिनुपर्छ । छापो दिनाले हावाहुरीबाट आउने धुलोका कणहरुले विरुवाको वानपस्तिक आवरणलाई बचाउन सकिन्छ । बेर्ना रोपेपछि तुरुन्त पानीले सिंचाई गर्नुपर्छ । त्यसपछि नुभान भन्ने विषादीको झोल १ एम.एल.प्रति लिटर पानीको हिसाबले पानीमा मिसाई छर्नु पर्छ । तरकारी उत्पादन जसै विक्रियोग्य हुन्छ त्यसलाई तुरुन्त बजारमा वा थलोमा नै बिक्रि गर्नुपर्छ ।

मल टपड्रेस गर्नेः
पहिलो टपड्रेस– बेर्ना रोपेको ५–७ दिनभित्र युरिया ५–१० ग्राम प्रतिबोटको दरले हाल्ने, तर बोटबाट ५–७ से.मी. टाढा हाल्नुपर्छ र माटो चिसो नभए सिंचाइ दिनुपर्छ ।

दोस्रो टपड्रेस– फेरि बेर्ना रोपेको ३०–३५ दिनमा अर्को पटक बोट वरिपरी बोटदेखि १५–२० से.मी.टाढा ४–५ से.मी. गहिरो कुलेसो बनाई मलहरु हाल्नु पर्छ र माटो सुख्खा भए पानी दिनुपर्छ । दोस्रो टपड्रेस प्रतिबोट हाल्नपर्ने मलहरु र तिनका मात्रा निम्नानुसार छन्–

डि.ए.पी. २५ ग्राम
युरिया १५ ग्राम
पिना २० ग्राम

त्यसैगरी बालुवा बगरमा रोपेको विरुवाले सुक्ष्म तत्वको कमीका लक्षणहरु देखाउन सक्दछन ।त्यसकारण सुक्ष्म तत्वको आवश्यकता परिपुर्ति गर्नको लागि जी–प्लेक्स वा भाइटल १ देखि १.५ मिलि लिटर प्रति लिटर पानीमा मिसाई छर्कनु पर्दछ । बगरखेतीमा फाल्गुणको १५ देखि प्राय: सवै विरुवामा फूल र चिचिला लाग्न थाल्दछन । उक्त समयमा चिसोको कारण फूलहरुमा लैड्डिक असंतुलन उत्पन्न हुन सक्ने भएकोले फल नलाग्ने सम्भावना पनि उतिकै रहन्छ । त्यसको निवारणका लागि मिराकुलन ०.५ मिलि लिटर प्रति लिटर पानीमा मिसाएर फूल फूल्ने समयमा १० दिनको फरकमा दुईपटक छर्नाले लैड्डिक संतुलनमा सुधार ल्याउन सकिन्छ ।

सिंचाइ
बोट बिरुवाको आवश्यकता हेरि ७–१० दिनको फरकमा हल्का सिंचाइ दिनु पर्दछ । चिस्यान पर्याप्त भएको अवस्था छ भने सिंचाइ दिनु पर्दैन ।

बाली संरक्षण :

क्र.सं. कीराहरु लक्षण रोकथाम
सेतो झिङ्गे कीरा सेतो झिङ्गाले पात र फूलको रस चुसेर खान्छ र पातलाई पहेंलो बनाई बिरुवा कमजोर बनाउँछ, यसले मोजेक भाइरस रोग पनि सार्छ । रोग र अथवा सुफोज २ एमएल पानीमा मिसाएर एक-दुई वटा सेतो झिङ्गा देखिने बित्तिकै छर्नुपर्छ, शुरुमा शंकालु रोगी बोट देखिएमा त्यसलाई उखेल्दा पनि हुन्छ ।
(ह्वाइट फ्लाई) यी कीराहरुले पातको हरितकणहरु चुसेर बोट कमजोर पार्छन् र बोट बढ्न र फल लाग्न सक्दैन् । रोगर अथवा सुफोज २ एमएल र सुलसुलेको लागि काराथियन १ एमएल वा सल्फर धुलो १ ग्रामका दरले कीरा देखिने बित्तिकै ४–५ दिनको फरकमा २ पटक छर्ने ।
लाही-सुलसुले कीरा कलिला पातहरु खस्छन् । लाभ्रेले माटोमा बसी जराहरुको गुदी पनि खान्छ । फल लाग्नुअघि रोगर विषदी अथवा फल लागेपछि नुभान विषादी १ एमएल/लिटर पानीमा मिसाएर २–३ पटकसम्म बोटमा छर्ने ।
रातो खपटे कीरा फूलहरु, चिचीलाहरु फूलहरुको भित्रभित्रै गुदी खाई फलहरु कुहिन्छन् । फूलहरु, चिचीलाहरु भुइँमा झर्छन् । १. झेका फूलहरु, फलहरु नष्ट गर्ने ।

सुरुङ (ट्रेन्च) खनेर गरिने बगर खेती (Trench method) :

लामो ट्रेन्च (गहिरो खाडल) खनेर त्यसमा गरिने बगर खेतीको लागि छिमेकी देश भारतबाट नेपालमा आई भाडामा जग्गा लिएर खेती गर्ने समूह आउँछन्, जसलाई पालिजवाला भनिन्छ । तिनीहरुले गर्ने बगर खेतीलाई पालिज खेती पनि भनिन्छ । जसको जग्गा हो यससंग उनीहरुले खेती गर्नुपूर्व आपसी सम्झौता गर्दछन् । निजि जग्गा भएमा सम्बन्धित कृषक वा कृषकहरुको समूहसंग सार्वजनिक जग्गा भए गाविससंग सम्झौता गरेर कति दस्तुर बुझाउने हो त्यसको तय गरेपछि मात्र उनीहरुले खेती कार्य शुरु गर्दछन् । खेती गर्दा साईट अथवा थलोमा नै सानो झोपडी बनाई बाख्रा, कुखुरा समेत साथै पालेर सराखी सपरिवार सबै पालिज खेतीमा जुट्दछन् । यसो गर्दा पूरै समय खेतीपातीमा र त्यसकै रेखदेखमा उपयोग हुन्छ ।

पालिज खेतीको खास–खास विवरणहरु छन्–

  • कार्तिक १५ बाट पालिज खेती शुरु हुन्छ ।
  •  पुसको अन्तसम्म पालिज खेती लगाउने समय हो ।
  •  लौका, फर्सी, काँक्रो, करेला, तरवुजा र खरवुजा मुख्य खेती हुन्, यसको साथै खुर्सानी, टमाटर, भिन्डी र प्याज पनि यदाकदा त्यहाँ खेती गरेको पाइएको छ ।
  •  लौका, काँक्रो, करेला, तरवुजा र खरवुजा लगाउनको लागि लामो ट्रेन्च ५० फिटको हुन्छ, सो को चौडाई पनि कुन बाली लगाउने हो सो अनुसार फरक हुन्छ ।
  •  ट्रेन्चको दूरी भने कुन बाली लगाउने हो सो अनुसार फरक हुन्छ ।
  •  साधारणतया दुई ट्रेन्चको बिरुवाहरु पैmलिएर पूरै जमिन ढाकिने हिसाबमा बिरुवा लगाइन्छन् ।
  •  एक ५० मिटर लामो ह मिटर चौडा ट्रेन्चमा सरदर ३ टन कम्पोष्ट र १० किलो डिएपी र १० किलो युरिया मल हालिन्छ । महल हाल्ने मात्रा र समय फरक–फरक छ । आधा भाग कम्पोष्ट र एक चौथाई भाग डिएपी र युरिया बीऊ रोप्नुअघि खाल्डोमा एकतर्पm आधी भाग पारेर हालिन्छ र सिंचाइ गरिन्छ, त्यसपछि अंकुरा गराएर राखिएको दुईवटा बीऊ प्रति ठाउँ मिलाएर दुईवटाको दूरी बाली अनुसार कायम गरी लगाइन्छ । ट्रेन्चको आधाी भागमा बिरुवा रोपिन्छ र बाँकी आधी भाग बाली हुन्छ ।
  •  बिरुवा उम्रदै जाँदा ठण्डीबाट जोगाउन बिरुवाको नजिकै हार मिलाएर खरको पातलो मूठाहरु बालुवामा फेदतिर पुरे ठड्याइन्छ ।
  •  जब बोटहरु बढ्दै जान्छन् र २–३ फिट अग्लो भएपछि बालुवाले जब साईडबाट बोटहरु पुर्दै लगिन्छ ।
  •  त्यसपछि ट्रेन्चको अर्कोतर्फको भाग जहाँ बिरुवा लगाइएको हुँदैन त्यतातर्फ ३–४ फिट तल चिस्यान भेट्ने गरी खनेर बाँकी ७.५ युरिया, ७.५ किलो डिएपी र बाँकी मलखाद एक-डेढ महिनापछि ३–४ फिट गहिरो गरी बालुवा खनेर हाल्नको लागि खाली छोडिएको १५०० किलो प्रतिट्रेन्चमा एकनासले मल हालिन्छ र बालुवाले पुरेर छोडी दिइन्छ ।
  •  त्यसपछि जसै बोट बढ्छ, एक बोट पुरिएको ट्रेन्चको एकतर्फ लगाई दिइन्छ जहाँ खर गाडेको छ भने अर्को बोट खाडलको अर्को भाग अर्थात् अर्को ट्रेन्च खाली ठाउँमा पठाइन्छ । यसो गर्दा बिरुवाले पूरै जमिन ढाक्छ ।
  •  बिरुवालाई कीराको प्रकोपबाट पनि जोगाउनु पर्छ, जुन इकाई खाडल विधिमा भनिए अनुसार नै हुन्छ ।
  •  ट्रेन्च विधिको पालिज खेती गर्दा सिंचाई दिनु पर्दैन । पछि मल हाल्नको लागि ३–४ फिट गहिरो खनेर माटो चिस्यान प्रयाप्त र दिगो हुन्छ ।
  •  जसै बिक्रीयोग्य उत्पादन आउन थाल्छ त्यसलाई तुरुन्त बजारमा वा थालोमा नै बिक्री गर्नु पर्छ ।
  •  दुई ट्रेन्चको दूरी र बोटको दूरी बाली अनुसार फरक हुन्छन् । जुन तल दिइएको छ–
बाली ट्रेन्चको दूरी X बोटको दूरी
१. लौका ३ मि. X १ मि.
२. तरवुभा २.५ मि. X ०.७५
३. खरवुजा २.५ मि. X ०.७५
४. करेला २.५ मि. X ०.६०–०.७५
५. हाइब्रिड काँक्रो २ मि. X ०.४५ मि.
६. फर्सी २.५ मि. X ०.७५

सन्दर्भ सामाग्रीहरु
बगर खेती : फरवार्ड चितवन ।
बाढीजन्य क्षति पुननिर्माण आयोजना अन्तरगत कैलाली कंचनपुरमा संचालित कार्यक्रम तर्फ सि.एम.एस.बाट प्रदान गरिएका तालिम सामाग्रीहरु ।