कृषिका प्राथमिक तहमा वैदेशिक लगानी ल्याउन नपाउने

यो समाचार 240 पटक पढिएको

काठमाडौं । संघीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता समितिको बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ को विधेयक संशोधन गर्दै घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउन नपाउने गरी रोक लगाउने व्यवस्था गरेको छ।

जसअनुसार माछापालन, फलफूल तथा तरकारी, मौरी पालन, दुग्ध व्यवसाय, तेलहन, दलहन, कुखुरा पालन, पशुपंक्षी पालन तथा कृषिको प्राथमिक तहको उत्पादनका क्षेत्रमा विदेशी लगानी भित्र्याउन नपाउने व्यवस्था संशोधनमार्फत गरेको छ। यस्तै, कपाल काट्ने, सिलाइ, ड्राइभिङ क्षेत्रमा पनि वैदेशिक लगानी ल्याउन नपाउने व्यवस्था गरिएको छ।

बैठकले लघु तथा घरेलु र व्यक्तिगत व्यवसायमा स्वदेशी लगानी मात्रै स्वीकार गर्ने गरी विधेयक संशोधन गरेको छ। प्रस्तावित विधेयकमा साना लगानीका क्षेत्रमा पनि विदेशी प्रविधिलाई लगानीका रूपमा स्वीकार गर्ने व्यवस्था गरेको थियो। संशोधनमार्फत समितिको बैठकले तोकिएका क्षेत्रमा विदेशी प्रविधिलाई लगानीको रूपमा स्वीकार नगर्ने आशयसहितको व्यवस्था गरेको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :