प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ‘प्रधानमन्त्री’ शब्द झिकः प्रधानमन्त्री

यो समाचार 290 पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रधानमन्त्री भन्ने शब्द झिक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका विभागिय मन्त्री तथा उच्च अधिकारीसँग प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ठूलो रकम खर्च भएर पनि उपलब्धी शुन्य देखिएको भन्दै प्रधानमन्त्री ओलीले परियोजनाबाट प्रधानमन्त्री भन्ने शब्द हटाउन निर्देशन दिएका हुन् ।

निर्धारित समयभन्दा निक्कै ढिलो गरी पुगेका प्रधानमन्त्री ओलीले कृषि तथा भूमिसुधारका पक्षमा केही पनि नभएको विषयलाई अस्वीकार गरे। तरकारीले बजार नपाएर किसानले खेतमै डोजर लगाएको घटना कोट्याउँदै प्रधानमन्त्री ओलीले भने,‘तरकारीमा डोजर लगाउनुपर्ने अवस्था थिएन, आवेशमा आएर उत्तेजनामा आएर हो। केही उक्साउने पक्ष पनि छन्, जसले आन्दोलन मन पराउँछन्।’

किसानले उत्पादन गरेको तरकारी र टमाटरलाई मन नपराउने नेपालीले भारतका बाबा रामदेवको संस्थाले तयार पारेको टमाटरको अचार भने निक्कै स्वाद मानेर खाने गरेको प्रधानमन्त्री ओलीले व्यङ्ग्यसमेत गरे। उनले आयातित मसिना तथा बास्नादार चामलभन्दा स्वदेशमै उत्पादन भएको चामलको भात उपभोग गर्न सुझाव दिए ।

कृषिमा नेपाललाई सबल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुख्य भूमिका खेल्नुपर्ने र भूमिसुधार मन्त्रालयले सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको सुझाव दिए।

समयमा अकाशे पानी परेर मात्रै खाद्यान्नको उत्पादनमा वृद्धि नहुने तर्क गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पानीकै कारण उच्च परिमाणमा खाद्यान्न उत्पादन हुने भए बंगालमा अत्याधिक पानी पर्छ। त्यहाँ त सर्वाधिक धान उत्पादन हुनुपथ्र्यो।’

प्रधानमन्त्री ओलीले नेपालीको खानेबानीमा आएको परिवर्तनका कारण कृषिजन्य वस्तुको आयात दर वृद्धि भएको दाबी गरे। उनले आगामी वर्षका लागि बजेट ल्याउनुअघि आवधिक योजना (मास्टर प्लान) ल्याउन कृषिमन्त्री खनाललाई निर्देशन दिए।

नेपालीको खाद्य आदत परिवर्तन हुँदै गएकाले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने ओलीको भनाइ छ। ‘पहिला नेपालीमा सागसब्जी कम्ती खाने बानी थियो। अहिले यसमा परिवर्तन आएको छ। त्यस कारण अहिले भन्दा चार गुणा बढी सागसब्जीको उत्पादन गर्नुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘बास्नादार र विदेशबाट आयात गरिएको चामलभन्दा स्वदेश मै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नु पर्दछ।’

प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक नभएर गुणात्मक परिवर्तन हुनुपर्ने बताए। ‘एकै ठाउँमा ठूलो मात्रामा एकै प्रकारको बाली लगाउनुपर्छ’, ओलीले भने, ‘हाम्रो परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्छ।’

देशको दुई तिहाई जनसंख्या कृषिमा भए पनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको उनको भनाइ छ। ‘हाम्रो देशका लागि ठूलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन। कृषिमा प्रविधि र यन्त्रिकरणको प्रयोग गरेर जनसंख्याको ठूलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने।

तीन घण्टा ढिलो भए प्रधानमन्त्री
समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दुई मन्त्रीलाई तीन घण्टा कुराएका छन्।

प्रधानमन्त्री ओलीले कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई तीन घण्टासम्म कुराएका हुन्।

प्रधानमन्त्रीले दुई मन्त्रीसहित मातहतका सचिव, सहसचिव, विभिन्न आयोजनाका प्रमुख, विज्ञ तथा वैज्ञानिकलाई कृषि तथा भूमिसूधारका विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यालयमा डाँकेका थिए।

दुवै मन्त्रालयका मन्त्रीसहितका अधिकारी निर्धारित समय बिहान ११ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका थिए। प्रधानमन्त्री ओली भने दिउँसो २ बजेमात्रै कार्यक्रममा सहभागी भएका थिए।

कृषि तथा भूमिसुधारका विषयमा गहन छलफल गर्ने योजना तयार गरेर आयोजना गरेको कार्यक्रम अन्ततः ४५ मिनेटमै सकिएको थियो।

छलफलमा प्रधानमन्त्री ओली सहभागी हुन ढिला गरेपछि विज्ञले गुनासो गरे। प्रधानमन्त्री आफैँ समय दिएर तीन घण्टासम्म सहभागी सबैलाई कुराउन बाध्य बनाए। प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सहभागीले मोवाइल चलाएर तीन घण्टा कटाएका थिए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :