विषादीको प्रयोग डरलाग्दो अवस्थामा छैंन: कृषिमन्त्री

यो समाचार 347 पटक पढिएको

काठमाडौं । नेपालमा बढ्दो विषादीको प्रयोगबारे संघीय संसद्को प्रतिनिधिसभामा बुधबार लामै बहस चल्यो । सांसदहरूले रासायनिक विषादी आयात रोक्नुपर्ने र यसको प्रयोगलाई कम गर्दै नेपाललाई प्राङ्गारिक मुलुकका रूपमा चिनाउनसमेतका सुझाव सरकारलाई दिए ।


बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई सांसदहरू रामबहादुर विष्ट, मिनेन्द्र रिजाल, राजेन्द्र लिङ्देल, लक्ष्मी परियार, देवेन्द्रराज कँडेललगायतले स्वच्च कृषि उपज उपभोग गर्ने वातावरण कहिले बन्छ ? भनेर प्रश्न गरेका थिए । सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले नेपालमा रासायिनक विषादी प्रयोगको विगत र वर्तमान अवस्थाका बारेमा विस्तृत जानकारी गराए ।

रासायनिक विषादीको प्रयोगलाई नियमन गर्न जिवनासक विषादी विधेयक संसदीय समितिमा दफाबार छलफलमा रहेको र सो लागू भएपछि नियमनमा थप सहज हुने भनाइ मन्त्री खनालको थियो । सांसदहरूले पहिलो पटक संसद्मा पुरक प्रश्न गर्ने व्यवस्थाको सदुपयोग गर्दै विषादीरहित उत्पादनलाई प्रवद्र्धन गर्न मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए ।

“विधेयक र कानुन जस्तो आए पनि कार्यान्वयन पक्ष बलियो हुनुपर्छ,” सुरुमै पुरक प्रश्न गरेका सांसद रामबहादुर विष्टले भने, “काठमाडौंलगायत देशभरका सहरबजारमा पाइने खाद्यान्न, फलफूल तरकारी र बाहिरबाट आउने खाद्यान्न, फलफूल तरकारी अब ढुक्कसँग खाँदा हुन्छ की मन्त्रीज्यू ?” उनले रासायनिक विषादी प्रयोग भएको कृषि उपज खाएर रोग लागेर मृत्यु हुने परिवारलाई राहतको व्यवस्था सरकारले गरेको छ की छैन भनेर प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री खनालले नेपालमै विषादीको प्रयोग र आयाततित कृषि उपजमा विषादीको प्रयोग डरलाग्दो अवस्था नभएको भन्दै प्रतिरक्षा गरे । “विगत ६ महिनायता ७ सय नमूना परीक्षणमा गरिएकोमा २ वटा मात्र खान अयोग्य देखिएकाले ९९ प्रतिशत तरकारी खानयोग्य रहको पाइएको छ,” उनले भने ।

मन्त्री खनालले अहिले विषादी प्रयोगको अवस्था राम्रो र सुध्रँदै गरेको अवस्था रहेको दाबी गरे । “२०५१ सालदेखि प्रयोगमा आउन थालेको, २०५६ देखि २०६५ सम्म अत्यधिक प्रयोग भएको र त्यसपछि क्रमशः घट्दो अवस्थामा रहेको छ,” उनले भने । संसद लक्ष्मी परियारले डाक्टरले विरामीलाई फलफूल र तरकारी खान सुझाव दिने गरेको तर विषादी प्रयोगको अवस्था हेर्दा सुधारको साटो यस्ता उपज खाँदा मर्ने अवस्था आउने खतरा रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराइन् ।

सांसद देवेन्द्रराज कँडेलले विषादीमुक्त नेपाल घोषणा गर्दा कसो होला ? भन्दै प्रस्ताव गरे । मन्त्री खनालले भने प्रदेश नम्बर ६ लाई प्राङ्गारिक प्रदेशका रूपमा स्थापित गर्ने अभियान सुरु भइरहेको जानकारी गराए । सरकार र संसदको सहयोग भएमा रासायनिक विषादीलाई निरुत्साहित तथा प्राङ्गारिक विषादीको प्रवद्र्धन गर्दै मुलुकलाई प्राङ्गारिक बनाउने अभियानमा मन्त्रालय गम्भीर भएर लाग्ने प्रतिवद्धता पन उनले व्यक्त गरे ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :