चीनले आलुबाली, घाँस, ब्रोईलर र लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बो ट्राउट माछामा सहयोग गर्ने

यो समाचार 352 पटक पढिएको

काठमाडौं । चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको तिवेट इन्टरनेशनल इकोनोमिक सर्भिस सेन्टर बाणिज्य विभागबीच बुधबार द्विपक्षीय सम्झौता भएको हो । नेपाल उत्तरी पहाडी क्षेत्र कृषि प्रविधि समन्वय परियोजना सञ्चालन गर्ने बिषयसम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको छ ।

मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । नेपालको तर्फबाट योजना महाशाखा प्रमुख सहसचिव डा. योगेन्द्रकुमार कार्की र चीनको तर्फबाट विभागका प्रवन्ध निर्देशक बेन जेनले हस्ताक्षर गरेका छन् ।

नेपालको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा संचालन गरिने परियोजनामा मुख्य गरी आलुबाली, घाँस, ब्रोईलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बो ट्राउट माछामा विभिन्न अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार गरिने मन्त्रालयका उपसचिव शंकर सापकोटाले जानकारी दिए ।

यो परियोजना १९ डिसेम्बर २०१८ देखि १८ डिसेम्बर २०२१ सम्म संचालन हुनेछ । परियोजना संचालनको लागि चीन सरकारले २७ मिलियन चाईनिज युआन सहयोग गर्ने घोषणा गरेको हो । यो परियोजना भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ अन्तरगत रहेको उष्ण प्रादेशिय वागवानी विकास केन्द्र नुवाकोट, संघिय मन्त्रालय अन्तरगतको रेन्बो ट्राउट अनुसन्धान केन्द्र धुन्चे, घाँसे बाली अनुसन्धान केन्द्र धुन्चे तथा लोहा निगाले आलु फार्म सिन्धुपाल्चोकमा संचालन गरिने छ।

यो परियोजनामा विशेषत चीनिया प्राविधिकहरुबाट नेपाली प्राविधिक कर्मचारिहरु र किसानहरुको क्षमता अभिबृद्विको लागि तालिम तथा आधुनिक कृषि प्राविधि तथा कृषि यन्त्रहरुको प्रयोग सम्बन्धी प्रदर्शनीसमेत गरिनेछ । यो परियोजनामा नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीन लगेर र अन्य २४० जना कसिानलाई नेपालमै तालिम दिइने बताइएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :