अर्गानिक कफीको नेपाल गुणस्तर निर्धारण

यो समाचार 93 पटक पढिएको

काठमाडौं । सरकारले अर्गानिक कफीको नेपाल गुणस्तर (एनएस) मापदण्ड स्वीकृत गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले बिहीबार कफीको गुणस्तर मापदण्ड स्वीकृत गरेका हुन्। मन्त्री यादवको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषद्को ९९ औं बैठकले ती वस्तुको नेपाल गुणस्तर मापदण्ड स्वीकृत गरेको हो।

हालसम्म नेपालमा उत्पादित अरेबिका जातको कफीको उत्पादन, प्याकेजिङ र भण्डारणसम्बन्धी गुणस्तर मापदण्ड थिएन। गुणस्तरसम्बन्धी मापदण्ड नभएकाले कफीको निर्यातमा कठिनाइ भइरहेको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ। व्यापार तथा निजी क्षेत्र विकास आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा गुणस्तर मापदण्ड तयार पारिएको हो।

आयोजनाका प्रमुख सल्लाहकार डा. बद्री बस्ताकोटीकाअनुसार मापदण्ड आएपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्गानिक कफी निर्यातमा सहज हुनेछ। ‘यस अघिसम्म नेपाली कफी गुणस्तरीय छ भन्दा पनि नपत्याउने कतिपय क्रेता मुलुकले यो मापदण्डअनुसार उत्पादन भएको जानकारी पाएपछि सजिलै खरिद गर्न सक्छन्’, बस्ताकोटीले भने, ‘नेपाली उत्पादकले यो मापदण्डअनुसार उत्पादन गरेका कफीका लागि एनएस प्रमाण चिह्न पनि प्याकेजिङमा उल्लेख गर्न पाउनेछन्।’

नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीकाअनुसार उत्पादनदेखि नर्सरीसम्म र प्रारम्भिक प्रशोधन (पल्पिङ) देखि ग्रिन बिन प्रशोधन तथा भण्डारणको मापदण्ड तय भएको छ। पुडासैनीले भने, ‘यसले गर्दा अब नेपाली कफीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुनेछ। हाम्रो कफीले गुणस्तरको प्रमाण दिनेछ।’

नेपालमा दुई हजार ६ सय १८ हेक्टरमा पाँच सय १५ मेट्रिक टन ग्रिन बिन उत्पादन हुन्छ। ३२ हजार किसानले अरेबीका जातको अर्गानिक कफी उत्पादन गर्दै आएका छन्। अर्गानिक उत्पादन भए पनि अर्गानिक प्रमाणित गर्ने निकायको अभावमा नेपाली कफीको विषयमा अन्तर्राष्ट्रिय बजारमा संशय पैदा हुने गरेको थियो।

हाल गुल्मीसँगै पाल्पा, स्याङ्गजा, अर्घाखाँची, लम्जुङ, तनहुँ, कास्की, ललितपुर, मकवानपुर, काभे्रप्लाञ्चोक, नुवाकोट, इलाम, पाँचथर, प्युठानलगायत ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुन्छ। नेपालमा मुख्य गरी अरेबिया जातको कफी उत्पादन हुन्छ। नेपालको अर्गानिक कफी दक्षिण कोरिया, जर्मनी, जापान, अस्ट्रेलिया, अमेरिका, कोरिया, जर्मनी, बेलायत, क्यानाडालगायत मुलुकमा अर्गानिक ग्रिन बिन निर्यात हुन्छ। बाँकी स्वदेशी बजारमा खपत हुन्छ।

नेपालमा वार्षिक करिब ३० करोड मूल्यबराबरको वार्षिक चार सय ३४ देखि चार सय ७० मेट्रिक टन कफी उत्पादन हुन्छ। यसमध्ये करिब ५० प्रतिशत निर्यात हुन्छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :