गैर आवासीय सम्मेलनमा कृषि मन्त्री खनालको आग्रह, ‘नेपालमा लगानी गर्नुस’

यो समाचार 90 पटक पढिएको

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले ढुक्क भएर नेपालमा लगानी गर्न गैर आवासीय नेपाली संघ एनआरएनलाई आग्रह गरेका छन् ।

एनआरएन एशिया प्रशान्त क्षेत्रको भेलालाई हंकङमा संवोधन गर्दै मन्त्री खनालले नेपालको राजनीति सही दिशामा आएको र स्थिर सरकार भएकाले लगानीमा कन्जुस्याँई नगर्न आग्रह गरे ।

केही नीति नियम बाधक भएको भए त्यसलाई सरकारले सहज बनाइदिने भन्दै मन्त्री खनालले क्षेत्र पहिचान गर्न पनि सहयोग गर्ने बताए । कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने खनालको भनाई थियो ।

अव नेपालको राजनीति अस्थितरतामा जाँदैन भन्ने कुराको उदाहरण तीन तहको चुनावले दिइसहेको उनको भनाई थियो । २८ देखि ३० लाख युवा जनशक्ति मलेसिया र खाडी मुलुकमा श्रम गर्दा नेपालको उर्वर भूमि बाँझो रहेको भन्दै मन्त्री खनालले नेपालमा लगानी गरेर रोजगारीको अवसर सृजना गर्नेतर्फ सरकार लागेको बताए ।

त्यसका लागि एनआरएन एउटा सहयोगी संस्था हुन सक्ने उनको भनाई थियो । जसले गर्दा झण्डै एक सय ४० अर्वको हाराहारिमा बस्तु आयात भएर चुलिदै गएको नेपालको व्यापार घाटा कम गर्न सकिने उनको भनाई थियो ।

अव विगतलाई दोष दिएर उम्कन नपाइने भन्दै मन्त्री खनालले इतिहासले समृद्ध नेपाल निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी अहिलेको सरकार र राजनीतिक नेतृत्वलाई दिएको टिप्पणी गरे ।

‘अव चुनावी नारा बाँडेर भोट माग्ने दिन सकिए, मन्त्री खनालले भने, ‘सरकार दिर्घकालिन एजेण्डा बोकेर हिडेको छ, छिट्टै गन्तब्यमा पुग्छ, तपाईहरु पनि सहयोगी बन्नुस् ।’

कार्यक्रममा एनआरएनका अध्यक्ष भवन भट्टले आफूहरु नेपाल सरकारसँग हातेमालो गरेर अघि बढ्न र क्षेत्र पहिचान गरी लगानी बढाउन तयार रहेको बताए । कार्यक्रममा सहभागी हुन शनिवार हङकङ गएका मन्त्री खनाल मंगलबार स्वदेश फर्कने छन् ।

आइतबार भएको सङ्घको एसिया प्यासिफिकको छैटौं भेलामा नेपालको समृद्ध मार्गचित्र, विकास मोडल र लगानी वातावरण विषयमा विश्वका १८ देशका नेपालीहरुबीच बहस भएको हो । बहसमा गैरआवासीय नेपाली र नेपालका व्यवसायीबीच सीप, ज्ञान र पुँजीलाई एकीकृत गरी मुलुकलाई समृद्ध गराउनुपर्नेमा जोड दिइयो ।

विश्व अर्थतन्त्रको आर्थिक हबका रुपमा विकसित हुँदै गएको हङकङमा आयोजना भएको गैरआवासीय नेपाली सङ्घ एसिया प्यासिफिकको सम्मेलनमा नेपालको विकास बहस भएको छ ।

नेपालबाहिर भएका नेपालीहरुले नेपालमा लगानी गने सक्ने भए पनि अझै खुल्ला रुपमा आउन नसकेकाले सरकारले ढुक्कको वातावरण तयार भएको सन्देश दिनुपर्ने र लगानी बढाउनका लागि प्रोत्साहन गर्नुपर्ने भेलाको बहसमा सहभागी उद्योगी, व्यवसायी तथा सङ्घका नेतृत्वहरुले जोड दिए ।

भेलामा सहभागी भएका उद्योगी तथा व्यवसायी राजेन्द्र खेतानले नेपालमा अझै पनि प्रतिस्पर्धी अर्थतन्त्र नभएकाले लगानीका लागि थुप्रै अवसरहरु रहेको बताए । ‘हामीले लगानी गर्न सक्ने थुप्रै क्षेत्र छन्, त्यसका लागि सहकार्य जरुरी छ,’ उनले भने । गैरआवासीय नेपाली र नेपालका व्यवसायीबीच अझै समन्वय भएको छैन, एनआरएनको पुँजी, सीप र ज्ञानलाई नेपालका व्यवसायीहरुसँग साझेदार गर्न सकिने भए पनि अहिलेसम्म साझेदारीका रुपमा अगाडि बढ्न नसकेको उनले बताए । लगानीका लागि सम्भाव्यताको अध्ययन गर्नुअघि सम्भाव्यताको एकिन गरिनुपर्छ, त्यसका लागि सबै तयार हुनुपर्छ, उनले भने ।

सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोले नेपालीहरुले विश्वका विभिन्न मुलुकमा लगानी गरिरहेको बताउँदै अब नेपालमा लगानी गर्ने सही समय आएकाले नेपालभित्र नै लगानी बढाउनुपर्ने बताए । ‘पछि वातावरण अझ राम्रो भयो भने विदेशी लगानीकर्ता लाइन लाएर नेपाल आउँछन् अहिले लगानी गर्ने समय हाम्रो हो,’ उनले भने । नेपाल बस्नेले मात्र लगानी गर्नुपर्छ भन्ने होइन, सबैले लगानी गर्नुपर्छ अहिले स्थायी सरकार आएकाले अब लगानीमा जोड दिनुपर्ने उनले बताए ।

सङ्घका निवर्तमान अध्यक्ष शेष घलेले भावनाका आधारमा मात्र अहिले नेपालमा लगानी भएको बताए । ’सरकारले गैरआवासीय नेपालीलाई लगानी गर्ने पहिलो सम्भावना भएको रुपमा हेर्नुपर्छ,‘ उनले भने । ‘हामीलाई पहिला उत्साहित र प्रोत्साहन गरिनुपर्छ, हामीलाई देखेपछि मात्र अझ बढी विदेशी लगानीकर्ताहरु आउँछन्,’ घलेले भने, ‘सरकार लगानी ल्याउने विषयमा गम्भिर भएर लाग्नुपर्छ ।’

सङ्घका अध्यक्ष भवन भट्टले एनआरएनहरुले विदेशबाट सीप, ज्ञान र पुँजी भित्र्याइरहेको बताउँदै सरकारले सहयोग गर्यो भने अझै बढी भित्र्याउन सकिने बताए । ‘सरकारले अहिले बल्ल एनआरएनलाई विभिन्न रुपमा प्रोत्साहन गर्न थालेको छ,’ भट्टले भने । एनआरएनकै लगानीमा देशकै ठूलो अस्पताल, पाँचतारे होटलदेखि हाइडोपावर, कृषि तथा बैङ्कमा लगानी बढिरहेको उनले बताए ।

गैरआवासीय नेपाली सङ्घ, हङकङकी अध्यक्ष तथा एसिया प्यासिफिक सम्मेलनकी सदस्य सचिव राधिका गुरुङ टीकाले सम्मेलनमार्फत् प्रशान्त क्षेत्रका नेपालीहरुको अवस्थाका विषयमा मात्र नभएर देशभित्र लगानी कसरी बढाउन सकिन्छ भनेर छलफलमा बढी जोड दिइएको बताइन् । ‘हामीले जुन रुपमा कार्यक्रमको सफलता सोचेका थियौं त्योभन्दा बढी सफलता मिल्यो,’ उनले भनिन् ।

कार्यक्रममा पहिलो पटक महिलाहरुको सम्मेलनसमेत गरिएको थियो । सम्मेलनमा गैरआवासीय महिलाहरुको समस्या, वैदेशिक रोजगारमा रहेका महिलाको अवस्था र नेपालभित्र महिलाहरुलाई उद्यमशीलतामा गरिनुपर्ने प्रयासका विषयमा छलफल भएको थियो ।

त्यस्तै कार्यक्रममा युवा तथा वैदेशिक रोजगार विषयक छलफलसमेत भयो । छलफलमा वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले ३९ लाख नेपाली रोजगारीका लागि विदेशमा रहेकाले सङ्घले रोजगारीमा गएका कामदारलाई उपेक्षा गर्न नहुने बताए । शिक्षाका लागि होस् या कामको खोजीमा नेपालीहरु विदेश गएपछि सङ्घ जन्मिएको बताउँदै कामदारको हितका लागि सङ्घले अहम भूमिका खेल्नुपर्ने बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :