व्यावसायिक कृषिबाटै समृद्धि 

यो समाचार 53 पटक पढिएको

जनकपुरधाम । प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले व्यावसायिक कृषिबाटै समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

मन्त्री साहले कृषिमा व्यावसायीकरण तथा यान्त्रिकीकरण र एकीकृत खेतीमा जोड दिएर प्रदेशलाई समृद्ध बनाउने बताएका हुन् । कृषि ज्ञान केन्द्र धनुषाले जनकपुरधाममा गरेको अन्तक्र्रियामा उनले स्थानीय तहले एकीकृत खेतीको योजना ल्याएर सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।

किसानका लागि सिँचाइ व्यवस्थापन र बीउ तथा मलखादको समस्या कायमै रहेको भन्दै उनले त्यस्ता समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन उपाय अबलम्बन गरिने बताए । प्रदेश २ कृषिका लागि उर्वर भूमि भए पनि संघीय सरकार र केही कर्मचारीको बदनियतका कारण यहाँका किसानले पर्याप्त मलखाद पाउन नसकेको उनले सुनाए । अहिले मलखादको व्यवस्थापन संघीय सरकारले नै गरिरहेकाले यसको उपलब्धता जटिल बनेको उनको भनाइ थियो ।

मन्त्री साहले किसानका लागि प्रदेश सरकारसँग अनुदानका धेरै कार्यक्रम भएको जानकारी दिँदै युवालक्षित माछा, गाई र कुखरापालनसँग सम्बन्धित कार्यक्रम ल्याउन स्थानीय तहका प्रतिनिधिहरूलाई सुझाव दिए ।

कार्यक्रममा सहभागी नगरपालिका र गाउँपालिका प्रमुखहरूले किसानले भोग्दै आएका मलखाद, सिँचाइ र बीउको समस्यालाई निराकरण गर्न प्रदेश सरकारले ठोस योजना ल्याउनुपर्र्ने बताए । उनीहरूले अहिले पनि किसान आकाशे खेती गर्न बाध्य भइरहेकाले सिँचाइ व्यवस्थापन हुनुपर्ने र मलखाद तथा बीउबिजनको सहज आपूर्ति गरिनुपर्ने माग गरे । किसानका आधारभूत समस्या समाधान भए कृषि उत्पादन दोब्बर हुने बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :