तरकारी र फलफूल क्षेत्रमा ६२ करोड लागतको आयोजना सञ्चालन

यो समाचार 109 पटक पढिएको

काठमाडौं । सरकारले दुई दातृ निकायको सहयोगमा फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनाको सुरुआत गरेको छ ।

कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) तथा संयुक्त राष्ट्र संघ विकास कार्यक्रम(युएनडीपी) को सहकार्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो आयोजना सञ्चालनमा ल्याएको हो ।

मन्त्रालयका प्रवक्ता तेजवहादुर सुवेदीकाअनुसार यो आयोजनामा कूल ५.५ मिलियन युएस डलर (६२ करोड १० लाख ३२ हजार नेपाली रुपैयाँ) लगानी गरिएको छ । यसमध्ये पाँच मिलियन डलर कोइका र ०.५ मिलियन डलर युएनडीपीले उपलब्ध गराएको छ । यो आयोजना प्रदेश नम्बर ३ र ४ को १२ वटा जिल्लाका सडक आसपासका ४० गाउँ तथा नगरपालिकामा सञ्चालन हुनेछ ।

मन्त्रालयकाअनुसार बनेपा–सिन्धुली–बर्दिबास सडक करिडरको काभ्रे, दोलखा, रामेछाप तथा सिन्धुली र काठमाडौं–पोखरा सडक करिडरको धादि®, मकवानपुर, चितवन, नवलपरासी, तनहुँ, गोरखा, कास्की तथा स्याङजा जिल्लामा यो आयोजना सञ्चालनमा ल्याइएको छ । यो आयोजनाको अवधी पाँच बर्ष (डिसेम्बर २०२२) राखिएको छ ।

आयोजनाका राष्ट्रिय निर्देशकसमेत रहेका सुवेदीकाअनुसार यो आयोजनाले मुख्यगरी गरिबीको रेखामुनि रहेका २१.६ प्रतिशत जनसंख्यालाई १३.८ प्रतिशतमा झार्न सहयोग पु¥याउने लक्ष्य लिएको छ । उनले भने,‘यो आयोजनाले मुख्यतया साना किसानको आय श्रोत बृद्धि गरी गरिबी निवारणमा सघाउ पु¥याउनेछ ।’ मन्त्रालयकाअनुसार साना किसानले तरकारी तथा फलफूल उत्पादन गर्न आयोजनामार्फत प्राविधिक बिषयमा सहयोग पाउनेछन् ।

यसका साथै किसानले उत्पादन गर्ने तरकारी तथा फलफूलको बजार सुनिश्चित पनि आयोजनाले गरिदिनेछ । फलफूल तथा तरकारी बालीको मूल्य श्रृंखला आयोजनामा नौं हजार नौं सय ६० किसानलाई सहभागी गराइनेछ । जसबाट २५ हजार किसानले प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । आयोजनाले २० संकलन केन्द्र र स्याटेलाइट बजारको व्यवस्थापन गरिदिनेछ । यसले गर्दा उत्पादित तरकारी तथा फलफूल बिचौलियारहित सिधै बजारमा पुग्ने र किसानले लागत मूल्य प्राप्त गर्न सक्षम हुनेछन् । उपभोक्ताले भने सस्तो मूल्यमा तरकारी खरिद गर्न सक्षम हुने अपेक्षाा गरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :