खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना

यो समाचार 44 पटक पढिएको

डोटी । डोटी जिल्लाको सदरमुकाम सिलगढीमा सङ्घीय सरकार मातहत रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भएको छ ।

मुलुकभर २४ वटा डिभिजन कार्यालय स्थापना गरिएकामा सुदूरपश्चिम प्रदेशको डोटी, डडेल्धुरा र बैतडीमा सो कार्यालय स्थापना गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका निमित्त प्रमुख नारायण रावतले दिनुभएको जानकारीअनुसार डिभिजन कार्यालयमध्ये डोटी कार्यालयले अछाम, बाजुरा र डोटी, डडेल्धुरा कार्यालयले डडेल्धुरा र बझाङ, बैतडी कार्यालयले बैतडी र दार्चुलामा सेवा दिनेछ ।

कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियन्त्रण, सचेतनामूलक कार्यक्रम, तालीम, अनुगमन निरीक्षण तथा कानूनी कारवाही, खाद्य पोषण लगायतका विषयमा सेवा दिने निमित्त प्रमुख रावतले जानकारी दिनुभयो । डिभिजन कार्यालयमा एक खाद्य अनुसन्धान अधिकृत, दुई प्राविधिक सहायक, एक कार्यालय सहयोगी रहने सो कार्यालयले जनाएको छ ।

साविकको जिल्ला कृषि विकास कार्यालय रहेको भवनमा स्थापना गरिएको उक्त कार्यालयको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उद्घाटन गर्नुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा मन्त्री शाहले बजारमा अखाद्य वस्तुको बिक्रीवितरण तथा प्रयोगले जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले यो कार्यालयले अब अनुगमन गरी खाद्यवस्तु मात्रै बिक्रीवितरण गराउन लगाउनेमा आफू विश्वस्थ रहेको बताउनुभयो ।

डोटी जिल्लाको सदरमुकाम सिलगढीमा स्थापना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले कार्यक्षेत्रमा पारदर्शी, स्वच्छ र निष्पक्ष ढङ्गले सेवा दिन निर्देशन दिनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :