यस्तो छ कृषि र पशुपन्छीका बिषयमा भएका सात बुंदे सहमति

यो समाचार 3850 पटक पढिएको

काठमाडौं । नेपाल–भारत कृषि संयुक्त कार्यदलको सातौं बैठक राजधानीमा सम्पन्न भएको छ । संयुक्त कार्यदलले कृषि तथा पशुपन्छीका क्षेत्रमा सात बुंदे बिषयमा द्विपक्षीय सहमतिसमेत गरेको छ ।

संयुक्त कार्यदलले खाद्य परीक्षण प्रयोगशालाको प्रमाणपत्रको आपसी मान्यताको बिषयलाई अघि बढाउने बिषयमा सहमति जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजप्रसाद सुवेदीकाअनुसार खाद्य बस्तुको निरीक्षण, परीक्षण र प्रमाणिकरण प्रणालीमा संयुक्त सम्झौतासम्बन्धी तयार पारिएको दस्तावेज भारतीय पक्षले सुझावसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पठाइसकेको छ ।

यसरी खाद्य विभागले प्राप्त गरेको उक्त दस्तावेजमा सरकारको राय सुझाव समावेश गरी अन्तिम रुप दिन पुनः भारतीय पक्षलाई उपलब्ध गराइएको छ । भारतीय पक्षले उक्त दस्तावेजमा पुनः आफ्नो राय सुझाव दिएर केही समयपछि नेपाललाई उपलब्ध गराउने तयारी भएको छ । यसरी भारतले उपलब्ध गराउने दस्तावेजलाई १५ दिनभित्रमा अन्तिम रुप दिएर द्विपक्षीय सम्झौता प्रक्रियालाई अघि बढाउने बिषयमा सहमति जनाएको छ । नेपालमा निर्धारित समयमा रसायनिक मल उपलब्ध गराउने बिषयमा नेपाल–भारत संयुक्त कार्यदलको सातौं बैठकले सहमति जनाएको छ । राजधानीमा शुक्रबार सम्पन्न भएको नेपाल–भारत संयुक्त कार्यदलको बैठकले यो बिषयमा सहमति जनाएको हो ।

नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सह सचिब डा.योगेन्द्रकुमार कार्की र भारतीय पक्षबाट कृषि तथा किसान कल्याण मन्त्रालयको सहसचिब निराजा अदिदले उक्त बैठकको नेतृत्व गरेकी थिइन् । बैठकमा दुई मुलुकका प्रतिनिधीबीच कृषि क्षेत्रमा बिकास गर्ने बिषयमा कुटनीतिक रुपमा छलफल भएको थियो । सहमति पत्रमा नेपालको तर्फबाट कार्की र भारतको तर्फबाट अदिदले हस्ताक्षर गरेकी छिन् ।

भारतबाट आयात हुने रसायनिक लको समयमा उपलब्धता तथा ढुवानीमा रहेका विद्यमान समस्या समाधानका लागि बिशाखापट्टनम वन्दरगाहको प्रयोगको सुनिश्चितता तथा मलको ढुवानीको लागि रेलवे ¥याकको उपलब्धताको माग बिषयमा द्विपक्षीय सहमति भएको छ । हाल रक्सौल नाका वाहेक जोगवनी तथा नेपालगञ्ज नाकाबाट समेत मल ढुवानीका लागि नेपालले प्रस्ताव अघि सारेको छ । यस्तै नेपालको सुनौली, जोगवनी र रुपैडिया नाकाबाट आयातको व्यवस्था, मल र प्याकेजि®का सामाग्रीका बिषयमा लाग्ने कर छुट दिने बिषयमा पनि सहमति भएको छ ।

भारतमा उत्पादित मल नेपाललाई उपलब्ध गराउन भारतीय पक्षले भारतीय सरकारका सम्बन्धित मन्त्रालय र विभागमा सहजीकरणका लागि पहल गर्ने बिषयमा पनि द्विपक्षीय सहमति भएको छ ।

नेपाल–भारत संयुक्त कार्यदलको सातौं बैठकले पशुपन्छी क्षेत्रको विकासका लागि पाइलट प्रोजेक्ट सञ्चालन गर्ने बिषयमा पनि सहमति जनाएको छ । संघीय प्रणालीमा प्रवेश गरेको नेपालको कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित कार्यालयको सुदृढिकरण तथा प्राविधिकको क्षमता अभिबृद्धिका लागि नेपालले विस्तृत कार्ययोजना भारतीय पक्षलाई उपलब्ध गराउने बिषयमा पनि सहमति भएको छ ।

संयुक्त कार्यदलले कृषि तथा पशुपन्छी क्षेत्रको विकासको लागी उच्च शिक्षामा सहकार्य गर्ने बिषयमा पनि सहमति जनाएको छ । जसअनुसार नेपालले कृषिमा उच्च स्तरको शिक्षा(स्नाकोत्तर र बिद्यावारिधी) को लागि वैज्ञानिक र विद्धान विनिमय कार्यक्रम प्रस्ताव गरेको थियो । भारतले उक्त कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै आगामी तीन महिनामा आवश्यक तयारी गरी साझेदारीका लागि भारतीय पक्षलाई दस्तावेज उपलब्ध गराउने बिषयमा सहमति भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्री तथा कृषिमन्त्रीबची भएको वार्तालाई निरन्तरता दिदैं नेपालले पहिचान गरेको नेपाल कृषि अनुसन्धान परिषद(नार्क) को राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय कृषि बिज्ञान अनुसन्धान प्रतिष्ठानलाई मान्यताप्राप्त विश्व विद्यालय बनाउने बिषयमा भारतको तर्फबाट विस्तृत परियोजना तयारीका लागि अवधी तोकिएको छ । यसका लागि आगामी असोजसम्मको समयसीमा तोकिएको छ ।

नेपाल र भारतबीच हुने कृषि ब्यापारलाई सहजिकरण गर्न विभिन्न नाकामा क्वारेन्टाइन चेक पोष्ट स्थापनाको लागि भारतीय पक्षबाट सम्बन्धित निकायमा पहल गर्ने र नेपालबाट भारतमा निर्यात हुने सम्भाव्य कृषि बालीबस्तुको नामावली उपलब्ध गराई निर्यात प्रवद्र्धनमा सहयोग गर्ने बिषयमा सहमति भएको छ । यस्तै कृषि अनुसन्धान तथा विकासतर्फ नार्कका बैज्ञानिकको क्षमता अभिवृद्धिका साथै आणविक जैविक प्रविधि, जलवायु प्रतिरोधी प्रविधिलगायत अनुसन्धानका लागि भारतीय बिज्ञ नेपालका अनुसन्धान केन्द्रका वैज्ञानिकलाई प्रशिक्षण दिने र नेपालका वैज्ञानिकलाई भारतको बिश्वविद्यालय तथा कृषि अनुसन्धान केन्द्रमा पठाउने बिषयमा कार्ययोजना अघि बढाउने बिषयमा सहमति भएको छ ।

यसअघि यो कार्यदलको छैठौं बैठक नयाँ दिल्लीमा भएको थियो । कार्यदलको बैठकमा नेपाल–भारत सीमा जनकपुरको भिट्टामोड र धनगढीको गौरिफन्टामा क्यारेन्टाइन पोस्ट स्थापना गर्ने काम तिव्र गतिमा बढाइएको र नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग तथा भारतको खाद्य स्वच्छता मानक प्राधिकरणबीच प्रयोगशाला परीक्षण नतिजाको आपसी मान्यता दिने बिषयमा तयार पारिएको मस्यौदालाई अन्तिम रुप दिन लागिएको बिषय उठान गरिएको थियो ।

यसैगरी खोरेत रोगको खोप र बीउ भाइरसका बिषयमा प्राविधिक सहयोगका लागी इमरजेन्सी सेन्टर फर ट्रान्सवाउन्डरी डीजीजलाई थप प्रभावकारी बनाउने सहमति भएको छ । त्यसैगरी प्राँगारिक कृषि प्रवद्र्धनतर्फ भारतले नेपालका कृषि प्राविधिक तथा व्यवसायीको दुई समूहलाई प्राँगारिक खेती सम्बन्धी प्रशिक्षण कार्यक्रम उपलब्ध गराउने बिषयमा पनि द्विपक्षीय सहमति भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :