स्मार्ट कृषि गाउँको खोजी

यो समाचार 212 पटक पढिएको

दाङ । दाङका ६ वटा गाउँलाई समेटेर ‘स्मार्ट कृषि गाउँ’ निर्माण गरिने भएको छ ।

स्मार्ट कृषि गाउँ निर्माणको प्रक्रियासमेत सुरु भएको छ । कृषि व्यवसायका माध्यमबाट कृषकको आयस्तरवृद्धि गर्ने उद्देश्यले प्रदेश सरकार भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको ‘एक सांसद एक स्मार्ट कृषि गाउँ’ कार्यक्रमअन्तर्गत जिल्लाका ६ वटा गाउँलाई समेटर स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो ।

त्यसका लागि चालू आर्थिक वर्षको बजेटमा प्रदेश सरकाले बजेटसमेत विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा गाउँ छनोट गरेर कार्यक्रम लागू गरिने छ ।

प्रदेश सरकारको यो कार्यक्रमअन्तर्गत प्रदेश सांसदहरू स्मार्ट कृषि गाउँको खोजीमा लागेको कृषि ज्ञान केन्द्र घोराहीले जनाएको छ । दाङबाट प्रत्यक्ष निर्वाचित ६ जना प्रदेश सांसदले आफ्नो निर्वाचन क्षेत्रमा एउटा स्मार्ट कृषि गाउँका लागि ५० लाख रूपैयाँ खर्च गर्न पाउने व्यवस्थाअनुसार स्मार्ट कृषि गाउँको अवधारण आएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्ण बस्नेतले बताए । सोहीअनुसार सांसदहरू स्मार्ट कृषि गाउँको खोजीमा लागेको उनले जानकारी दिए ।

“कृषि व्यवसायको प्रवद्र्धन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने कार्यक्रमको मुख्य लक्ष्य हो,” उनले भने, “कार्यक्रमका लागि अहिले सासदहरू गाउँको छनोट गर्दै हुनुहुन्छ ।” उनका अनुसार केही सांसदले गाउँ छनोट गरेर सिफारिससमेत गरिसकेका छन् । केही सांसद भने गाउँ छनोटको तयारीमा छन् । कार्यक्रमको विस्तृत कार्ययोजना भने अझै नआएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख बस्नेतले कार्ययोजना नआउँदा स्मार्ट कृषि गाउँमा कति कृषकलाई सहभागी गराउने, किसानलाई के–के सुविधा दिने भन्ने बारे अहिले नै भन्न नसकिने बताए । स्मार्ट कृषिगाउँमा कृषि उत्पादन बढाउन प्रविधिको प्रयोग, उत्पादित सामग्रीको बजारीकरण, सिँचाइ, बीउबिजनलगायतमा सरकारले सहयोग गर्ने छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :