कृषिमा गरिएको लगानी खेर नजाओस् : राजदूत बेनी

यो समाचार 95 पटक पढिएको

बिर्तामोड । नेपालका लागि इजरायली राजदूत बेनी ओमारले मुलुकको दीर्घकालीन विकासका लागि ‘सहकारी मोडल’ उत्कृष्ट भएको बताएका छन् ।

पूर्वी नेपाल आएका राजदूत ओमारले नेपालमा कृषिमा आधुनिकीकरण र लगानीबाटै समृद्धि हासिल हुने बताए । उनी साना किसान कृषि सहकारी संस्थाले कृषि क्षेत्रमा गरेका क्रियाकलाप बुझ्न पूर्व आएका हुन् ।

राजदूत बेनीले आफ्नो देशको उदाहरण दिँदै इजरायलले सहकारीमार्फत कृषि क्षेत्रमा गरेको लगानीबाट उत्कृष्ट प्रतिफल प्राप्त गरेको दाबी गरे । नेपाल पनि सहकारी मोडललाई कृषिमा प्रतिफलमुखी तुल्याउने गरी अघि बढ्न सक्नुपर्ने उनको सुझाव छ । राजदूत ओमारले किसानले आफ्नो लगानीमा चिया उद्योग स्थापना गरी सञ्चालन गरेकोमा प्रशंसा गरे ।

“एक्लैले थोरै र सानो इकाईमा मात्र काम गर्न सकिन्छ,” उनले भने, “समूहले धेरै र ठूलो इकाईमा काम गर्न सक्छ, यसको उदाहरण झापा पृथ्वीनगरकोे चिया उद्योग हो, यसलाई सफल बनाउने जिम्मेवारी तपाईं किसानकै हातमा छ ।”

नेपाल सरकार र संस्थामा आबद्ध सदस्य साना किसानको आधा–आधा लगानीबाट लगभग ६ करोडको लागतमा स्थापित चिया प्रशोधन कारखाना प्रगतिउन्मुख रहेको संस्थाका अध्यक्ष देवी कोइरालाले जानकारी दिए । राजदूत ओमारले कृषिमा युवाको सहभागितामा जोड दिए । उनले संस्थामा महिला सदस्यको उल्लेख्य उपस्थितिको पनि प्रशंसा गरे । “यति धेरै महिला हुनुहुँदो रहेछ,” उनले भने, “यो महिला सशक्तीकरणको पनि उदाहरणीय दृष्य हो ।”

राजदूत ओमारले नेपालको कृषि क्षेत्रको विकासमा इजरायलले सहयोग पु¥याउँदै आएको उल्लेख गरे । इजरायलले प्रत्येक वर्ष विभिन्न साना किसान कृषि सहकारी संस्थाको सिफारिसमा पाँचसय युवालाई इजरायलमा कृषिसम्बन्धी प्राविधिक विषयमा प्रशिक्षण दिने गरेको छ । “यसरी इजरायल पुगेर फर्किएका युवाले स्वदेशमा कृषिकर्म गरिरहेका छन् कि छैनन् रु कृषिकर्मबाट उनीहरूको परिवारको जीवनस्तरमा सुधार आएको छ कि छैन रु समीक्षा गर्नुपर्ने हुन्छ”, उनले भने, “संस्थाहरूले समीक्षा गर्नुस्, लगानी खेर नजाओस् ।”

राजदूत ओमारको टोलीमा अर्थ मन्त्रालयका सल्लाहकार सहसचिव डा. रामशरण खरेल, साना किसान बैंकका अध्यक्ष खेम पाठक, बैंकका कार्यकारी अधिकृत शिवरामप्रसाद कोइराला, नायव कार्यकारी अधिकृत झलेन्द्र भट्टराईलगायत थिए । टोलीले इलाम, पाँचथर, झापाका साना किसान सहकारीको अवलोकन गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :