२ सय १३ टन कपास गोदाममै थन्क्याइयो

यो समाचार 250 पटक पढिएको

बाँके । बाँकेको खजुरास्थित केन्द्रीय कार्यालय रहेको कपास विकास समिति संकटमा परेको छ । चार वर्षदेखि उत्पादित कपास बिक्री नहुनुका साथै कपास प्रशोधनका लागि प्रयोग हुने अत्याधुनिक मेसिन प्रयोगविहीन हुँदा समिति नै संकटमा परेको हो ।

समितिका अनुसार २०७१ सालदेखि बाँके, बर्दिया र दाङमा उत्पादन गरी प्रशोधन गरिएको २ सय १३ मेट्रिक टन कपास बिक्री नभएर गोदाममा स्टक रहेको छ । यसअघि बुटवल धागो उद्योग र हेटौंडा कपडा उद्योगमा प्रयोग गरिँदै आएको कपास ती दुवै उद्योग सरकारले बन्द गरेपछि बिक्री हुन नसकेको हो ।

२०३७ सालमा स्थापना भएको समिति दश बिगाहा क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एसियाली विकास बैंकको सहयोगमा बनेको ८ वटा आधुनिक गोदाम र ५ वटा प्रशोधन गर्ने केन्द्र छन् । कच्चा पदार्थको अभावमा प्रशोधन गर्ने मेसिन प्रयोगविहीन बनेको छ भने गोदाममा बिक्री हुन नसकेको कपास थन्क्याइएको छ ।

कपास बिक्री नहुँदा सरकारको करोडौंको लगानी खेर गएको समितिले जनाएको छ । दुई ठूला धागो तथा कपडा उद्योग बन्द हुनुका साथै बजारमा भारतवाट आउने गुणस्तरहीन कपासका कारण समितिको कपास बिक्री हुन नसकेको कपास विकास समिति खजुराका निमित्त प्रमुख विजयकुमार जोशीले बताए । “करिव पाँच करोडको कपास चार वर्षदेखि गोदाममा स्टक छ,” उनले भने, “सरकारको करोडौं लगानी खेर गएको छ ।”

सरकारले कपास खेतीका लागि बीउ, विषादी र स्प्रे ट्यांकीलगायतमा ५० प्रतिशत अनुदान दिँदै आएको छ । निमित्त प्रमुख जोशीका अनुसार विगतका वर्षमा बार्षिक करिव अढाई करोड अनुदान आउने गरेकोमा चालू आर्थिक बर्षमा सो रकम घटाएर १ करोड ९९ लाख आएको छ ।

बाँके, बर्दिया र दाङमा गरी समितिको नाममा २१ विगाह जग्गा छ । त्यसैगरी बर्दियाको कुम्भर क्षेत्रमा ५ सय ५० हेक्टर कपास खेती गरिँदै आएको जग्गा अतिक्रमणको चपेटामा परेको छ । सो जमिन २०५८ सालदेखि सुकुम्वासी, मुक्त कमैया र सेयर किसानले अतिक्रमण गरेको कपास विकास समितिले जनाएको छ ।

त्यस्तै ताराताल र जमुनीमा रहेको समितिको जग्गामा सशस्त्र प्रहरी सीमा सुरक्षा बल बस्दै आएको छ । जोशीले सशस्त्र प्रहरी जग्गा खाली गर्न तयार रहेको बताए ।

अतिक्रमित जग्गा खाली गराउनका लागि पटक–पटक प्रयास गरे पनि समिति सफल हुन सकेको छैन । सो जग्गा खाली गराएर दीर्घकालिन योजनाका साथ कपास खेती विस्तार गर्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

अत्याधुनिक मेसिन प्रयोग विहिन
कपास प्रशोधनका लागि आवश्यक पर्ने कच्चा पदार्थ अभावमा समितिका चार वटा अत्याधुनिक मेसिनको सदुपयोग हुन सकेको छैन । २०५८ सालदेखि कपास उत्पादनमा कमी आएका कारण मेसिनको प्रयोग क्रमशः घट्दै गएको निमित्त प्रमुख जोशीको भनाइ छ । २०४४ सालमा करोडौंको लगानीमा खरिद गरिएका प्रतिघण्टा आठ क्विन्टल कपास प्रशोधन गर्ने क्षमताका अत्याधुनिक जिनिङ मेसिन प्रयोगमा आउन नसकेपछि जीर्ण अवस्थामा छन् ।

त्यस्तै समितिको केन्द्रीय कार्यालय खजुरामा रहेका ८ वटा गोदाम मध्य तीनवटा गोदाम मासिक पौने ३ लाख रुपैयाँमा भाडामा दिइएको समितिले जनाएको छ । बर्दियाको जमुनी र तारातालमा रहेका गोदाममा भने सशस्त्र प्रहरी सिमा सुरक्षा बल बस्दै आएको छ ।

निमित्तकै भरमा सञ्चालन
१५ जना स्थायी कर्मचारीको दरबन्दी भएको समिति २०७३ असोजदेखि निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । दरबन्दीका १५ मध्य १० जना कर्मचारी कार्यरत समितिमा १३ जना ज्यालादारी र १ जना करारमा कार्यरत छन । निमित्तको भरमा कार्यालय सञ्चालन गर्नुपर्दा कतिपय महत्वपूर्ण निर्णयमा समस्या भएको निमित्त प्रमुख जोशीको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :