कृषि क्याम्पस सञ्चालन गर्न जग्गा दान

यो समाचार 1276 पटक पढिएको

सिन्धुली । कृषि क्याम्पस सञ्चालनका लागि सिन्धुलीमा स्थानीयले नौ कठ्ठा जग्गा विद्यालयलाई प्रदान गरेको छ । कमलामाई नगरपालिकास्थित वरुणदेवी उच्च माध्यमिक विद्यालयलाई स्थानीयवासीले कृषि क्याम्पस सञ्चालका लागि जग्गा दान गरेका हुन् ।

कनपा–२ खट्टारका देवानन्द श्रेष्ठले दुई कट्ठा १४ धुर, विष्णुमाया श्रेष्ठले दुई कट्ठा, दलबहादुर श्रेष्ठ दुई कट्ठा, लीलाकुमारी श्रेष्ठ तथा तुलसामैया श्रेष्ठले एक कट्ठा र ईश्वरीलाल श्रेष्ठले एक कट्ठा जग्गा गरी कुल नौ कट्ठा १४ धुर जग्गा कमलामाई नगरपालिकास्थित वरुणदेवी उच्च माध्यमिक विद्यालयलाई उपलब्ध गराएको हो ।

कृषि क्याम्पस सञ्चालन गर्ने भन्दै २०६८ साल चैतमा सिन्धुलीको खुल्ला मञ्चमा ज्ञान महायज्ञको आयोजनासमेत गरिएको थियो । सो ज्ञान महायज्ञमा धेरै व्यक्तिले विद्यालयलाई जग्गा दिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धतअनुसार विद्यालयलाई जग्गा उपलब्ध गराएको हो ।कनपा–२ का विष्णुमाया श्रेष्ठले आफूले महायज्ञमा कृषि क्याम्पस सञ्चालन गर्न रु ५१ हजार नगद दिएको र दुई कट्ठा जग्गा दिने वचन दिएकाले विद्यालयको नाममा सो जग्गा पास गरिदिएको बताए ।

त्यस क्षेत्रमा प्रतिकट्ठा रु आठदेखि १० लाखसम्ममा जग्गा खरिदबिक्री हुने गरेको बताइएको छ ।अहिले यस विद्यालयमा पशु विज्ञान तीन वर्षे डिप्लोमा कक्षा सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक रामकाजी श्रेष्ठले बताए ।महायज्ञमा धेरै व्यक्तिले जग्गा दान गर्ने प्रतिबद्धता व्यक्ति गरे पनि अहिलेसम्म पाँचजनाले मात्र विद्यालयको नाममा जग्गा पास गरिदिएको प्रधानाध्यापक श्रेष्ठले बताए ।