हिमाल आरोहणबाट ४५ करोड ५८ लाख राजस्व

यो समाचार 188 पटक पढिएको

काठमाडौं । सगरमाथालगायत अन्य हिमाल आरोहणबाट मात्र यस वर्ष ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, धौलागिरीलगायत विभिन्न २९ वटा हिमाल आरोहणका लागि उठाइएको रोयल्टी ९आरोहण अनुमतिपत्र शुल्क० र फोहोर सफाइ शुल्क गरी संकलित कुल राजस्व रकम भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनिमय दरअनुसार ३९ लाख ६१ हजार ५० अमेरिकी डलरको प्रतिडलर १०८ रुपैयाँका दरले हिमाल आरोहणबाट कुल ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको हो । विभागले अहिलेसम्म सरकारले आरोहणका लागि खुला गरेका ६ हजार ५ सय मिटरभन्दा धेरै उचाइ भएका सगरमाथासहित विभिन्न हिमालबाट राजस्व संकलन गर्दै आएको छ ।

यसबाहेक ६ हजार ५ सय मिटरभन्दा कम उचाइ भएका ३३ वटा विभिन्न हिमालको आरोहण शुल्क उठाउने र त्यसको उचित व्यवस्थापन एवं प्रवद्र्धन गर्ने जिम्मा नेपाल पर्वतारोहण संघ ९एनएमए० लाई प्रदान गरिएको छ । यससँगै सगरमाथालगायत विभिन्न हिमाल आरोहणमा जाने विदेशी आरोहीले सम्बन्धित हिमालको स्थानीय निकायलाई बुझाउनुपर्ने शुल्क यसमा समावेश भएको छैन ।

अहिलेसम्म मुलुकभर आरोहण खुला भएका सम्पूर्ण हिमाल व्यवस्थापन र नियमन गर्दै आएको पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा आरोहणका लागि स्वदेशी स्वदेशी र विदेशी आरोहीहरूले बुझाएको आरोहण रोयल्टी र हिमाल सफाइ शुल्कबाट कुल ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।

विभागका महानिर्देशक दिनेश भट्टराईले सगरमाथालगायत विभिन्न हिमाल आरोहणबाट विभागले उठाएको यो सबै रकम सिधै सरकारी राजस्व ढुकुटीमा नै जम्मा हुने बताए । उनले यस विभागले हिमालमा केही नयाँ कार्यक्रम गर्नुपरेको खण्डमा पनि अर्थ मन्त्रालयबाट छुट्टै रकम निकासा गरी खर्च गर्नुपर्ने व्यवस्था रहेको जानकारी गराए । उनले यसवर्ष सगरमाथासहित विभिन्न २९ वटा हिमाल आरोहणका लागि कुल १०५ वटा आरोहण दलका ८३९ जनाले विभागबाट राजस्व रकम बुझाएर आरोहण अनुमति लिएको बताए ।

पर्यटन विभागले यस वर्ष २० जना स्वदेशी र ३२६ जना विदेशी गरी कुल ३४६ जना आरोहीले सगरमाथा अरोहणकालागि अनुमति लिएको जनाएको छ । विभागका प्रवक्ता रामप्रसाद सापकोटाले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न अनुमति लिएका स्वदेशी आरोहीको संख्या अहिलेसम्मकै उच्च रहेको बताए ।

गत वर्षको तुलनमा यस वर्ष स्वदेशी एवं विदेशी आरोहीहरूकोे संख्या भने केही घटेको छ । गत वर्षको यही मौसममा कुल ३७७ जना आरोहीले अनुमति लिएका थिए ।

विभागबाट आरोहण अनुमति लिनेमध्ये यस वर्ष भारत, चीन, अमेरिका, बेलायत, थाइल्यान्ड, म्यानमार, नर्वे, रसिया, पोल्यान्ड, स्विट्जरल्यान्ड, अस्ट्रेलियालगायत मुलुकका आरोही बढी छन् । अहिलेको वसन्त ऋतुमा आरोहणको तयारीमा रहेका आरोहीहरूमध्ये सबैभन्दा धेरै सगरमाथामा ३८, ल्होत्सेमा १०, कञ्चनजंगामा ५, आमादब्लममा ६ वटा आरोहण दल रहेका छन् भने अन्य हिमालमा एक देखि तीन–चार दल मात्रै रहेको विभागले जनाएको छ ।

यस मौसममा सगरमाथा आरोहण गर्ने विदेशी आरोहीले प्रतिव्यक्ति ११ हजार डलर र नेपालीले प्रतिव्यक्ति ७५ हजार रुपैयाँ आरोहण दस्तुर शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ । एउटा आरोहण दलमा बढीमा १५ जनाभन्दा हुनुहुँदैन । यदि, एउटै ट्रेकिङ कम्पनीबाट धेरै आरोहीलाई आरोण अनुमति दिलाउनुप¥यो भने सो कम्पनीले बढीमा १५÷१५ जनाको छुट्टाछुट्टै आरोहण दल बनाएर पठाउनुपर्ने प्रावधान रहेको छ ।

यस वर्षको वसन्त ऋतुमा आरोहणका लागि स्वदेशी र विदेशी आरोहीले बुझाएको आरोहण रोयल्टी र हिमाल सफाइ शुल्कबाट ४५ करोड ५८ लाख राजस्व संकलन

विभागका अनुसार हिमाल आरोहण दस्तुर समयानुसार फरक रहने गर्छ । वसन्त ऋतुलगायत अन्य मौसममा पनि स्वदेशी तथा विदेशी आरोहीहरूले सोही समयको दरअनुसार आरोहण अनुमति शुल्क बुझाएर जाने गरेका छन् । अन्य हिमालको दस्तुर भने उचाइ र अवस्थितिका आधारमा घटीबढी हुनेछ । यसैगरी, नेपाली आरोहीको दलका सदस्य समूहले दस्तुरमा केही सहुलियत पाएको विभागले जनाएको छ ।

पर्यटन विभागले विदेशी आरोहण अभियान दलमा खटिएका सम्पर्क अधिकृतलाई नै नेपाली आरोहण दलसमेत हेर्नेगरी खटाउने काम गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए । यस मौसमका लागि ५० जनाभन्दा बढी कर्मचारी सम्पर्क अधिकृतका रूपमा आरोहीका साथ सगरमाथालगायत विभिन्न हिमाल आरोहण व्यवस्थापनमा खटिएको विभागले जनाएको छ । यसरी फिल्डमा खटिने सम्पर्क अधिकृतहरूले गरेको अनुगमनकै आधारमा आरोहीले सगरमाथासहित विभिन्न हिमाल आरोहणको दाबीलाई सरकारले मान्यता दिँदै आएको छ ।

सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि यो मौसम वर्षकै अनुकूल र उपयुक्त मानिन्छ । यस मौसममा सन् २०१६ मा कुल ९८ दलका ७४० जनाले आरोहण अनुमति लिएका थिए ।

यसैगरी, सन् २०१७ मा १०८ दलका ८३४ जना आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका थिए । जसमध्ये सन् २०१६ मा ३८ दलका ३१८ जनाले र सन् २०१७ मा ४४ दलका ३६६ आरोहीले सगरमाथा आरोहण गरेको विभागले जानकारी दिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :