अन्तर्राष्ट्रिय ताल सम्मेलन सम्पन्न, १२ बुँदे घोषणा पत्र जारी

यो समाचार 312 पटक पढिएको

काठमाडौं । अन्तर्राष्ट्रिय ताल सम्मेलन पोखरामा सम्पन्न भएको छ । बिहिबारदेखि सुरु भएको उक्त सम्मेलनले १२ बुँदे पोखरा घोषणापत्र सार्वजनिक गर्दै शनिबार सम्पन्न भएको छ ।

उक्त सम्मेलन राष्ट्रिय ताल संरक्षण समिति, संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्रालयले संयुक्त रुपमा आयोजना गरिएको थियो । अमेरिकी सहयोग नियोगको जलिय प्राकृतिक श्रोत सुधार कार्यक्रम(पानी कार्यक्रम), विश्व वन्यजन्तु कोषको हरियो बन कार्यक्रम, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, रुपा ताल पूर्नस्थापना तथा मत्स्य सहकारी संस्था, ईसीमोड, नेपाल माउन्टेनियरिंग संघ, यूनाइटेड मिसन टु नेपालले सहकार्य गरेको थियो ।

सम्मेलनमा बंगलादेश, भारत, जापान, म्यानमार, श्रीलंकाका दुई सय ३७ जना बिज्ञहरुले सहभागिता जनाएका थिए । सम्मेलनले तालतलैया स्रोतको व्यवस्थापन एक समग्र पद्धतिमा आधारित भएर गरिनुपर्छ । जसले स्थानीय पारिस्थितीक प्रणालीको मर्मलाई खलल नपुग्ने गरी समुदायलाई दिगो जिविकोपार्जनका अवसरहरु उपलब्ध गराउन अभिप्रेरित गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

जलवायु परिवर्तन तथा प्राकृतिक विपद् न्युनिकरणका लाग तालतलैयाहरु विश्वव्यापी रुपमा अपरिहार्य रहेको, स्थानीय समुदायले दिगो जिविकोपार्जनका लागि मिचाहा प्रजातिहरु जलकुम्भिलाई स्रोतको रुपमा उपयोग गर्न अभिप्रेरित गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ । तालवेशी व्यवस्थापन तथा संरक्षणका लागि तालको सांस्कृतिक तथा स्थानीय वातावरणीय महत्वलाई एकीकृत व्यवस्थापन गरिनुपर्दछ । स्थानीय ज्ञान तथा सिपको मूल्यांकन गरी राष्ट्रिय नीति निर्माणमा समाहित गरिनुपर्ने, ताल तथा यसका श्रोतको दिगो व्यवस्थापन तथा उपयोगका लाग अन्तर्राष्ट्रिय तल वातावरण समितिको सहकार्यमा एकीकृत ताल वेशी व्यवस्थापनलाई कार्यान्वयन गर्नुपर्ने, ताल तथा यसका श्रोतको समूचित उपयोग गर्दै प्रत्येक प्रदेशमा नमूना ताल विकाश आयोजनाहरु सञ्चालन गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ ।

राष्ट्रिय रुपमै सहकार्य पद्धतिलाई सुदृढिकरण गर्न सरकारी, गैर सरकारी तथा समूदायमा आधारित संस्थाको सबलता तथा क्षमतालाई एकीकृत गर्दै ताल तथा यसको श्रोतको व्यवस्थापन सुधार गर्नुपर्ने, तल तलैयाको जोखिम मापन तथा विस्तृत अभिलेखीकरणमा आधारित भएर सबै पारिस्थितिक क्षेत्रमा ताल बिशेष परियोजना लागु गर्नुपर्ने, राष्ट्रिय ताल संरक्षण विकास समितिले तयार पारेको ताल विकास रणनीतिक योजनाको कार्यान्वयन गर्नुपर्ने र एकीकृत तालवेशी व्यवस्थापनमा आधारित रहेर दक्षिण एशियाली तदर्थ समिति गठन गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :