भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रधानमन्त्रीको आव्हान

यो समाचार 237 पटक पढिएको

काठमाडौं, ३ माघ । २० औँ भूकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाइएको छ । आज काठमाडौंको बसन्तपुरमा आयोजना गरिएको २० औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेपालका सरकारका मन्त्रीहरु, विशिष्ट श्रेणीका व्यक्तिहरुको उपस्थितिमा विविध कार्यक्रम गरी दिवस मनाइएको छ ।

बसन्तपुरमा मूल समारोह अघि विहान ११ बजे विगतका भूकम्पमा परी मृत्यु भएका मानिसहरुको सम्झनामा स्मृति सभा आयोजना गरिएको थियो । स्मृति सभा लगत्तै भूकम्प सुरक्षा अभिवृद्धिका लागि जनचेतनामुलक भूकम्प सुरक्षा र्यालीको आयोजना गरिएको थियो । र्यालीलाई भूकम्प अति प्रभावित काठमाडौंका मुख्य भित्री सहरहरुमा परिक्रमा गराइएको थियो ।

मूल समारोह कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सरकार मातहतका निकाय एवं सबै स्थानीय निकायलाई भूकम्प प्रतिरोधी घर संरचना निर्माणको लागि भूमिका खेल्न आव्हान गरेका छन् । बिभिन्न कालखण्डमा गएका भूकम्पहरुमा कमजोर घर संरचनाले थिचेर अधिकांश मानिसहरुको मृत्यु भएकाले घर तथा अन्य संरचना निर्माण गर्दा भवन संहिताको पालना गर्नु पर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री देउवाले भूकम्पीय २०७२ सालको विनासकारी भूकम्पबाट पनि ठूलो क्षति भएको भन्दै विपद्बाट आफु र आफ्नो घर समुदायलाई जोगाउन नियमबमोजिम घर संरचना निर्माण गर्नपर्ने बताए ।

२० औँ भूकम्प सुरक्षा दिवस मूल समारोहका अध्यक्ष तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले नेपाल भूकम्पीय जोखिममा रहेको भन्दै जोखिम न्यूनीकरणका लागि सबैले सहकार्य गर्नु पर्ने बताए । उनले अव बन्ने भवन संरचनाहरुमा भूकम्पीय जोखिमलाई ख्याल गर्नु पर्नेमा जोड दिनु दिए ।

नेपालको भूकम्प लगायत जोखिमलाई ख्याल गर्दै विभिन्न प्रकारका नीतिगत सुधारहरु गरेको बताउँदै उहाँले हालैमात्र जारी गरिएको विपद् न्यूनीकरण तथा व्यवस्थापन ऐनमा केन्द्रीय, प्रदेश तथा स्थानीय तीन वटै सरकारले गनुपर्ने काम कर्तव्य र अधिकार स्पष्ट उल्लेख गरिएको जानकारी दिए ।

सोही कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले गोरखा भूकम्पपछि चलिरहेको पुनर्निर्माणको कार्यलाई प्रभावकारी बनाउन केन्द्र, जिल्ला र स्थानीय स्तरमा प्रभावकारी समन्वयको खाँचो औँल्याए । १९९० र २०७२ सालको भूकम्पमा जनधनको व्यापक क्षति भएकाले भविष्यमा आउन सक्ने यस्ता भुकम्पबाट जोगिन र क्षतिलाई घटाउन भूकम्पीय पूर्व तयारी, प्रतिकार्य, राहत तथा उद्धारका लागि अझ धेरै तयारी गर्नुपर्ने उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मजवुत घर संरचना निर्माणका सम्बन्धमा नीतिको खाँचो नभएको तर कार्यान्वयनमा देखिएको फितलोपना हटाउन काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

काठमाडौं महानगरपालिकालाई भूकम्पीय दृष्टिकोणले सुरक्षित बनाउने प्रयास सुरु गरिसकिएको भन्दै उहाँले आगामी दिनमा नीजि घर तथा सार्वजनिक भवनहरुमा नक्सा पास प्रणालीलाई कडाईपूर्वक लागु गराउने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले भौगोलिक अवस्थाका कारण नेपाल बहुप्रकोपीय जोखिममा रहेको र कमजोर घरसंरचना मानवीय क्षतिको मूल कारक भएको भन्दै भवन आचार संहितालाई व्यापक रुपमा कार्यन्वयन गर्नुपर्नेमा जोड दिए ।

भूकम्प सुरक्षा दिवसको सदस्य सचिव समेत रहेको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक डा। आमोदमणि दीक्षितले भूकम्पीय जोखिम न्यूनीकरणको लागि धेरै प्रयत्नहरु भएको तर गर्नुपर्ने धेरै बाँकी रहेको जानकारी दिए । उनले केन्द्रीय तहबाट मात्रै नभई स्थानीय समुदाय तथा स्थानीय सरकारलाई सबल बनाउन सके मात्र भूकम्पीय जोखिम न्यूनीकरण हुने बताए ।

यस बर्ष ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ २० औं भूकम्पीय सुरक्षा दिवस साताव्यापी रुपमा मनाइदै छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :