यस्तो छ, बर्दियामा बाघको अवस्था

यो समाचार 318 पटक पढिएको

बर्दिया । वितेको शनिबार अन्तर्राष्ट्रिय बाघ दिवस सम्पन्न भएको छ । ‘स्वस्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित बाघ संरक्षणसम्बन्धी सचेतना मुलक सन्देश दिँदै विविध कार्यक्रमका साथ बर्दियासहित देशका विभिन्न भागमा बाघ दिवस मनाइएको छ ।

बाघ विश्वबाट लोप हुँदैै गएको वन्यजन्तु हो । संसारमा ९ उपप्रजातिका बाघ रहेकोमा ३ उपप्रजातिका बाघ लोप भइसकेको हुँदा अब ६ उपप्रजातिका बाघ मात्र बाँकी छन् । पाटे बाघ र चितुवा अलग अलग प्रजाति हुन् । हाम्रो देशमा पाइने बाघलाई पाटेबाघ भनिन्छ । पाटेबाघको बैज्ञानिक नाम पानथेरा टाइग्रिस हो ।

अहिले संसारमा पाटे बाघको संख्या घट्दै गएर झण्डै दुई हजारको संख्यामा सिमित हुन पुगेको छ । भारत, भुटान, बंगलादेश र नेपालमा मात्र प्राकृतिक बासस्थानमा पाटेबाघ पाइन्छ । नेपालमा अहिले पाटेबाघको संख्या १ सय ९८ मात्र छ । सन् २००९ मा नेपालमा १ सय २१ पाटे बाघ रहेका बेला सन् २०२२ भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर बनाउने नेपाल सरकारको लक्ष्य रहेको छ । चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा पर्सा वन्यजन्तु आरक्षका जंगलहरुमा मात्र प्राकृतिक बासस्थानमा पाटे बाघ पाइन्छ ।

यसअघि १८ वटा मात्र पाटेबाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१२ मा गरिएको अनुगमनबाट पाटेबाघको संख्या बढेर १५ भाले र २२ पोथी गरी ३७ वटा बयस्क पाटेबाघ रहेको थियो । लगत्तै सन् २०१३ मा गरिएको बाघ गणनाबाट बर्दिया निकुञ्जमा पाटेबाघको संख्या बढ्दै गएर १६ वटा भाले र ३४ वटा पोथी गरी ५० वटा बयस्क पाटेबाघ रहेको छ ।

त्यसैगरी बर्दिया निकुञ्जले आन्तरिक जानकारीका लागि मात्र सन् २०१५ मा गरेको बाघ अनुगमनबाट ५६ वटा बयस्क पाटेबाघ रहेको र लगत्तै सन् २०१६ मा गरेको बाघ अनुगमनबाट बर्दिया निकुञ्जमा पाटे बाघको संख्या ६२ भन्दा बढी रहेको अनुमान छ । संरक्षणमा विशेष ध्यान दिएका कारण बर्दिया राष्ट्रिय निकुञ्जसहित नेपालमा वर्षेनी बाघको संख्या बढ्दै गएको छ ।

पाटेबाघको शारीरिक बनावट, तौल – भालेको १ सय ८० देखि २ सय ८० किलोसम्म र पोथीको १ सय १५ देखि १ सय ८५ किलोसम्म हुन्छ । लम्बाई – भालेको १ दशमलव ५ देखि ३ मिटरसम्म र पोथीको शून्य दशमलव ६ देखि १ दशमलव १० मिटरसम्म हुन्छ । उचाई – शून्य दशमलव ९ देखि १ दशमलव २ मिटरसम्म हुन्छ ।

पाटे बाघको जीनवचक्र – भाले ४ देखि ५ बर्षमा र पोथी ३ देखि ४ बर्षमा प्रजनन योग्य हुन्छ । सामान्यतया गर्भाधारण समय ९५ देखि १ सय ५ दिनसम्म हुन्छ । बाघले २ देखि साढे २ वर्षको फरकमा १ देखि ४ वटासम्म बच्चा जन्माउँछ । पाटे बाघ सामान्यतया २० वर्षसम्म बाच्न सक्छ । चोरीशिकार, बासस्थान बिनास र आहाराको कमीका कारणले पाटेबाघ संसारबाट लोप हुने अवस्थामा पुगेको छ ।

कानुनी प्रावधान – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा पाटेबाघलाई नेपालको संरक्षित वन्यजन्तुमा सुचिकृत गरीएको छ । बाघ मार्न, वा कुनै पनि अंग ओसारपसार गर्न, ब्यापार गर्न र घरमा राख्न प्रतिबन्ध लगाइएको छ ।

यस्तो कार्यमा संलग्न हुने ब्यक्तिलाई ५ लाखदेखि १५ लाख रुपैयाँ जरीवाना वा ५ वर्षदेखि १५ वर्ष कैद वा दुवै सजाय हुने ब्यवस्था छ । बाघ मार्ने वा शरीरका अंगहरु राख्ने, खरिद बिक्री र ओसार पसार गर्ने मानिसका बारेमा सूचना दिने मानिसलाई ५० हजार रुपैयाँसम्म पुरस्कार दिने बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले जानकारी दिनुभयो ।

बाघको नामबाट संचालित नेपालकै एकमात्र रेडियो, टाइगर एफ एम बर्दियाले अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा बाघ संरक्षणका लागि समर्पित ‘गर्जन्छ सधैँ.. बाघ झैँ..’ संरक्षण र सचेतना सम्बन्धि बिशेष कार्यक्रम प्रसारण गर्दैछ ।

नेपालको परिवेश
विश्वमा अहिले झण्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् । नेपालमा पछिल्लो समय बाघको संख्या केही बढ्दै गएको देखिएको छ । संरक्षण अभियान, बासस्थान तथा आहाराको व्यवस्थापन लगायत कारण नेपालमा बाघको संख्या बढ्दै गएको हो ।

चार वर्षअघि सन् २०१३ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७, निकुञ्ज बाँके र आसपासका मध्यवर्ती क्षेत्रमा ४ गरी नेपालमा बाघको संख्या १ सय ९८ पुगेको थियो । त्यसअघि सन् २००९ को गणनामा बाघको संख्या १ सय २१ थियो । नेपालमा हरेक चार वर्षमा बाघ गणना यो वर्ष गर्ने तयारी रहेको वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

नेपालमा सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्‍याउने लक्ष्य अनुसार संरक्षणको काम भैरहेको सरकारले जनाएको छ । पछिल्ला वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरिनु, पर्सा वन्यजन्तु आरक्षको क्षेत्र विस्तार गरिनु, बर्दिया र शुक्लाफाँटामा बाघको बासस्थान सुधार गरिनु, आहाराको व्यवस्थापन गरिनु लगायतका कारणले संख्या बढ्दै गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ ।

तर बाघ बासस्थान कृषि भूमिमा परिणत हुनुले निकुञ्ज र आरक्ष उनीहरुका लागि साँघुरो हुँदा क्षेत्रबाहिर विचरण गर्न थालेका छन् । विश्वका १३ वटा देशमा बाघ संरक्षणका काम भैरहेका छन् । दक्षिण एसियाका नेपाल, भारत, भुटान, बंगलादेश र चीनमा बाघ पाइन्छ ।