पेरी हिमालमा पुगे पहिलो मानव

यो समाचार 374 पटक पढिएको

काठमाडौं /लाङटाङ हिमालय शृंखलामा पर्ने पेरी हिमाल (६,१७४ मिटर) मा पहिलोपटक मानवपाइला पुगेको छ ।

पर्यटन मन्त्रालयले हेर्दै आएको पेरीमा संखुवासभाका ४० वर्षीय पासाङ शेर्पा, २८ वर्षीय सन्देश शेर्पा र इटालीका २७ वर्षीय वेनर फ्रेईले मंसिर २१ गते बिहान ११ बजेर ५५ मिनेटमा पहिलोपटक पाइला टेकेका हुन् ।

रसुवामा पर्ने यो हिमाल सिसापांमा (८,०१३ मिटर) को अगाडि पर्छ । अल्टरनेटिभ नेपाल ट्रेक एन्ड एक्स्पिडिसन कम्पनीले एक विदेशीसहित दुई नेपालीलाई सकुशल सफल आरोहण गराएको आरोही एवं राष्ट्रिय गाइडसमेत रहेका आरोहण दलका प्रमुख पासाङ शेर्पाले बताए ।

आरोहण गर्न कठिन यो हिमालको चुचुरोमा पुग्न आधार शिविरदेखि तीन दिन लागेको जानकारी उनले दिए । मन्त्रालयले पेरीसहित ६ हजारदेखि आठ हजार मिटरसम्मका एक सय ८७ वटा हिमाललाई आरोहणका लागि खुला गरेको छ ।

काठमाडौंबाट धुन्चे, क्यान्जिङ हुँदै यो हिमाल आरोहण गर्न १५ दिन लाग्ने टोलीले जनायो । तीनपटक सगरमाथा, एकपटक मकालु र एकपटक ल्होत्से आरोहणको अनुभव भएका शेर्पाले कम्पास, नक्सा र निरीक्षणकै भरमा बाटो पत्ता लगाएर आरोहण सफल बनाएको बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :