विदेशबाट फर्केपछि राज्यले दिन्छ १० लाख कर्जा

यो समाचार 94 पटक पढिएको

काठमाडौं। सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई विदेशमा हासिल गरेकै सिपअनुसारको उद्यम गर्न १० लाख रुपैयाँसम्म कर्जा लिन आह्वान गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय तथा उद्यमशीलता विकास गराउने उद्देश्यसाथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म सरल कर्जा लिने सरकारी अभियानमा सहभागी हुन यस्तो आह्वान गरेको हो ।

जसका लागि अहिले बोर्डले सूचना जारी गरी स्वदेशमै स्वरोजगार हुन इच्छुक कामदारलाई आगामी पुस मसान्तभित्र तोकिएको ढाँचामा फाराम भरी निवेदनसहित बोर्डको सचिवालयमा सूचीकरण हुन आह्वान गरेको जनाएको छ । सरकारले अभियानमा सहभागी हुनेलाई जम्मा दुई प्रतिशत ब्याजमा सहुलियत कर्जा उपलब्ध गराउन लागेको हो ।

बोर्डले आगामी पुस मसान्तसम्म निवेदन पेस गर्न वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई आग्रहसमेत गरेको छ । बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को बजेटमा व्यवस्था गरेअनुसार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्न खोज्नेहरूलाई लक्षित गरी सरकारले आगामी पाँच वर्षका लागि यस्तो सहुलियत कर्जा उपलब्ध गराउन लागेको बताए ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ स्वीकृत भई कार्यान्वयनमा आएसँगै नेपाल राष्ट्र बैंकले गत ११ कात्तिकमा बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको जानकारी गराउँदै उनले सोहीअनुसार सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई यस्तो कर्जा उपलब्ध गराउन लागेको बताए ।

बोर्डका प्रवक्ता सुवेदीका अनुसार यस्तो कर्जामा सहभागी हुनेहरूले आफ्नो व्यवसाय परियोजना धितो राखेर कामदारले ऋण पाउनेछन् । कम्तीमा पनि ६ महिना विदेश बसेको र स्वदेश फर्किएको तीन वर्षभित्र आफूलाई आवश्यक सहुलियत कर्जा लिई सक्नुपर्नेछ । विदेशबाट फर्किएकाहरूले आफूले सिकेको ज्ञान र सिपका आधारमा फारम भरी निवेदन पेस गर्नु पर्नेछ ।

उनले उद्यमशीलता बढाउन, आत्मनिर्भर अर्थतन्त्र बनाउन र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजारीको आकर्षण बढाउन सरकारले बढीमा १० लाखसम्म सहुलियत कर्जा दिन लागेको बताए । यसैगरी, उनले विदेशबाट फर्किएका युवाले बुझाएको फारमका आधारमा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरी यस्तो कर्जा प्रदान गरिने जानकारी दिए ।

यसअघि राष्ट्र बैंकले सम्बन्धित वित्तीय संस्थाहरूलाई दिएको निर्देशनमा पनि सम्बिन्धत जिल्लाका बैंकले सहुलियत कर्जा दिने व्यवस्था गरिएको छ ।

अहिले सरकारले सहुलियतपूर्ण कर्जा, ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५ जारी गरेको छ । सोही कार्यविधिअनुसार वैदेशिक रोजगारीबाट फर्किएका कामदारले जम्मा २ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा पाउने बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका कामदारले २ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा पाउनेछन् भने त्यस्तो कर्जा लिने युवाले पा“च वर्षमा आफूले लिएको सहुलियत कर्जा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ

यस्तो कर्जा लिने युवाले पाँच वर्षमा आफूले लिएको सहुलियत कर्जा सबै भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ । यसैगरी, सरकारले वैदेशिक रोजगारीबाट फर्किएका र अन्य शिक्षित सिपयुक्त युवालाई ब्याजमा अनुदान दिने समेत योजना अघि सारेको छ । सरकारको यस नयाँ अभियानमा सहभागी हुन आवेदन फारम बोर्डको वेभसाइट ‘डब्लूडब्लूडब्लू डट एफईपीबी डट जीओभी डट एनपी’ बाट डाउनलोड गरेर बोर्डको सचिवालयमा पठाउनु पर्नेछ । यसैगरी, बोर्डको आधिकारिक इमेलमार्फत पनि निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई विदेशमा हासिल गरेकै सिपअनुसारको उद्यम गर्न १० लाख रुपैयाँ कर्जा दिने अभियान सुरु गरेको हो । सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को बजेटमा व्यवस्था गरेअनुसार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्न खोज्नेहरूलाई लक्षित गरी अहिले यस्तो नयाँ कर्जा दिने कार्य सुरु गरेको हो । यसअघि राष्ट्र बैंकले विदेशबाट फर्किएर व्यवसाय कर्जा लिन चाहनेहरूलाई पायक पर्ने बैंकका शाखाबाट सेवा लिन आग्रह गरेको छ भने सेवा उपलब्ध गराउन पनि विभिन्न बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकेको छ ।

विदेशमा सिकेको सिपअनुसारको व्यवसाय वा उद्यम गर्न सरकारले चालू आर्थिक वर्षको बजेटमा १० लाख रुपैयाँ दिने योजना समावेश गरेको थियो । सो कर्जाका लागि नेपाल राष्ट्र बैंकले आफ्नो नजिकैको शाखाबाट सुविधा लिन सेवाग्राहीलाई आग्रह गरेको छ । यस कार्यविधिअनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफूले सिकेको सिपसँग सम्बन्धित व्यवसाय वा उद्यम गर्न परियोजना धितो राखेर कर्जा लिन सक्नेछन् ।

कर्जा लिन राहदानी, भिसाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको रोजगारदाता मुलुकबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि, आफूले ६ महिना कुनै देशमा सम्बन्धित तालिम, पेसा व्यवसाय, क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोवास स्वीकृति नभएको स्वःघोषणा गर्नुपर्ने भनिएको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्बन्धित तालिम, पेसा, व्यवसाय वा क्षेत्रमा काम गरी स्वदेश फर्केका व्यक्तिले मात्र यस्तो कर्जा पाउने व्यवस्था सो कार्यविधिले गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :