ओली सरकार यसरी ल्याउदैं छ पानीजहाज

यो समाचार 336 पटक पढिएको

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो साता सम्पन्न चीन भ्रमणका क्रममा रेलमार्ग निर्माणमा सहकार्य गर्ने सम्झौता भयो भने त्यसअघि भएको भारत भ्रमणका क्रममा बीरगञ्ज-काठमाडौँ जोड्ने रेलमार्ग निर्माणमा सहयोग गर्ने बचन भारतले दियो।

काठमाडौैँसम्म आ-आफ्ना रेलवे लाइन ल्याउन बेइजिङ र नयाँदिल्लीबीच एक किसिमको प्रतिस्पर्धा नै देखिन्छ। र, यो प्रतिस्पर्धाले ओली सरकारको अर्को रोचक प्राथमिकतामा रहेको आफ्नै पानीजहाज चलाउने विषयलाई ओझेलमा पारेको छ।

तर, मन्त्री परिषद स्रोतका भनाईमा, सरकारले प्राथमिकतामा राखेको आफ्नै पानीजहाज चलाउने योजनाले यसै बर्ष मूर्तरुप पाउने सम्भावना छ। नेपाल आफैँले साना आकारका पानीजहाज खरिद गर्ने र तिनलाई कोशी र गण्डकीमा चलाउने सरकारको योजना छ।

‘कोशीको साढे ३ देखि पाँच मिटरसम्म र गण्डकीको गहिराई कम्तिमा साढे ४ मिटर गहिराई देखिएको छ, त्यसैले यी दुई नदीमा पानी जहाज चलाउन सकिने प्रारम्भिक निचोड छ’ प्रधानमन्त्री ओली निकट एक मन्त्रीले भने, ‘त्यसै आधारमा पानी जहाज चलाउने योजना बनाइँदैछ।’

कोशी र गण्डकीको पानीको अहिलेको गहिराईका आधारमा २०–३० वटा ट्रकले बोक्ने बराबरको सामान बोक्न सक्ने पानीजहाज चल्न सक्ने उनले बताए। उनले थपे, ‘त्यसैले, सुरुमा साना आकारका १०-१२ वटा पानी जहाज ल्याइनेछन् र त्यसपछि ठूला पानीजहाज ल्याउने योजना छ।’

स्रोतका भनाईमा, ओली कम्तिमा ८०-९० वटा ठूला ट्रकमा अट्ने सामान बोक्न सक्ने पानी जहाज ल्याउने पक्षमा छन्। त्यसका लागि चाहिँ दुबै नदीको पानीको गहिराई बढाउनुपर्ने हुन्छ। गहिराई बढाउन बाँध बाध्नुपर्ने हुन्छ। तर, बाँधले पानीजहाजको मार्गमा अबरोध सिर्जना गर्नेछ।

त्यसैले, तत्कालका लागि साना आकारका पानीजहाज ल्याउने योजनामा प्रधानमन्त्री ओली छन्। ‘तर, उहाँको योजना ठूला आकारका पानीजहाज नै ल्याउने हो’ स्रोतले भन्यो, यो योजना कार्यान्वयनका लागि चाहिँ केही समय लाग्ने देखिएको छ।’

ओली सरकारले यसअघि नै जलमार्गको सम्भाव्यता अध्ययनका लागि समिति बनाइसकेको छ। १७ जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्वासेको संयोजकत्वमा समिति गठनको निर्णय १७ जेठको मन्त्री परिषद बैठकले गरेको थियो। समितिमा विभिन्न मन्त्रालयका प्रतिनिधि रहेका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :