ओली सरकारको प्राथमिकता दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर

यो समाचार 576 पटक पढिएको

काठमाडौं, ६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धनको सरकारका लागि दुई पार्टीका नेता सम्मिलित कार्यदलले कामका प्राथमिकताहरु निर्धारण गरेको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका प्राथमिकतासहितको प्रतिवेदन बुझाएको हो ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दुई अध्यक्षसहित बसेको कार्यदलको बैठकले दुई पार्टीको संयुक्त चुनावी घोषणा पत्र र संविधानको भावना अनुसार आफ्ना कामका प्राथमिकता तय गरेको छ ।

दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर
गौतम नेतृत्वको कार्यदलले ठुला योजना निर्माणसँगै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गरिबी हटाउनेतर्फ सरकारको प्राथमिकता हुनुपर्ने पनि सुझाव दिएको छ । वाम गठबन्धनको चुनावी घोषणापत्रमा उल्लेख भए अनुसार ओली नेतृत्वको सरकारले कम्तिमा दुई वर्षमा नेपाललाई खाद्यान्नमा आत्मनिर्भर तथा तीन वर्षमा निर्यात गर्न सक्षम बनाउने कामको सुरुवात गर्ने भएको छ ।

ठुला आयोजनामा आँखा
दुई दलले आफ्नो चुनावी घोषणापत्रमै आफूहरुलाई समाजवादोन्मुख यात्राका लागि अघि बढाउँदै देशमा सामाजिक आर्थिक विकासलाई तीब्र बनाउने जोड दिएको थियो ।

‘अब यो सरकारले खरायोको गतिमा काम गर्नु जरुरी छ’, उपाध्यक्ष गौतमले भने, ‘तीब्र गतिमा देश विकास गर्न सकेमा मात्रै आर्थिक सामाजिक सम्मुनति सम्भव छ । त्यसका लागि अर्बौँ लगानीका ठुला परियोजनामा हात हाल्नु जरुरी छ ।’

कार्यदलले ओली नेतृत्वको सरकारले देशमा ठुला ठुला विकास निर्माण योजना निर्माण गर्न सुझाव दिएको छ । उपाध्यक्ष गौतमका अनुसार माथिल्लो कर्णाली, पूर्व–पश्चिम द्रुत तथा रेलमार्गसहितका ठुला परियोजनामा वाम सरकारले हात हाल्नुपर्ने सुझाव दिइएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :