दुग्ध मूल्य शृङ्खला सुधार्न अनुसन्धानमा जोड

यो समाचार 50 पटक पढिएको

काठमाडौं, २८ जेठ । दुग्ध क्षेत्रमा प्रविधि र दक्ष प्राविधिकको विकास गर्नुपर्नेमा विज्ञ तथा सरकारी अधिकारीहरूले जोड दिएका छन् । दूधको मूल्य शृङ्खलामा सुधार गर्न अनुसन्धान र विकासमा लगानी बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।

राजधानीमा मंगलबार सम्पन्न दुग्ध विज्ञान तथा प्रविधिसम्बन्धी जनशक्तिको उपलब्धता र आवश्यकता विषयक कार्यशालामा सहभागीहरूले विश्वविद्यालय, सरकारी निकाय, निजी दुग्ध उद्योगी तथा सहकारीसमेतकोे सहकार्यमा योजना लागू गर्नुपर्नेमा जोड दिएका हुन् । “विकसित मुलुकमा सरकारले निजी क्षेत्रसँग मिलेर दुग्ध क्षेत्रको अनुसन्धान र विकासमा सफलतापूर्वक काम गरिरहेको पाइन्छ,” अस्ट्रेलियाको क्वीन्सल्यान्ड विश्वविद्यालयका प्रोफेसर डा. भेष भण्डारीले भने, “नेपालमा अनुसन्धानको काम निकै कम भएका छन्, दुग्ध क्षेत्र सुधार गर्न अनुसन्धान र विकासमा लगानी गर्नुपर्छ ।” छिमेकी मुलुक भारत र चीनले पनि अनुसन्धानमा लगानी गरिरहेको चर्चा गर्दै उनले यी मुलुककै मोडेलमा भए पनि नेपालको दुग्ध क्षेत्र सुधार गर्नुपर्ने बताए ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले समग्र कृषि क्षेत्रमा नै अनुसन्धानका काम कम भएको तथा दुग्ध क्षेत्रमा अनुसन्धानमा लगानी कम भएको स्वीकारे । “बरु तत्कालीन समयमा राजा महेन्द्रले धेरै काम गरेका रहेछन्, अहिले आएर भएका कुनै फार्म केन्द्र पनि सेना, प्रहरी र अन्यले हडप्ने र कुनै यत्तिकै नाम मात्रको रूपमा सञ्चालन भएका छन्,” उनले भने, “अर्कोतिर अनुसन्धानको मुख्य जिम्मेवार निकाय कृषि अनुसन्धान परिषद् ९नार्क०का कर्मचारीहरू अनुसन्धानभन्दा राजनीति बढी गर्ने भएकाले प्रभावकारी रूपमा काम नभएको अवस्था छ ।” उनले नार्कलाई सुधार गर्ने अभियान सुरु गरिएको भन्दै कृषि तथा दुग्ध क्षेत्रमा अनुसन्धानमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खनालले नेपालका निजी डेरीहरूले सराहनिय काम गरेको भन्दै विगतको तुलनामा नेपालको दुग्ध क्षेत्रमा सुधार भएको बताए । “नेपालको दुग्ध क्षेत्रमा विगतको तुनलामा धेरै सुधार भएको छ तर अझै अन्तर्राष्ट्रिय तुलनामा लैजान काम गर्नुपर्नेछ,” उनले थपे । उनले भारतका कतिपय राज्यमा नेपाल भन्दा निकै न्यून गुणस्तरको दूध उत्पादन हुने र नेपाल पठाउने गरिएको बताए । नेपालगन्ज नाकामा आफैंले अनुगमन गर्दा भारतीय दूध दूषित पाइएको उनको भनाइ छ । खनालले नेपालमा दूधको माग, उत्पादन र वितरणसम्बन्धी अध्ययन गरेर योजनावद्ध तरिकाले दुग्ध क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

क्याफोडाट कलेज बानेश्वर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) लगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा क्याफोडाट कलेजका प्रिन्सिपल तथा पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति जगतबहादुर केसीले निकै संघर्षपूर्ण तरिकाले हाल डेरी साइन्स लगायतको प्राविधिक विषयमा जनशक्ति उत्पादन गर्न थालेको बताए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले क्याफोडाटलगायत कृषि क्षेत्रका प्राविधिक कलेजको विस्तारलाई विश्वविद्यालयले प्राथमिकतामा राखेको बताए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा। युवकध्वज जिसीले एकातिर जनशक्ति कम भएको र भएका जनशक्तिले पनि व्यवहारिक ज्ञान नलिएकाले कृषि क्षेत्रमा प्रविधि र प्राविधिक दुवै अभाव देखिएको बताए । “पढेका विद्यार्थी फिल्डमा नजाने, भएका जनशक्ति पनि बाहिरिने समस्यालाई कम गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको छ,” उनले भने, “तत्काललाई विश्वविद्यालयसँग मिलेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना क्षेत्रमा विद्यार्थीलाई अनिवार्य रूपमा इन्टर्नसीपमा जानुपर्ने व्यवस्था गरेका छौं ।” उनले अनुसन्धानका कम काम भएको स्वीकार्दै विश्वविद्यालय र निजी क्षेत्रसँग मिलेर सरकारले अनुसन्धानका क्षेत्रमा थप काम गर्ने बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :