डिग्री गरेका रोमीले रोजे कुखुरा पालन, मासिक एक लाख आम्दानी

यो समाचार 154 पटक पढिएको

हेटौंडा । डिग्रीको प्रमाणपत्र हातमा लिएर हेटौंडा–१५ रातोमाटेका रोमी श्रेष्ठले पोल्ट्री व्यवसाय सञ्चालन गरेका छन् । अध्ययन गरेर जागिर खानैपर्छ भन्ने मान्यतालाई चिर्दै श्रेष्ठ कुखुरा व्यवसायमा लागेका हुन् । उनले शैक्षिक बेरोजगार युवालाई इच्छाशक्ति भए जागिर नै खानुपर्दैन भन्ने शिक्षा दिएका छन् ।

२०७२ सालको वैशाखदेखि हेटौंडा–१५ मै ६० वटा बोइलर कुखुराका चल्लाबाट व्यवसाय सुरु गरेका श्रेष्ठसँग अहिले विभिन्न प्रजातिका कुखुरा छन् । २५ हजार रुपैयाँको लगानीमा श्रेष्ठ पोल्ट्री फर्म खोलेका उनीसँग अहिले लोकल कुखुरा, टर्की, सिल्की, खरायो, बट्टाईलगायतका कुखुराका विभिन्न प्रजाति उपलब्ध छन् ।

सानो लगानीबाट व्यवसाय सुरु गरेको भए पनि अहिले उनले आफ्नो व्यवसायलाई निकै व्यवस्थित बनाएका छन् । ३२ वर्षीय श्रेष्ठले चल्ला सप्लाई गर्नेदेखि दानाको सब डिलर पनि चलाइरहेका छन् ।

यो व्यवसायमा आउनु अघि उनी सांगीतिक क्षेत्रमा क्रियाशील थिए । त्यसपछि उनले नोकरी पनि गरे गरे । तर, अहिले सबै त्यागेर पोल्ट्री व्यवसायमा सक्रिय छन् । मिहेनत गर्न सके पोल्ट्री व्यवसायको बजार राम्रो रहेको उनी बताउँछन् ।

पुर्खौली दुई कठ्ठा जमिनमा श्रेष्ठले विभिन्न प्रजातिका कुखुराको फार्म बनाएका छन् । त्यहीँबाट उनले १ लाखसम्म रुपैयाँ आम्दानी गरिरहेको बताए । बुझेर लाग्ने हो भने, १० देखि १२ लाखसम्मको लगानीबाट मासिक १ लाखसम्म आम्दानी गर्न गाह्रो नभएको उनी बताउँछन् ।

अब तीन बिघा क्षेत्रफलमा लोकल कुखुरा, टर्की, हाँस, बट्टाई, फेन्सी कुखुरा, खसी बाख्राका लागि फार्म एवं खोर बनाउन सुरु गरेको बताए ।

कृषि र पर्यटन क्षेत्रमा युवाको निकै सम्भावना रहेको उनको भनाइ छ । राज्यले यस क्षेत्रमा लाग्न चाहने युवालाई अनुदानभन्दा पनि कम ब्याजमा ऋण उपलब्ध गराए राम्रो हुने उनले बताए । प्राविधिक विषयलाई प्राथमिकतामा राखेर सरकारले युवालक्षित थप कृषिका कार्यक्रम ल्याउन आवश्यक रहेको उनी बताउँछन् ।

‘डिग्री अध्ययन गरेर यस क्षेत्रमा लाग्न चाहने युवालाई सरकारले प्रमाणपत्र धितो राखेर ऋण दिनुपर्छ, लगानी गर्नुपर्छ,’ उनले भने ।

यस क्षेत्रमा लाग्ने चाहने नयाँ पुस्तालाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनले बताए । देशमा बेरोजगारी न्यूनीकरण गर्न सरकारले कृषि र पर्यटन क्षेत्रमा युवाको मोह बढाउन आवश्यक रहेको बताए । उनी यसै क्षेत्रमा अझै अब्बल हुनका लागि भेटनरीको डिप्लोमा अध्ययन गरिरहेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :