प्रदेश–१ बन्यो दूधमा आत्मनिर्भर

यो समाचार 95 पटक पढिएको

विराटनगर । प्रदेश नम्बर १ दूध उत्पादनमा आत्मनिर्भर भएको छ । पहाडी र तराई क्षेत्रमा व्यावसायिक गाईपालनका कारण दूधको उत्पादन बढेको हो ।
यो प्रदेशमा दैनिक ३० हजार लिटर दूध मागभन्दा बढी उत्पादन भइरहेको छ । उत्पादनअनुसार खपत क्षमता नहुँदा कृषक चिन्तित भएका छन् । दूधको खपत बढाउन भारतलगायतका मुलुकबाट आयात हुने धुलो दूध प्रतिस्थापन गर्न कृषकले माग गरेका छन् ।

“तत्काल भारतबाट आयात हुने पाउडर दूध नरोके यहाँका किसान पलायन हुन्छन्,” धनकुटाका दुग्ध किसान गणेशप्रसाद घिमिरेले भने, “दूध नबिकेर किसान हैरान भएका छन् ।” कृषकहरूले मिल्क होलिडेको समस्या खेप्दै आएको उनको भनाइ छ । मिल्क होलिडेले गर्दा व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै मिल्क होलिडेको समस्या समाधान गर्न स्वदेशी दूधको पाउडर बनाउनुपर्ने उनको भनाइ छ ।

प्रदेश–१ मा वार्षिक ५ लाख ६१ हजार १५० मेट्रिकटन दूध उत्पादन भइरहेको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश–१ का सूचना अधिकारी कुमारसिंह खत्रीले बताए । आत्भनिर्भर भइसकेकाले दूधको आयात रोक्न कृषकले माग गरेका छन् । उनीहरूले लागतअनुसार प्रतिफल नपाउँदा पेशाबाट पलायन हुनुपर्ने बाध्यता रहेको गुनासो गरे । “बैंकबाट ऋण लिएर गरेको लगानी जोखिममा परेको छ,” मोरङ ववियाविर्ताका कृषक भूपाल थापाले भने, “विदेशी पाउडर दूधको आयातलाई प्रतिबन्ध लगाए मात्रै कृषक उँभो लाग्छन् ।”

सम्भवतः प्रदेश १ कृषिजन्य उत्पादनमध्ये दूधमा मात्रै आत्मनिर्भर भएको छ । अन्य कृषिजन्य उत्पादनको आयात भने बढेर गएको छ । तत्काल विकल्प नखोजे उत्पादित दूध खेर जाने अवस्था रहेको कृषिकहरूको भनाइ छ ।

प्रदेश–१ मा प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक पर्नेमा हाल १ सय १६ लिटर उत्पादन भइरहेको मन्त्रालयका सचिव हस्तबहादुर विष्टले जानकारी दिए । उनले स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहित गर्न आयातलाई रोक्नेतर्फ प्रदेश सरकार लागेको दाबी गरे । “कृषकलाई लागतअनुसारको मूल्य दिएर मिल्क होलिडेको समस्या समाधान गर्नेतर्फ प्रदेश सरकारले योजना बनाइरहेको छ,” विष्टले भने, “नीति बनाएर सरकारले आत्मनिर्भर भएका वस्तुको आयात रोक्छ ।”

मुख्यमन्त्री शेरधन राईसमेत सहभागी दुग्ध व्यवसायीहरूसँगको अन्तक्र्रियामा प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषिको विकास गर्न ६१ करोड बजेट विनियोजन गरेको सचिव विष्टले दाबी गरे । भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको अन्तक्र्रियामा मुख्यमन्त्री राईले अनुदान दिएर कसैको बानी नबिगार्ने बताउँदै कृषकको हक र हितका लागि निजी, सार्वजनिक र सहकारी अवधारणालाई अगाडि बढाएको दाबी गरे । प्रदेश–१ मा इलाम, झापा र मोरङमा सबैभन्दा बढी दूध उत्पादन हँुदै आएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :