पशुपन्छीपालनबाट गर्न सकिन्छ वार्षिक १२ लाख आम्दानी

यो समाचार 72 पटक पढिएको

म्याग्दी । ग्रामीणभेगका अधिकांश महिला अझै पनि चुलोचौकोमै सिमित छन् ।

घरखर्च चलाउनदेखि बालबालिकाको पढाइको खर्च जोह गर्न पुरुषको भर पर्नुपर्ने अधिकांश महिलाको बाध्यता हो । तर म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी सन्तोषी भण्डारी भने मेहनत, संघर्ष र परिश्रम गर्न सक्यो भने महिला पनि आत्र्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण बनेकी छन् ।

३१ वर्षिया भण्डारीले आठ वर्षदेखि ५ रोपनी जग्गा भाडामा लिएर भैंसी, बाख्रा, कुखुरा र बंगुर पाल्दै आएकी छन् । उनले समिर पशुपन्छीपालन केन्द्र दर्ता गरेर व्यावसायिक पशुपन्छीपालन गरेर लाखौं आम्दानी गर्दै आएकी छन् । जिल्लाकै नमुना कृषकको रूपमा परिचित सन्तोषीले बार्षिक १२ लाख रूपैयाँ आम्दानी हुने गरेको बताइन् ।

उनले २०६३ सालबाट परीक्षण र अनुभव बटुल्न २(३ सय कखुरा पाल्दै आएकी थिइन् । अनुभवसँगै राम्रो आम्दानी हुन थालेपछि २०६७ सालदेखि कुखुरापालन खोर विस्तार गर्दै ५ सय दरले पाल्दै आएकी थिइन् । उनको ५ वटा खोरमा अहिल्यै २ हजार कुखुरा नियमित भइराख्छन् । “गर्मीको समयमा सबैले कुखुरा पाल्छन्, तर जाडोमा गाउँका अरुले पाल्दैनन्,” उनले भनिन्, “विभिन्न चुनौतीका बाबजुद मैले दुई हजारभन्दा बढी कुखुरा पाल्दै आएकी छु ।” उनले उत्पादन गरेको मासु राखु, पिप्ले, बेग, दग्नाम, चिमखोला, कुईनेमंगलेलगायतका क्षेत्रमा बिक्री हुने गरेको छ ।

भण्डारीले कुखुरासँगै व्यावसायिकरूपमा ९३ बाख्रा, ३ ओटा बंगुर, ४ वटा भैंसीसमेत पालेकी छन् । व्यवसायबाट बार्षिक ५० लाख रूपैयाँको कारोबार भइरहेको छ । मासिक १ लाख र बार्षिक १२ लाख नगद आम्दानी गर्दै आएको उनले बताइन् । आम्दानीबाट दुई छोरा, भाइका तीन बालबालिकाको दैनिक पालनपोषण र पढाई खर्च सहज रूपमा पुरा गर्दै बार्षिक साढे ८ लाख रूपैयाँ बचाउँदै आएको उनले बताइन् ।

उनले गाउँमै व्यवसाय गरेर घरघडेरी खरिद गरिसकेकी छन् । भण्डारीले व्यवसाय मात्र गरेकी छैनन्, सामाजिक काममा पनि सक्रियता देखाएकी छन् । नमुना सामुदायिक संस्थाको सचिव, जिल्ला बाख्रापालन व्यवसायी समितिको सहसचिव र विभिन्न वित्तीय संस्थाको अध्यक्ष समेत रहेर गाउँमा समाजिक काममा समेत उनले सक्रियता देखाउँदै आएकी छन् ।

५ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर दुई वटा आफू बस्ने निवास, बाख्राको खोर, कुखुराको ५ वटा खोर, बंगुरको एउटा खोर निर्माण गरेकी छन् । उनको सक्रियता, साहस र मेहनतालाई सफल बनाउन बुवा रेशमबहादुर र आमा हरिकुमारी भण्डारीले साथ दिइरहेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :