डेरी उद्योग संघ भन्छ ‘दुग्ध पदार्थमा प्रयोग हुने केमिकलको मापदण्ड तय गर्नुपर्छ’

यो समाचार 151 पटक पढिएको

काठमाडौं । डेरी उद्योग संघले दूधबाट बन्ने खाद्य सामाग्रीमा प्रयोग हुने केमिकलको मापदण्ड तयार गर्नु पर्नेमा जोड दिएको छ ।

सरकारले दूध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ मा दूधको गुणस्तर मापदण्ड मात्र नभई दुग्धजन्य वस्तु तथा दुग्धबाट बनेका खाद्य पदार्थहरुमा पनि गुणस्तर मापदण्डको दायरा बनाउन माग गरिएको हो ।

डेरी उद्योग संघका अध्यक्ष अरनिकोराज भण्डारीले दुग्ध पदार्थबाट बन्ने गरेको खाद्यहरुमा विभिन्न प्रकारको केमिकल प्रयोग हुने गरेको, तर त्यसको नियमन गर्ने कुनै निकाय नभएको भन्दै उक्त विषयलाई निर्देशिकामा राख्न ध्यानाकर्षण गराएका थिए ।

‘हामी दुधको गुणस्तर मापदण्ड बनाइरहेका छाँै, तर त्यही दूधबाट बन्ने खाद्यहरुमा विभिन्न केमिकलजन्य वस्तुको प्रयोग हुन्छ, त्यसलाई नियमन गर्ने अहिलेसम्म कुनै निकाय छैन, यसका लागि पनि सरकारले उचित मापदण्डको तयारी गर्नु पर्छ,’ भण्डारीले भने ।

सरकारले केही समय अघि मात्र दूध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ स्वीकृत गरेको छ । उक्त निर्देशिका स्वीकृत भएको ६ महिनामा लागु हुनेछ । सो निर्देशिका असोज ४ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत भएको थियो ।

कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थलाई उच्च गुणस्तरको भनी अथवा गुणस्तरीय खाद्यमा अखाद्य पदार्थ मिसावट गरी विक्री वितरण गर्न नपाइने ऐनमा उल्लेख गरिएको छ ।

उक्त ऐन विपरित काम गर्ने व्यक्तिलाई ५ वर्षसम्मको कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना वा दुबै हुन सक्नेछ । यस्तै दूध दुहेपछि संकलन केन्द्र वा प्रशोधित कारखानामा २ घण्टा भित्र पुर्याउनु पर्नेछ । बिहानको दुध बिहानै र बेलुकाको दुध बेलुका नै संकलन केन्द्रमा पुर्याउनु पर्नेछ ।

दूध दुहुदा वा राख्दा कुनै प्लास्टिकको भाडामा नराखी त्यसलाई खिया नलाग्ने स्टेनलेस स्टील वा आलमुनियमको भाडामा राख्नु पर्ने ऐनमा उल्लेख छ ।

यसैगरी अबको समयमा कुनै पनि डेरी पसलहरुले प्लास्टिमा दुध बिना गुणस्तर जाँच बिक्री वितरण गर्न नपाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जीवकुमार कर्णले बताए ।

डेरीले आफै प्रशोधित गरी दूध विक्री वितरण गरेपनि त्यसमा ट्याग तथा गुणस्तरको मापदण्ड पूरा भएको हुन पर्नेछ । अहिलेसम्म कुनैपनि डेरी पसलहरुले दूधको गुणस्तर परीक्षण गराउने गरेका थिएनन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :