कुखुरापालक किसानले पुसदेखि आन्दोलनमा, सरकार र ठूला व्यवसायीबीचको टकरावले साना किसान समस्यामा

यो समाचार 206 पटक पढिएको

भरतपुर । चितवनलाई ‘पोल्ट्रीको हब’ मानिन्छ।

राजधानीसहित नेपालका अधिकांश जिल्ला चितवनमा उत्पादन भएको कुखुरा खपत हुन्छ। तर, नेपाललाई मासुमा आत्मनिर्भर बनाउनुपर्छ भन्ने आवाज उठ्दै गर्दा चितवनमै केन्द्रीय कार्यालय रहेको नेपाल कुखुरापालक किसान संघ भने संस्थागत रूपमै आन्दोलित बनेको छ। सरकार र ठूला व्यवसायीबीचको टकरावले साना किसान समस्यामा परेको भन्दै संघले पुस १ गतेदेखि चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

गत कात्तिक १८ गते गरेको पहिलो चरणको शान्तिपूर्ण आन्दोलन गर्दा त्यसलाई बेवास्ता गरेको भन्दै चरणवद्ध आन्दोलन गर्न बाध्य भएको आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। सरकारले ह्याचरी व्यावसायी, दाना उत्पादक कम्पनी तथा औषधि उत्पादक कम्पनीसँग मिलेर चल्ला र दाना किन्ने बेलामा मूल्य वृद्धि गर्ने र कुखुराको मूल्य घटाइदिँदा त्यसको मार आफूहरूलाई परेकाले आन्दोलन गर्ने अवस्थामा आइपुगेको केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले बताए।

‘हामीले किन्ने बेलामा महँगो र बेच्ने बेलामा सस्तो मूल्य बनाइदिएकै कारण किसान सधैं चेपुवामा परेको उनको भनाइ छ। ‘त्यसैले उचित मूल्य निर्धारण गरेर किसानलाई राहत दिलाउन सरकारले तदारूकता देखाउनुपछ’, उनले भने। उत्पादन भएका वस्तुलाई बजारसम्म पुर्याउने वातावरणसमेत सरकारकै कारण असहज बन्दै गइरहेको उनको भनाइ छ।

‘बिचौलियाको विगविगीलाई सरकारले अझै पनि संरक्षण दिइरहेको छ’,उनले भने, ‘दई तिहाइको आडमा रहेको सरकारबाट हामीले यो अपेक्षा गरेका थिएनौं। यसले गर्दा हामी विरोधमा उत्रिन बाध्य भएका छौं।’

साना किसान हरेक क्षेत्रमा ठगिन बाध्य भएको उनको भनाइ छ। ‘कृषि क्षेत्र विभिन्न वित्तीय संस्थाहरूबाट समेत ठगिने गरेका छन्’, उनले भने, ‘हामीमाथिको यो अत्याचार आखिर कहिलेसम्म ? ’

सरकारले अहिलेसम्म गुणस्तरहीन दाना तथा औषधि उत्पादक कम्पनीलाई समेत कारवाही गर्न नसकेको उनले बताए। साना किसानका लागि गैरजिम्मेवार बनेकोले यो समयमा आएर पनि सरकारको विरोध गर्न बाध्य भएको उनको भनाइ छ। नेपाललाई मासुमा आत्मनिर्भर बनाउने नारा घन्काएर सरकारबाटै असहयोग भएको नेपाल कुखुरापालक किसान संघ गोरखाका उपाध्यक्ष रमेश खड्काले बताए। ‘किसानलाई ऋणमाथि ऋण बोकाउने काम मात्रै भएको छ’, उनले भने, ‘त्यसैले किसानको मर्कालाई ध्यानमा राखेर निश्चित मूल्य तोकिनुपर्छ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :