अब गार्इ भैंसी पाल्नेका दिन आए

यो समाचार 99 पटक पढिएको

महोत्तरी । ‘भैंसी पालेको थिएँ। साँझ-बिहान गरी १२/१४ लिटर दूध दिन्थ्यो। तर, दूध बेच्नै समस्या थियो’, प्रमिलादेवी महतोले विगत सम्झँदै भनिन्, ‘अब भने गाईभैंसी पाल्नेका दिन आए।’

महोत्तरी गौशाला नगरपालिका-१२ कान्तिबजारकी ३२ वर्षीया प्रमिलाको गोठमा अहिले चार भैंसी छन्। दुई वटाले दूध दिन्छन्। उनले एक महिनाअघि नयाँ भैंसी पनि थपेकी छन्। प्रमिला भन्छिन्, ‘गाउँमै सहकारीले दूध संकलन केन्द्र राखिदियो। अब भने जति दूध भए पनि बिक्छ।’ दूधको रकम सहकारीले पाक्षिक रूपमा एकमुष्ठ खातामै राखिदिने गरेको बताउँदै उनले थपिन्, ‘दूध बेचेर ५५ हजारमा भैंसी किनें।’

जिल्ला दूध उत्पादक सहकारी लिमिटेड गौशाला र साना किसान कृषि सहकारी संस्था कान्तिबजारको लगानीमा १२ लाखमा गत साउन ३१ गते दूध संकलन केन्द्र स्थापना भएको थियो। कान्तिबजारस्थित पशु सेवा केन्द्र परिसरमा सहकारीले दूध संकलन केन्द्र राखेपछि प्रमिलाजस्ता तीन सय किसान लाभान्वित भएका छन्। बिहान बेलुका दूध बिक्री केन्द्रमा किसान देख्दा मेला लागेझैं लाग्छ।

प्रमिलाले दूध बेचेर ६ जनाको परिवार मज्जाले चलाएकी छन्। कमाइ खाने एक टुक्रा पनि खेत छैन। दूध बेचेरै चार सन्तान पढाएकी छन्। उनी एकाबिहानै उठ्छिन्। अनि भैंसी स्याहार्न थाल्छिन्। दूध दुहेर डेरी पुर्‍याउँछिन्। फर्किएर खाना पकाउँछिन्। खाना खाइवरी श्रीमान् रामविश्वास र जेठा छोरा विपिन घर बनाउने काममा जान्छन्।

कक्षामा ६ मा पढ्दै गरेका अर्का छोरा हरमेश, कक्षा ५ मा पढ्ने कमलेश र कक्षा ४ मा पढ्ने कान्छी छोरी खुश्बुलाई खाना खुवाएर स्कुल पठाउँछिन्। अनि खाना खाएर घाँस काट्न निस्किन्छिन्। स्कुलबाट फर्किएपछि भैंसी चराउन उनका छोराछोरीले पनि सहयोग गर्छन्। प्रमिला भन्छिन्, ‘दूध बिक्रीबाट जीवन चलेको छ।’ प्रमिलाले दूध बिक्रीबाट मासिक १२ देखि १४ हजार आम्दानी गर्छिन्। भन्छिन्, ‘सहकारीमा मासिक बचत पनि गरिरहेको छु।’

गाउँमै दूध बेच्न पाउँदा प्रमिलाका छिमेकी गाउँ परोरियाका ४५ बर्से राजिन्द्र महतो पनि औधी खुसी छन्। उनी पनि पहिलाजस्तो दूध बेच्न हातमा बाल्टिन बोकेर भौंतारिनु नपर्ने बताउँछन्। ‘मेहनत गरेर भैंसी पाल्दा पनि किसानको दूध बिक्री हुँदैन्थ्यो’, उनले भने, ‘बिक्री भइहाले पनि दूधको पैसा माग्न दूध लिनेहरूको घरमै जानुपथ्र्यो। घर अगाडि नै डेरी खुल्यो। सबै समस्या दूर भयो।’ सहकारीले दूधको एकमुष्ठ रकम राजिन्द्रकै खातामै पठाइदिन्छ। ‘१५/१५ दिनमा चेक आउँछ। सहकारीबाट ब्याज पनि आइहाल्छ।’

सहकारीले दूधको गुणस्तरको आधारमा पैसा दिने गर्छ। प्रतिफ्याट पाँच रुपैयाँ ५२ पैसा र प्रतिस्नेफ दुई रुपैयाँ ५१ पैसा दिने गरको दूध संकलन केन्द्र व्यवस्थापक रामदयाल महतोले जनाए। किसानले गाईको दूध प्रतिलिटर ४० देखि ५० र भैंसीको ५० देखि माथि गुणस्तर हेरेर दिने गरको छ।

गत साउन ३१ गतेबाट दूध संकलन थालिएको केन्द्रमा पहिलो दिन नौ लिटर दूध लिएर किसान पुगेका थिए। हाल केन्द्रले दैनिक तीन सय किसानको पाँच सय ४० लिटर उठाउने गरको साना किसान सहकारी संस्थाका अध्यक्ष हरिहर सिंहले जनाए। ‘हजार लिटरको चिलिङ भ्याटमा दूध राखिन्छ। तापक्रम मिलाएर चिस्याइन्छ’, उनले भने, ‘डीडीसी र डेरीको गाडी आएर लैजान्छ।’ भदौदेखि कात्तिक मसान्तसम्म दूध संकलन केन्द्रले १६ लाख ८३ हजार रुपैयाँ बराबरको दूध सप्लाई गर्न सफल भएको छ। उत्पादित दूध बिक्री नभएर मारमा परेका कान्तिबजार, भरतपुर, कालिपुर, बटौवालगायत आधा दर्जन भेगका तीन सय बढी किसानले उक्त सहकारीमा दूध बेचेर हालसम्म १७ लाख रुपैयाँभन्दा बढी भिœयाएका छन्।

केन्द्रमा दूध बेचिरहेका तीन सय किसानसँग कम्तीमा ६ सय गाईभैंसी छन्। दूध बिक्रीबाट आएको पैसाले किसानहरूले ६० वटा भैंसी थप्न पनि सफल भएका छन्। दूध संकलन केन्द्र पनि नाफामै छ। केन्द्रले दूध सप्लाई गरी कात्तिक मसान्तसम्म ९६ हजार खुद नाफा गर्न सफल भएको कन्द्रले जनाएको छ।

दूधबाट राम्रै आम्दानी भए पनि पशु चिकित्सकको भने अभाव भएको किसान इन्द्रदेव महतोले बताए। साथै उनले लागत मूल्य आधारमा दूधको मूल्य तय गर्न सरकारसँग माग गरेका छन्। भैंसी बिरामी हुँदा पशु चिकित्सक बोलाउनै समस्या छ’, उनले थपे, ‘गाउँमा पशु सेवा कार्यालय त छ। तर, त्यहाँ डाक्टरको अत्तोपत्तो छैन।’ नगरपालिकाले पशु चिकित्सको व्यवस्था मिलाइदिनुपर्ने उनले माग गरे। सहकारी महासंघ सञ्चालक समिति सदस्य रामचन्द्रसिंह कुशवाहाले शिविर, गाईभैंसी पाल्ने तरिका, आहारको प्रबन्धलगायत व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने बताए।

गौशाला नगरपालिका-१२ का वडाध्यक्ष कृष्णबहादुर विश्वकर्माले नगरपालिकामा कर्मचारी अभाव हुँदा योजनाहरू सञ्चालन गर्न नसकेको बताए। ‘यो विषय अब बस्ने कार्यपालिका बैठमा लान्छु।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :