दसैंका लागि खसीबोका र च्याङ्ग्रा भित्रिँदै

यो समाचार 84 पटक पढिएको

काठमाडौं । विगतका वर्षमा दसैंका बेला ५० हजारभन्दा बढी खसीबोका उपत्यका भित्र्याइने गरिएको छ ।

यो वर्ष ६० देखि ७० हजार खसीबोका भित्र्याउने अनुमान गरिएको छ । नजिकिँदै गरेको दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भित्र्याउन सुरु भएको छ । दसैंका लागि छिमेकी मुलुक चीनबाट ल्याइएका भेडाच्याङ्ग्रा मंगलबार कलंकीस्थित खसीबजारमा भित्रिने भएका हुन् । घटस्थापनाको दिनदेखि खसीबोका भित्रिने भए पनि च्याङ्ग्रा भने मंगलबार नै उपत्यकामा आइपुग्ने व्यवसायीले बताएका छन् । व्यवसायी दिपक थापाले चीनबाट ल्याइएका भेडा च्याङ्ग्रामंगलबार उपत्यकामा आइपुग्ने बताए ।

अर्को छिमेकी मुलुक भारतबाट खरिद गरेर ल्याइएका खसीबोका घटस्थापनामा आइपुग्ने उनको भनाई छ । स्थानीय उत्पादन भने सप्तमीको दिनदेखि मात्र उपत्यकामा आइपुग्ने थापाले जानकारी दिए । दसैंलाई लक्षित गरी मनाङ, मुस्ताङ र उत्तरी छिमेकी चीनबाट च्याङ्ग्र्रा ल्याइँदै छ । “चीनबाट च्याङ्ग्रा ल्याउँदा भन्सार कार्यालयले प्रतिगोटामा १ हजार ३ सय रूपैयाँसम्म भन्सार शुल्क लिँदा असर परेको छ,” व्यवसायी थापाले भने, “नेपालकै भन्सारले च्याङ्ग्रा ल्याउँदा बढी शुल्क लिँदा बजारमा महँगो पर्ने देखिन्छ ।” भारतबाट खसीबोका आयात गर्दा प्रतिगोटा १ हजार १ सय रूपैयाँ व्यवसायीले भन्सार तिर्ने गर्छन् । दसैंका बेला अधिकांशले मासु उपभोग गर्ने भएकाले खसीबोकाको खपत अत्यधिक हुने गरेको छ ।

विगतका वर्षमा दसैंका बेला ५० हजारभन्दा बढी खसीबोका उपत्यका भित्र्याइने गरिएको छ । यो वर्ष ६० देखि ७० हजार खसीबोका भित्र्याउने अनुमान गरिएको छ । दसैंमा खपत हुने खसीबोका मध्ये ६० प्रतिशत भारतबाटै आउँछन । अरु समयमा भने ५० प्रतिशतभन्दा बढी नेपाली खसीबोकाले नै माग धान्ने गरेको उनले बताए ।

यो वर्ष खसीबोका र च्याङ्ग्राको मूल्य प्रतिकेजीमा ५० देखि १ सय रूपैयाँ महंगो भएको व्यवसायीले बताएका छन । व्यवसायीका अनुसार गत वर्ष प्रतिकेजी सात सय रुपैयाँ रहेको जिउँदो च्याङ्गाको मूल्य यो वर्ष बढेर ७ सय ५० रूपौयाँ पुगेको छ । यस्तै गत वर्ष प्रतिकेजी पाँच सय रुपैयाँ रहेको जिउँदो खसीबोकाको मूल्य यो वर्ष ६ सय रूपैयाँ पुगेको छ ।

व्यवसायीका अनुसार ३० देखि ३५ हजार खसीबोका भारतबाट र १० देखि १२ हजार च्याङ्ग्रा चीनबाट आयात हुन्छ । २० देखि २५ हजार खसीबोकोको उत्पादन स्थानीय बजारमै हुने गरेको छ ।

यसैबीच नेपाल खाद्य संस्थानले भने घटस्थापनाको दिन मात्रै खसीबोका तथा च्याङ्ग्रा काठमाडौंमा ल्याउने योजना बनाएको छ । संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले घटस्थापनाका दिनमा मात्र उपत्यकामा खसीबोका आइपुग्ने बताए । संस्थानले बजारमा मूल्य नियन्त्रण गर्न प्रत्येक वर्ष दसैंमा खसीबोका र च्याङ्ग्रा ल्याएर बिक्री वितरण गर्ने गर्छ । यो वर्ष संस्थानले एक हजार च्याङ्ग्रा र सोही संख्यामा खसीबोका ल्याउँदै छ ।

खाद्य संस्थानमा खसीबोका राख्न समस्या हुने र हिमाली जिल्लाबाट ल्याएका च्याङ्ग्रा धेरै दिनसम्म काठमाडौंमा राख्दा तापक्रम नमिलेर मर्ने भएकाले ढिला गरी ल्याउन लागिएको हो । संस्थानले बजार मूल्यभन्दा प्रतिकेजीमा १० रूपैयाँ छुट दिएर बिक्री वितरण गर्ने तयारी गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :