खगराजको सिँगो परिवार व्यावसायिक बाख्रापालनमा

यो समाचार 48 पटक पढिएको

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालको सिंगो परिवार व्यावसायिक बाख्रापालनमा लागेका छन्। सुडालस्थित झाँप्रोका खगराज तिमिल्सेनाको परिवार व्यावसायिक बाख्रापालनमा लागेको हो। व्यावसायिक बाख्रापालनमा खगराजकी जहान कुन्तीदेवी र दुई छोरा गणेशप्रसाद र कुमार सक्रिय भई लागेका छन्।

खगराजका कान्छा छोरा कुमारले आमा कुन्तीदेवीको नाममा एग्रो फार्म प्रालि दर्ता गरेर २०७४ देखि बाख्रापालन थालेको जानकारी दिए। पहिले एक÷दुइटा बाख्रा खाली नहुने तिमिल्सेनाको घरमा अहिले ठूलासाना गरी ६० बाख्रा तथा खसीबोका छन्। जसमा नौवटा बोका, तीनवटा खसी र पाठापाठी ११ छन्। बाँकी सबै माउ बाख्रा छन्।

उनका अनुसार फार्ममा उन्नत जातको बोयर र जमुनापारीको क्रस तथा खरी जातको स्थानीय बाख्रासमेत छन्। फार्मका बाख्रा तथा खसीबोकालाई चर्न आफ्नो करिब तीन रोपनीसहित ३३ रोपनी क्षेत्रफलमा खुला चरण क्षेत्रको व्यवस्था गरिएको कुमार बताउँछन्। चरण क्षेत्रमा आवश्यकतानुसार घाँस खेती गरिएको छ। त्यस्तै बाख्रालाई अति मनपर्ने किमुका बोटसमेत ठाउँ ठाउँमा लगाइएका छन्।

‘१६ वटाबाट बाख्रा पाल्न थालेका हौं’, उनले भने, ‘अहिले ६० पुगेका छन्। कम्तीमा दुईसय बाख्रा पुर्‍याउने लक्ष्य छ।’ अहिलेसम्म नौ लाख लगानी भएको बताउँदै उनले हाल ८० वटा बाख्रा अट्ने खोर विस्तार गर्ने प्रक्रियामा रहेको जानकारी दिए। स्वस्थकर मासु, उन्नत जातका बाख्रा तथा बोका उत्पादन गर्ने फार्मको लक्ष्य रहेको गणेशप्रसाद सुनाउँछन्। उनका अनुसार उन्नत बाख्रा र बोकाको अभावमा स्थानीयले परम्परागत रूपमा पालेको बाख्राबाट अपेक्षाकृत फाइदा लिन सकेका छैनन्।

‘समुदायमा उन्नत जातको बाख्रा र बोका छैनन्’, उनले भने, ‘सधैं स्थानीय जातको बाख्रा पालेर फाइदा लिन सकिन्न। त्यस्तै बोका पनि उन्नत चाहिन्छ।’ व्यावसायिक बाख्रापालनमा उत्प्रेरित गर्ने उद्देश्यले व्यावसायिक फार्म सुरु गरिएको उनको भनाइ थियो। उक्त फार्म चाँगुनारायण नगर क्षेत्रकै पहिलो व्यावसायिक फार्म हो। उक्त फार्मबाट गत वर्ष एक लाख ३० हजार रुपैयाँ आम्दानी भएको उनी बताउँछन्।

बाख्राको संख्या कम भएकाले आम्दानी पनि कम भएको व्यवसायी कुमारको भनाइ छ। ‘एक वर्षमा ७० देखि ८० खसीबोका बेच्न सकियो भने फाइदा मनग्ये हुन्छ’, उनले भने, ‘बाख्रा पाल्न सजिलो छैन। तर मेहनत गरियो भने फाइदा पनि कम छैन।’ उन्नत जातको एउटा खसीबोका हुर्कन करिब ६ महिना र स्थानीय जातको भए एक वर्ष लाग्ने उनी बताउँछन्। बाख्रा ब्याउन पनि ६ महिना लाग्ने उनको भनाइ छ।

बजार माग पर्याप्त

लगानी गरेको वर्षदिनमै फाइदा लिने उद्देश्य लिएर बाख्रापालन गर्ने सोच राख्न नहुने उनी बताउँछन्। बाख्रापालन गर्न धेरै धैर्यता चाहिने भन्दै उनले बजार भने प्रशस्त रहेको सुनाए। उनका अनुसार खसीबोका खोज्न व्यापारी उनको फार्मसम्मै पुग्छन्। तर अहिले उनीहरूले भनेको एक प्रतिशत पनि पुर्‍याउन नसकिएको व्यवसायी कुमारले स्पष्ट पारे। अहिले बजारमा जिउँदो खसीबोका प्रतिकिलो ६ सय रुपैयाँ छ। व्यापारीले किसान एवं व्यवसायीलाई पाँच सय ५० सम्म दिने गर्छन्। उन्नत जातको खसीबोका ६ महिनासम्म ३५ किलोसम्म पुग्छ।

औषधि अभाव

पशु चिकित्सकका अनुसार पशुपालनमा बाख्राको मृत्युदर बढी छ। त्यसैले औषधोपचारमा ध्यान दिन सकिएन भने यसबाट घाटा हुने सम्भावना बढी छ। त्यस्तै नेपालमा बाख्राकै लागि भनेर छुट्टै औषधि बनेको छैन र बजारमा पाउन कममात्रै रहेको उनीहरूको भनाइ छ।

त्यसैले पाठापाठी जन्मेदेखि नै बढी स्याहारसुसार गर्न सकिए र मृत्युदरलाई रोक्न सकिए बाख्रापालनबाट मनग्ये आम्दानी गर्न सकिने पशु प्राविधिक सन्तोष घिमिरे बताउँछन्। घिमिरे कुन्तीदेवी एग्रो फार्मका पशु प्राविधिकसमेत हुन्। उनका अनुसार व्यावसायिक बाख्रापालन गर्नेले एक जना पशु प्राविधिकको व्यवस्था गर्न सकिए रोग तथा कीराबाट डराउनुपर्ने अवस्था आउँदैन।

‘पाठापाठीलाई जन्मेको एक महिनाभित्र नाम्लेकीराको औषधि खुवाउनुपर्छ। ठूलो भएपछि जुम्रा तथा उपियाबाट जोगाउन बेलाबेला विषादीले नुहाइदिनुपर्छ’, पशु प्राविधिक घिमिरेले भने, ‘तिनीहरूलाई ठूलो नभएसम्म माउ र अन्य खसीबोकादेखि छुट्टै राख्नुपर्छ।’

बाख्रा तथा खसीबोकालाई दिनमा कम्तीमा दुई घण्टा घाँस चर्ने व्यवस्था गर्नुपर्ने उनी बताउँछन्। ‘पर्याप्त हरियो घाँसको व्यवस्था छैन भने बाख्रा पाल्ने कल्पना नगरे हुन्छ’, उनले थपे, ‘घाँस सँगसँगै कँुडो र शुद्ध पानी खुवाउनुपर्छ।’

बाख्रा बिमा भएन

बिमा कम्पनीले बाख्रापालनलाई नपत्याउँदा समस्या भएको व्यवसायी कुमारले सुनाए। सुरुमा बिमा गरेको कम्पनीमै पटकपटक बिमाका लागि जाँदा पनि थपिएका बाख्राको बिमा नगरिएको उनको भनाइ थियो। ‘बिमा कम्पनीमा कतिपटक धाए तर बिमा गर्न नै आएनन्’, उनले भने, ‘बिमा नगरिँदा कहिलेकाही समस्या आउँछ।’ उनले बाख्रा फार्मको स्थायित्वका लागि फार्म हाउस रिसोर्टसमेत सञ्चालनमा ल्याउने योजना अघि बढेको सुनाए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :