गाई पालेरै शशिलाई हाईहाई, दुई सय बिघा जमिनमा फर्म, झन्डै एक अर्ब लगानी, साढे चार सय गाई

यो समाचार 1259 पटक पढिएको

बुटवल । रूपन्देहीका शशि पौडेल अघिल्लो वर्ष विकास रत्न विभूषणबाट सम्मानित भए ।

यो वर्ष जनसेवा श्री पदकबाट । उनी कुनै सरकारी जागिरे होइनन् । हुन् केवल गाईपालक किसान । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री पदक लिँदै गर्दा उनले आफ्नै गाईगोठ सम्झे । र, स्कुलमा ‘कृषिप्रधान देश नेपाल’ भन्ने पढेको पनि सम्झे ।

‘शिक्षक बनें, अमेरिकाको भिसा पाएँ र गएँ, विभिन्न संघसंस्थाको नेतृत्व गरें, टन्न पैसा पनि कमाएँ’, पौडेलले विगत सम्झँदै भने, ‘तर मन शान्त भएन । जब ०६६ सालमा गाईगोठ बनाएर गोबर उठाउन थालें, अनि सन्तोषको अनुभूति भयो ।’

  • ३२ जनालाई रोजगारी
  • दैनिक दुई हजार लिटर दूध बिक्री
  • गोबरबाट पाँच मेगावाट विद्युत् उत्पादन
  • दूध बिक्रीबाटै दैनिक करिब एक लाख आम्दानी

पैसा कमाउनु मात्रै महान् काम होइन भन्ने आफ्नै जीवनमा पुष्टि भएको उनी बताउँछन् । ‘जब पशुपालन व्यवसाय सुरु गरें, नाम, दाम र सम्मान एकैपटक आएका छन्’, उनले भने । गाईपालनको पृष्ठभूमि उनको बाल्यकालीन कृषि जीवन थियो । पर्वतमा जन्मिएका पौडेलका बाबुआमाको पेशा खेतीकिसानी थियो ।

गाईपालनअघि पौडेल स्थायी शिक्षक थिए । रूपन्देहीको तिलोत्तमा कोटिहवाका पौडेलले स्थानीय जनजागृति माविमा पढाए । शिक्षक रहँदारहँदै उनलाई अमेरिका जाने अवसर मिल्यो । कति नेपालीले ‘सपनाको देश’ मान्ने अमेरिकाको भिसा लाग्दा उनमा पनि खुसीको सीमा थिएन । अमेरिकामै केही व्यवसाय गर्छु भन्ने सोच नभएको होइन । ‘तर मैले त्यहाँ त्यस्तो अवसर केही देखिनँ, केही समयमै स्वदेश फर्किएँ’, उनले विगत सुनाए ।

अमेरिकाको भ्रमणपछि नै उनी गाईफर्म सञ्चालन गर्ने निर्णयमा पुगे । टिकुलीगढमा २० बिगाहा जमिनको व्यवस्थापन गरे । केही निजी र केही लिजमा लिएको जमिनमा करिब एक करोड लागतमा गाई फर्म बन्यो । लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च सेन्टरको नाममा दर्ता भएको फर्ममा अहिले झन्डै साढे चार सय गाई छन् । लगानी १५ करोड पुगेको छ । जमिनसँगैको लगानी एक अर्ब ।

पौडेलले राम्रो पैसा कमाइ हुने पेशा, व्यवसाय छाडेर गाई पाल्न सुरु गर्दा छिमेकी अचम्मित थिए । धेरैले उनलाई पैसा डुबाउने काम थालिस् पनि भने । तर उनले हिम्मत हारेनन् । उनलाई आँट थियो, एक दिन नमुना किसान बनेर धेरैलाई दूध खुवाउँछु । अन्ततः सोचेजस्तै उनले सफलता हात पारे ।

साढे चार सय गाईमध्ये अधिकांश दुहुना छन् । केही ब्याउने तर्खरमा छन् । फर्ममा ३२ जनाले रोजगारी पाएका छन् । उनीहरू दुहिने, दूध बिक्री गर्ने र गाई स्याहार्ने काम गर्छन् । घाँसखेती गरिएको छ । रूपन्देहीमा पहिलो पटक गाई दुहुने मेसिन पनि पौडेलले नै भिœयाएका हुन् । मेसिनले दुहेको दूध सिधै भाँडोमा खस्छ, भाँडोबाट सिधै उपभोक्ताको घरमा ।

अचम्म के छ भने पौडेलले फर्मका गाईलाई दाम्लोले बाँध्दैनन् । तारबारमा घेरिएको ठूलो क्षेत्रमा गाई घुम्ने बनाइएको छ । पानी पर्दा ओत लाग्ने फर्म छ । दुहुने समय भएपछि गाई आफै लाइनमा उभिन्छन् ।

‘बिहान र साँझपख गाई लाइन लाग्न थाल्छन, काम गर्नेले दुहुन बिर्सेला तर गाईले भुल्दैनन्’, पौडेलले भने, ‘मेसिन राखिएको छेउमै पुग्छन्, दुहेपछि आफै जान्छन् । न कसैले धपाउन पर्छ, न दाम्लोमै बाँध्नुपर्छ ।’

कहिलेकाहीं कतिपय बिरामी बाहेक नौ वर्षसम्म कुनै पनि गाईलाई दाम्लो लगाउन परेको छैन । उनको फर्म अमेरिकी ब्रिडका जर्सी र होलिस्टेन फ्रिजिएन जातका गाईबाट सुरु भएको थियो । अहिले पनि उन्नत जातकै गाईपालनमा उनको ध्यान छ ।

गाईको कल्चौंडोबाट सिधै भाँडोमा दूध खस्ने भएकाले गुणस्तरीयतामा प्रश्न उठ्ने कुरै भएन । गुणस्तरीय दूध उत्पादनमा उनले कहिल्यै सम्झौता गरेनन् । ‘व्यवसाय गर्नु मात्रै होइन, इमान्दार बन्नु अझ महŒवपूर्ण कुरा हो’, उनी भन्छन्, ‘गाईपालन, दूध उत्पादन, रोजगारी, बिजुली उत्पादनको काम एकै स्थानबाट गरिरहेको छु ।’

फर्ममा संकलन हुने दैनिक दुई हजार लिटर दूध रूपन्देहीकै बुटवल र भैरहवामा खपत हुन्छ । बाँकी दूध ठूला डेरीहरूले बाहिरसमेत लैजान्छन् ।

गाईको गोबरबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिएको छ । फर्मलाई आवश्यक विद्युत्को जोहो समेत उनी आफै गर्छन् । गोबर ग्यास आगो बाल्न मात्रै होइन, बिजुली बाल्न पनि उत्तिकै काम लागेको छ ।

दूध बिक्रीबाटै करिब एक लाख दैनिक आम्दानी हुन्छ । त्यही आम्दानीबाट घाँस, पराल, फर्मको खर्च व्यवस्थापन गर्छन् । दूध तथा गोबर बिक्रीबाट उनी करिब दश लाखसम्म मासिक आम्दानी गर्छन् ।

उनको फर्ममा १५ करोड जति नगद लगानी छ । जग्गासहितको लगानी एक अर्ब पुगिसक्यो । फर्मबाट उनले गाई समेत बिक्री गर्छन् ।

गोबरबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिसकेका पौडेलले साढे सात सय किलोवाट विद्युत उत्पादनको योजना बनाएका छन् । गाईकै गोबरबाट यो सम्भव भएकाले उनले संरचना निर्माण सुरु गरेका हुन् । केही महिनाभित्रै तीन सय किलोवाट बिजुली उत्पादन गर्ने उनले बताए ।

विद्युत् उत्पादनसँगै डेरीजन्य परिकार उत्पादन पनि उनको अर्को योजना हो । ‘गाई पालेर मात्रै होइन, यसलाई बहुउपयोगी फर्मका रूपमा विकास गर्दैछु’, उनले भने । यसका लागि इजरायली कम्पनीसँग साझेदारी गर्ने उनको योजना छ ।

व्यवस्थित पशु पालन थालेपछि पौडेल मुलुककै अगुवा किसानका रूपमा परिचित भए । दुई वटा पदक यही कर्मबाट पाए । रूपन्देहीमा पनि उनकै सिको गर्दै पशुपालन गर्नेहरू बढेका छन् । भन्छन्, ‘कृषिलाई निर्वाहमुखीबाट व्यवसायीकरणमा रूपान्तरण गरौं ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :