२४ करोडको बेच्दा साढे दुई अर्बको किन्छ, अमेरिकालाई बेच्छ वार्षिक ११ करोडको चिज

यो समाचार 308 पटक पढिएको

काठमाडौं । खाद्य तथा गैरखाद्य सामग्रीमा नेपालको परनिरर्भरता बढ्दै गएको छ।

नेपालमा धेरै संभावना रहेका तथा कृषि तथा पशुपंक्षीको क्षेत्रमा पनि विदेशको भर नपरी माग धान्न नसकिने अवस्था देखिएको छ। पछिल्लो एक वर्षमा नेपालमा दूध तथा दुग्धजन्य परिकारको आयात करिब साढे दुई अर्ब रुपैयाँ पुगेको छ। तथ्यांक विभागको तथ्यांकले आर्थिक वर्ष २०७४/०७५ मा दुई अर्ब ४४ करोड रुपैयाँको दूध तथा दुग्धजन्य सामग्रीको आयात देखाए पनि व्यवसायीहरू भने साढे तीन अर्ब रुपैयाँ बढीको यस्ता सामग्री आउने बताउँछन्।

‘वैधानिक रूपमा आउने दूध तथा दुग्धजन्य पदार्थ साढे दुई अर्बको होला, यसको २५ प्रतिशतभन्दा बढी भन्सार छली भएर आउने गरेको छ। हाम्रो तथ्यांकअनुसार साढे तीन अर्ब रुपैयाँ बढीको आयात भएको देखिन्छ’, नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दहालले भने। अहिले नेपालले १५ लाख ५७ हजार लिटर दूध आयात गरेको छ भने ४८ लाख ७५ हजार किलो पाउडर (धुलो) दूध आयात गरेको छ। एक लाख ७० हजार किलो दूधबाट बनेको मिठाई आयात गरेको छ। तीन लाख २६ हजार किलो घिउ आयात गरेको छ। तीन लाख २६ हजार किलोमध्ये तीन लाख १८ हजार किलो भारतबाट घिउ आयात गरेको नेपालले थाइल्याण्डबाट भने एक किलो घिउ आयात गरेको छ।

तीन किलो दहीको २३ हजार

नेपालले गत आर्थिक वर्षमा तीन किलो दही आयात गरेको छ। शुद्ध तीन किलो दही नै थाइल्याण्डबाट आयात गरिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। यसको मूल्य भने दूध तथा दुग्धजन्य अन्य परिकारको तुलनामा निकै महँगो छ। एक किलो दहीको मूल्य झन्डै साढे सात हजार रुपैयाँ परेको छ। भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार थाइल्याण्डबाट तीन किलो दहीको आयात गरिएकामा सात हजार रुपैयाँ भन्सार शुल्क उठेको छ भने २३ हजार आयात मूल्य राखिएको छ।

मूल्यको हिसाबले आयात भएको दूध तथा दुग्धजन्य सामग्रीमा सबैभन्दा बढी धुलो दूध आयात भएको छ। यस आर्थिक वर्ष २०७४/०७५ मा यस्तो दूध एक अर्ब ७१ करोड रुपैयाँ बराबरको आयात भएको छ।

न्यून निर्यात चिजमा प्रतिस्पर्धा

विदेशी बजारबाट आयात भएको तुलनामा दूध तथा दुग्धजन्य पदार्थमा चिजबाहेक अन्य भने नगण्य मात्रै रहेको छ। १४ करोड रुपैयाँको चिज आयात गरेको नेपालले १३ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ, जसमा ११ करोड तीन हजार रुपैयाँ बराबरको चिज अमेरिका मात्रै पठाएको छ। दूध तथा दुग्धजन्य सामग्रीमा आयातको तुलनामा निर्यात जम्मा ११ प्रतिशत रहेको छ। नेपालले २८ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात गरेकोमा चिजको योगदान ४६ प्रतिशत रहेको छ।

चिजको बजार अझै बढाउँदै प्रमुख निर्यातजन्य सामग्रीको रूपमा पुर्‍याउन सकिने बताउँछन् डेरी एसोसिएसनका महासचिव दाहाल। ‘मागको तुलनामा हामीले चिज निकै कम मात्रै पठाउन सकेका छौँ। हाम्रो गुणस्तर कायम गरेर मागअनुसारको उत्पादन गर्न सक्दा प्रमुख निर्यात सामग्रीको रूपमा अघि बढाउन सकिन्छ’, दाहालले भने। दूध तथा दुग्धजन्य सामग्रीको आयात बढ्नुमा सयमअनुसारको मागमा व्यवसायी चुक्नु र सरकारको नीतिले सहयोग नपुग्नु रहेको दाहालको भनाइ छ। ‘हामीले उत्पादन त बढाउँदै गएका छौँ तर निश्‍चित समयमा चाहिने धेरै दूध हामीले पुर्‍याउन सक्दैनौँ’, दाहालले भने, ‘सरकारको भन्सार नीतिले पनि आयातीत सामग्रीलाई प्रवर्द्धन गर्नेछ।’  नेपाली एक किलो घिउको मूल्य ९०० रुपैयाँ भएको तर कम भन्सार हुँदा भारतबाट आउने घिउ यहाँभन्दा सस्तो हुने दाहालले बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :