किसान उकास्दै दुग्ध सहकारी

यो समाचार 333 पटक पढिएको

इटहरी । धनकुटा छथर जोरपाटीकी विनुमाया नेपालीले डेढ घण्टा दूधको ट्यामी नाम्लोमा बोकेर हिड्छिन्।

गाविस कार्यालय अगाडि हाइवे छेउमै रहेको कामधेनु दूध डेरीको दूध संकलन केन्द्रमा उनले आफ्नो घर र छिमेकमा उत्पादित दूध बोकेर ल्याउँछिन्। त्यसबापत उनले लिटरको ६ रुपैयाँ ढुवानी खर्च लिन्छिन्। ‘महिनाको १०–१२ हजार रुपैयाँ हुन्छ।’

उनका श्रीमान्ले अर्को बिहे गरेको १२ वर्ष भयो। दुई छोरीमध्ये एकजनाको बिहे भइसकेको छ। आमाछोरी मात्र रहेको परिवारमा खेतीपातीले दैनिक गर्जो टार्ने समस्या थियो। दूध संकलन केन्द्रले आम्दानीको स्रोत थपिदिएको छ। घरमै पालेको गाईको दूध बेचेर पनि थप पैसा कमाउँछिन्।

जोरपाटीको उक्त संकलन केन्द्रले चीजसमेत उत्पादन गर्छ। धेरै भएको दूध इटहरीस्थित कारखाना पठाउँछ। चीजमेन कर्ज राईकाअनुसार विनुमायाले डेढ घण्टा बोकेर ल्याएको दूधबाट बनाएको चीज काठमाडौंसम्म पुग्छ। उनले दूध बोकिदिँदा छिमेकीहरूले दूध बेच्न पाएका छन् भने कामधेनुलाई पनि आवश्यक कच्चा पदार्थको आपूर्ति भएको छ।

पूर्वमा १० हजार बढी किसानहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएको इटहरीस्थित कामधेनु दुग्ध उत्पादन सहकारी संस्थाले किसानबाट दूध खरिद गर्छ। संस्थाको आफ्नै १० हजार लिटर दूध प्रशोधन गर्ने उद्योगसमेत छ भने २५ हजार लिटर दूध प्रशोधनका लागि नयाँ उद्योग निर्माण भइरहेको छ। २० करोडको लगानीमा निर्माण भइरहेको उद्योगमा सामान्य किसानको समेत लगानी छ। पूर्वका ५८ वटा कृषि सहकारीले कामधेनुको सेयर किनेका छन्। ती सबै सहकारीका सदस्यहरू कामधेनुको सेयर रकमलाई कामधेनुको प्रगतीले बढाउँछ।

उक्त संस्थाले दूधको किनबेच र प्रशोधन मात्रै गर्दैन, किसानलाई गाईपालन, घाँस उत्पादनमा समेत प्रोत्साहित गर्छ। ‘बढीभन्दा बढी दूध आपूर्तिका लागि किसानलाई प्रोत्साहित गर्नु आवश्यक छ,’ संस्थाका सञ्चालक समिति सदस्य लोचन पौडेलले भने, ‘किसान समस्यामुक्त भए भने हामीलाई फाइदा हुन्छ।’

सहकारीले किसानलाई ऋणको जोहो गरिदिएर पनि सहयोग गर्दै आएको छ। संस्थागत सहयोग पाएका किसानले राम्रो आर्थिक उन्नति समेत गरेका छन्। कामधेनुको सेयर सदस्यसमेत रहेका मोरङको बनिगामाका किसान यादव ढकाल पाँच वर्षयता दूध र घाँसको व्यावसायिक उत्पादनमा सक्रिय छन्। पाँच वर्षअघि स्थानीय दुग्ध उत्पादक सहकारी संस्थाको सदस्य बनेका उनको गाईफर्मबाट दैनिक दुई सय लिटर दूध उत्पादन हुन्छ।

सहकारी संस्थाले दूधको किनबेच, प्रशोधन र किसानलाई गाईपालन तथा घाँस उत्पादनमा प्रोत्साहित गर्दै आएको छ।

त्यतिमात्र होइन, घाँससमेत खेती गर्छन् उनी। ठाउँठाउँमा घाँस खेती गर्ने तरिका सिकाएर किसानलाई प्रोत्साहितसमेत गर्छन्। ‘किसानलाई केही बिरुवा सित्तैमा दिएर घाँस खेतीका लागि प्रशिक्षण दिन्छु,’ उनी भन्छन्, ‘पशुपंक्षीलाई घाँसजस्तो राम्रो केही हुन्न, चोकर र दानाभन्दा सस्तो पनि पर्छ।’ उनले गाईको मलमुत्रलाई घाँस खेतीमा मलको रुपमा प्रयोग गरेका छन्।

उनी अहिले सामान्य किसानका लागि प्रेरणा बनेका छन्। किसानहरू उनको गोठ र गाईपालन हेर्न आउँछन्। कृषिको व्यावसायीकरणका लागि कामधेनु सहकारीले सहयोग गरेको उनी बताउँछन्। कामधेनुले २५ लाख रुपैयाँ ६ प्रतिशत ब्याजदरमा ऋण दिलाइदिएको छ। यो पैसाले आफूलाई लगानी थप्न सहज भएको उनको भनाइ छ। यो रकम स्रोत किसानलाई गाईको संख्या २५ पु¥याउन निश्चित शर्तहरू पूरा गरेको खण्डमा दिइने संस्थाका अध्यक्ष टीका ओझाले जानकारी दिए।

‘किसानलाई गाईपालनमा प्रोत्साहन गर्न सुलभ दरमा ऋण कामधेनु सहकारीमार्फत दिइएको हो’, उनले भने, ‘यसरी सुविधा पाउने किसानले अरु किसानलाई समेत सहयोग गर्छन्।’ ऋण लिने हैसियतमा पुग्नलाई निकै ठूलो मेहेनत र लगाव चाहिन्छ। यस्तै लगाव धनकुटाको सिधुवाका भरत गुरुङमा समेत छ। जसले इटहरी र धरानमा किनेको जग्गा बेचेर पहाडको पाखोमा गाईपालनका लागि खन्याएका छन्।

६ वर्ष विदेश बसेर फर्कने बेलामा उनको मासिक तलब ५० हजार रुपैयाँ पुगेको थियो। तर उनले पछि स्वदेश फर्किएर गाईपालन थाले। नेपाल फर्केर गाईपालन गर्न थालेको पाँच वर्षपछि अहिले उनी आफैं सात जना कर्मचारीलाई तलब दिने हैसियतमा पुगेका छन्।

चारवटा गाईबाट सुरु गरेका उनको गोठमा भरीभराउ ३० वटाभन्दा बढी गाई छन्। उत्पादन हुने दुई सय लिटर दूध बेच्न उनको आफ्नै ट्यांकर, पिकअप भेन छ। कतै जानुपर्दा उनी आफ्नै भेनमा हिडडुल गर्छन्।

गाईको दूधसँगै घाँस पनि उत्पादन गर्छन् र बेच्छन्। उनको कामप्रतिको लगाव र प्रगति देखेरै कामधेनु सहकारीले उनलाई सिधुवाका किसानको दूध संकलनको समेत जिम्मा दिएको छ। उनले थप लगानी विस्तार र आम्दानी गर्न सकेका छन्।

यति लगानी र जोखिम मोलेर गरिएको गाईपालनलाई सरकारले उपयुक्त नीति बनाएर सहयोग गर्नुपर्ने किसानको माग छ। ‘भारतबाट आइरहेको पाउडर दूध बन्द गर्नुपर्छ र नेपालमै प्रशोधन उद्योगलाई बढावा दिनुपर्छ’, गुरुङ भन्छन्, ‘त्यस्तै खुला दूधलाई निरुत्साहित गरी पाश्चराइज गरिएको दूधलाई प्रवद्र्धन गरेमात्र सहकारी, दुग्ध संकलन केन्द्र, किसान सबैलाई राम्रो हुन्छ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :