हल्लाले दूधको कारोबार ३० प्रतिशतले घट्यो

यो समाचार 300 पटक पढिएको

काठमाडौं । दूधको समग्र कारोबारमा करिब ३० प्रतिशतले कमी आएको छ । स्वास्थ्यका लागि निक्कै पोषिलो आहारा मानिने दूधमा पछिल्लो समयमा युरिया, साबुन र नुन पाइएको हल्ला आएपछि उपभोक्ताले दूध उपभोग गर्न छाडेका कारण दूधको समग्र कारोबारमा करिब ३० प्रतिशतले कमी आएको हो ।

३० प्रतिशतका दरले देशभर गरी अहिले एक लाख लिटर दूधको बिक्री कम भएको छ ।

सरकारसँग अनुमति लिएर सञ्चालनमा रहेका सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) सहित नीजि क्षेत्रबाट उत्पादित दूधको कारोबारमा कमी आएको हो । आधिकारिक निकायको पुष्टि बिना हल्लाको भरमा उपभोक्ताले प्रशोधित दूध रुचाउन छाडेका कारण डेरी उद्योगको बजार पनि अहिले खुम्चिएको छ । सरकारी अनुमतिमा सञ्चालन भइरहेका उद्योगको बजार हिस्सा घटिरहँदा अर्को तर्फ सरकारको नीतिभन्दा बाहिर छाडा रुपमा सञ्चालन भइरहेका पोके दूधको कारोबार भने बृद्धि भएको छ ।

केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले भ्रमपूर्ण हल्लाका कारण उपभोक्ताले दूध सेवन गर्न बन्द गर्दा देशभरी नै दूधको कारोबारमा करिब ३० प्रतिशतले बजार घटेको जानकारी दिए । उनकाअनुसार ३० प्रतिशतका दरले देशभर गरी अहिले एक लाख लिटर दूधको बिक्री कम भएको छ । उनकाअनुसार नेपाली किसानले उत्पादन गरेको दूधमा आजसम्म युरिया, सरसफाई गर्न प्रयोग गर्ने साबुन र नुनको प्रयोग भएको फेला नपरेको दावी गरे ।

‘हामी पनि करिब दैनिक रुपमा दूधको गुणस्तर परीक्षण गरी संकलन गर्छौ, हामीले गरेको परीक्षणको क्रममा पनि हालसम्म स्वदेशी दूधमा युरिया, साबुन र नुन मिसाइएको फेला पारेका छैनौं,’ देवकोटाले भने,‘नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले पनि नियमित र आकस्मिक रुपमा गर्ने अनुगमनको क्रममा पनि यस्ता अखाद्य तत्व दूधमा मिसावट भएको फेला पारेको छैंन् । नभएको बिषयलाई भ्रमपूर्ण सन्देश जाने गरी आएको हल्लाका कारण अहिले समग्र दुग्ध क्षेत्रले ठूलो घाटा व्यहोरेको छ ।’

आधिकारिक रुपमा पुष्टि नगराई उपत्यकाका ठूला विद्यालयहरुले समेत भ्रमपूर्ण हल्लाका पछि लागेर विद्यार्थीका अभिभावकहरुलाई दूध सेवन नगराउन पत्राचार गरेको छ । उपत्यका केही विद्यालयहरुले हालै अभिभावकहरुलाई पत्राचार गरी दूधमा अखाद्य पदार्थ मिसावट गरेको भेटिएको उल्लेख गर्दै आफ्ना छोराछोरीलाई दूध सेवन नगराउन आग्रह गरेका छन् ।

देशभर दैनिक अहिले करिब ४९ लाख लिटर दूध उत्पादन हुन्छ । यसमध्ये राज्यको दायराभित्र रहेर सञ्चालन भइरहेका सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) सहित नीजि क्षेत्रका ठूला प्रशोधन उद्योगले (औपचारिक क्षेत्रमा) १५ प्रतिशतका दरले सात लाख ३० हजार दूध उपभोग गर्छ । बाँकी ३५ प्रतिशतका दरले साढे १७ लाख लिटर प्रशोधन बिना नै (किसानबाट संकलित दूध सोझै उपभोक्तालाई बिक्री) अनौपचारिक क्षेत्र स–साना टोले पोके दूध पसल, गाउँघर, होटेल, रेष्टुँरालगायतमा उपभोग हुन्छ । बाँकी रहेको करिब ५० प्रतिशतका दरले २४ लाख लिटर लिटर उत्पादन गर्ने किसानले स्वयम प्रयोग गर्दैआएका छन् । औपचारिक क्षेत्रबाट बिक्री भइरहेको कूल दूधको परिमाणमध्ये अहिले दैनिक करिब एक लाख लिटर कम बिक्री भइरहेको छ ।

नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाकाअनुसार औपचारिक क्षेत्रमा जाने दूधको कूल कारोबारमा करिब ३० प्रतिशतले कमी आएको हो । यो क्षेत्रमार्फत दैनिक रुपमा सात लाख ३० हजार लिटरको हाराहारीमा कारोबार भइरहँदा पछिल्लो समयमा आएको भ्रमपूर्ण हल्लाका कारण अहिले दैनिक करिब ६ लाख लिटर मात्रै दूधको कारोबार भइरहेको छ ।

सापकोटाले भने,‘बाँकी सरकारी र नीजि क्षेत्रका ठूला र मध्यम डेरीका गरी करिब एक लाख लिटर बिक्री हुन नसकेर उद्योगमै फिर्ता आइरहेको छ । दूध फिर्ता हुने क्रम दिनहुँ दोहोरिएपछि उद्योगीहरुले अहिले किसानबाट पनि दूध लिने परिमाण पनि घटाएका छन् ।’

एशोसिएसनका अनुसार नीजि क्षेत्रको सबैभन्दा ठूलो दूध उद्योग सिताराम दूध उद्योगले पनि दैनिक १० हजार लिटर कम परिमाणमा बजारमा दूध पठाउन थालेको छ । पहिले झण्डै ३० देखि ३५ हजार लिटर दूध बिक्री गर्ने सितारामले अहिले दैनिक २० हजार लिटरमा खुम्चिनुपरेको छ । डीडीसीका निमित्त महाप्रवन्धक ईश्वरीराज न्योपानेले भ्रमपूर्ण हल्लाका कारण डीडीसीले पनि दैनिक २० हजार लिटर दूधको बजार गुमाएको छ । आफु दूग्ध क्षेत्रमा काम गरेको झण्डै २२ बर्षको इतिहासमा नसुनेको भ्रमपूर्ण बिषयबस्तु जोडेर आएको हल्लाले समग्र दुग्ध क्षेत्र धरासायी भएको न्योपानेले बताए ।

उनकाअनुसार डीडीसीले पहिले दैनिक एक लाख लिटर दूध बिक्री गर्दैआएको थियो । अहिले ८० हजार लिटर मात्रै बिक्री गर्दैआएको बताउँदै न्यापानेले भने,‘हल्लाको भरमा लाग्दा उपभोक्ताले उपभोग दर घटाएपछि अहिले दैनिक रुपमा हाम्रै २० हजार लिटर दूध बजारबाट फिर्ता आइरहेको छ ।’

कम उत्पादन हुने सिजनमै यो बर्ष दूधको मिल्क होलिडे सुरु हुँदा अहिले सात जिल्लाबाट कूल संकलन हुने दूधको परिमाणमध्ये झण्डै ५० हजार लिटर दूध उठाउन बन्द गरेका छन् । यही अवस्थामा दूधमा युरिया, साबुन, नुनलगायतका अखाद्य बस्तु मिसाइएको भनेर आएको भ्रमपूर्ण हल्लाका कारण दुग्ध क्षेत्रलाई थप धरासायी बनाउन सहयोग गरेको डेरी उद्योग संघका अध्यक्ष अरनिकोराज भण्डारीले बताए ।

उनकाअनुसार दुग्ध क्षेत्रमा सरकारी र नीजिको गरी करिब १७ अर्बभन्दा बढीको लगानी छ । यो क्षेत्रमा किसान तहका चार लाख ५० हजार र उद्योग तहमा २० हजारले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । भण्डारीकाअनुसार सरकारले मूल्य श्रृख्लामा आधारित दुग्ध क्षेत्रको सबै तहमा नियमन नगरी सबै दोष उद्योगलाई मात्रै दोष दिएको आरोप लगाए । दूध उत्पादन हुने किसान तह, संकलन तह र ढुवानी तह मा बैज्ञानिक रुपमा नियमन नगरी सम्पूर्ण दोष उद्योगलाई दिनु जायज नभएको भण्डारीले जानकारी दिए ।

‘कसले कुन कुन मापदण्डलाई अनिवार्य रुपमा पालना गर्नुपर्छ भनेर किसान तह,  संकलन तह,  ढुवानी तह,  उद्योग तह र कच्चा दूधको हकमा विश्वभर प्रचलन रहेका बैज्ञानिक आधारमा खाद्य विभागले छुट्टाछुट्टै आचारसंहिता तयार पारेर कार्यान्वयनमा ल्याउनुपर्छ,’ भण्डारीले भने,‘यस्तो आचारसंहिता पालना नगर्ने तत् तहका सरोकारवालालाई कारवाही गर्दा कसैको पनि चित्त दुख्दैंन् ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :