‘पशुपालन आर्थिक समृद्धिको पाटो’ : सभामुख महरा

यो समाचार 916 पटक पढिएको

काठमाडौं । सभामुख कृष्णबहादुर महराले पशुपालन क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताएका छन् । नेपाल भेटेरीनरी एसोसिएसन नेपालको १३औं राष्ट्रिय सम्मेलनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा आधारित रहेको भन्दै सभामुख महराले कृषि क्षेत्र पशुपालन र भेटेरीनरी सेवासँग अभिन्न रूपमा गाँसिएको बताए । ‘नेपालको जनसंख्याको ठूलो हिस्सा कृषि पेसामा आधारित रहेको छ,’ उनले भने, ‘कृषि क्षेत्र पशुपालनसँग अभिन्न रूपमा गाँसिएको छ ।’

भेटेरीनरी एसोसिएसनले ५० वर्षको यात्रा पूरा गरेकोमा बधाई दिँदै सभामुख महराले देशको आर्थिक मेरुदण्डको एउटा पाटोका रूपमा संस्थाले गरिरहेको काम र सेवाको निरन्तरताका लागि आग्रहसमेत गरे ।

३० वर्षअघि आफू पनि किसान भएको स्मरण गर्दै सभामुख महराले आफूले रोल्पामा कल्याण गाईपालन समूह खोलेर पशुपालन सुरु गरेको बताए । असल किसान बन्ने विगतको सपना अहिले सम्झिरहेको बताउँदै सभामुख महराले भने, ‘पशुपालन क्षेत्रमा केही राम्रो काम गर्ने र उन्नत गाउँ विकास गर्ने हाम्रो सपना थियो, परिस्थितिले म यहाँ आइपुगें, अहिले त्यो सपना सम्झिरहेको छु ।’ भेटेरीनरी सेवालाई आमकिसानको पहुँचसम्म पु¥याउन र सर्वसुलभ बनाउन राज्यले विशेष ध्यान दिनुपर्ने सभामुख महराको भनाइ थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :