सामुहिक गाईपालनले उकास्यो जीवन स्तर, भ्यालु चेनमा आधारित उत्पादन

यो समाचार 259 पटक पढिएको

महोत्तरी । बर्दिबासबाट २० किलोमिटर जंगलको बाटो हिँडेपछि पुगिन्छ महोत्तरीको विकट गाउँ खयरमारा। खयरमाराका ३२ वर्षीय किशोर पौडेल र ३१ वर्षीय गोपी श्रेष्ठले धेरैजसो समय गाईको स्याहारसुसारमा बिताउँछन्। उनीहरूले सम्युक्त लगानीमा गाईपालन सुरु गरेका हुन्। राधाकृष्ण गाई फर्म स्थापनापछि दूध बिक्री गरेर भएको आम्दानीले अहिले उनीहरू सन्तुष्ट छन्।

समाजशास्त्रमा स्नातकोत्तर गरेका किशोर ६ वर्षअघि काठमाडौंबाट गाउँ फर्किए। गाउँलाई कृषिमा आत्मनिभर बनाउन उनले किसानलाई संगठित गरे। राधाकृष्ण बचत तथा सहकारी संस्था खोले। तीन वर्षसम्म सहकारीको व्यवस्थापक भएर काम गरे।

सहरकारीबाट बचेको समय कक्षा १० सम्म पढेका गाउँकै साथी गोपीसँग मिलेर उनले किसानबाट दूध संकलन गरेर बजार पठाउन थाले। दैनिक तीन सय लिटर दूध संकलन गरेर बजार पठाउँदा उनलाई सोचेभन्दा राम्रो फाइदा भयो। उनले दूध उत्पादनका लागि गाई पाल्ने सपना देख्न थाले।

खयरमाराका गाईभैंसीपालक किसानले उत्पादन गरेको दूध बिक्री नभएको समयमा जोखिम मोलेर उनले गाउँमै दूध डेरी सञ्चालन गरे। किसानलाई गाईभैंसीपालनमा सहयोग गरे। संकलित दूध उनले जानकी डेरी उद्योग जनकपुरसम्म पुर्‍याए। यातायात, सडक, खानेपानी, भौतिक पूर्वाधारबाट पछि परेको चुरेको काँखमा अवस्थित खयरमाराका किसानको दिनचर्या गाई भैंसीपालनले फेरिन थाल्यो। किसानको मन जितेर उनी सबैका लागि उदाहरण पनि बने। पछि आफ्नै गाई फार्म सञ्चालन गर्ने योजना बनाए।

जीवन विकास नामक संस्था दर्ता गरेर उनले २०७२ सालमा पाँच लाख ऋण लिए। किशोर र गोपीले सहकारीमा बचत गरेको र साथीभाइसँग ऋण धन गरेर सात लाख जुटाई गोठ गाई गोठ बनाए। बाराको डुमरबन्नाबाट ‘होलेस्टेन’जातका पाँचवटा गाई र उन्नत जातका तीनवटा भैंसी किनेर ल्याए।

तीस कठ्ठा जमिन वार्षिक तीस हजारमा ठेक्कामा लिए र सुरु गरे आफ्नै गाई फर्म। दुई वर्ष अघिदेखि सुरु गरेको गाई फर्ममा अहिले २१ वटा गाई, एउटा भैंसी, १३ वटा बाच्छी, दुईवटा बाच्छा गरेर ३७ वटा वस्तुभाउ छन्।

उनको फर्मबाट दैनिक ६० लिटर दूध उत्पादन हुन्छ। कृषि विकास बैंक बर्दिबासबाट उनले ११ लाख ऋण पाएका छन्। फर्मलाई विस्तार गर्न सफल भएका छन्।

यातायात, सडक, खानेपानी, भौतिक पूर्वाधारबाट पछि परेको चुरेको काँखमा अवस्थित खयरमाराका किसानको दिनचर्या पशुपालनले फिरेको छ।

गाईपालन सँगसँगै किशोर र गोपीले कुुखुरापालनमा पनि हात हालेका छन्। २०७३ चैतयता अन्डा उत्पादनका लागि उनीहरूले दुई हजार लेयर्स कुखुरा पालेका छन्। चार महिनादेखि कुखुराले आम्दानी दिइरहेका छन्। साढे ११ हजार रुपैयाँ बराबरका अन्डा दैनिक रूपमा बिक्री हुने गरेको उनी बताउँछन्।

दूध र अन्य सामग्री खरिदबिक्री गर्न सहज होस् भनेर उनीहरूले १३ लाखमा पिकअप भ्यान पनि खरिद गरेका छन्। गाउँबाट डेरीमा संकलित दुई सय ५० लिटर दूध, आफ्नो फर्मको उत्पादन र अन्डा दैनिक बर्दिबास, लालबन्दी, धारापानी, हरिवनलगायत स्थानमा पठाइने गरिएको गोपीले बताए। ‘गाउँबाट बजार पुग्न खोलामा पुल छैन। राम्रो बाटो छैन। फाइदाको अधिक भाग ढुवानीमा खर्च हुन्छ’, उनले भने।

घरमै चिलिङ भ्याट राखेर साँझको दूध पनि संकलन गरी बजार पठाउने गरेको उनले बताए। चार वर्षको अन्तरालमा ४१ लाख ६ हजार दुई सय ५० रुपैयाँको दूध खरिद गरेर किसानको आर्थिक अवस्था बलियो बनाउन किशोर र गोपीले सहयोग पु¥याएका छन्। आफ्नो फर्मबाट मात्रै दूध बिक्री गरेर वार्षिक नौ लाख जति नाफा भएको उनले बताए।

चार महिनामा कुखुरा फर्मबाट पाँच लाख ७१ हजार पाँच सय २० वटा अण्डा उत्पादनबाट उनीहरूले ५७ लाख १५ हजार दुई सय रुपैयाँ आम्दानी गरे। २५ लाख रुपैयाँ खर्चबापत कटाएर ३० लाखभन्दा बढी बचत भएको किशोरले बताए। फर्म र उनीहरूको कर्मले गाउँका एक सयभन्दा बढीलाई प्रत्यक्ष फाइदा पुगेको उनीहरूको भनाइ छ।

दूधबाट बनाइने आइसक्रिम, मिल्कसेक, केकजस्ता चिज उत्पादन गर्न उनीहरूले राधाकृष्ण फुड एन्ड बिभरेज पसल दर्ता गराएका छन्। त्यसको लागि उनीहरूले ३० लाख रुपैयाँ लगानी गरिसकेका छन्। केही दिनमै दूधबाट उत्पादित चिजवस्तु बजार पठाइने उनीहरूले बताए।

गाईपालनका लागि वार्षिक चार लाखको पराल, एक लाखको गहुँको भुसा, चार लाखको दाना खरिद गर्ने गरेका छन्। दुई वर्षमा बचत भएको रकम उनीहरूले गाई फर्म विस्तारमै लगानी गरेका छन्। अब अर्को वर्षदेखि उनीहरूले गाई फर्म सञ्चालन गर्नेलाई आफ्नो फर्ममा बढी भएका गाई बिक्री गर्दा पनि राम्रो आम्दानी हुने किशोरले बताए।

नयाँ फर्म सञ्चालन गर्नेलाई गाई बिक्री गर्दा त्यसबाट वार्षिक १० लाख चोखो आम्दानी हुने र त्यो बचत हुने उनले बताए। गाईको मलमुत्र संकलन गरेर जैविक विषादी उत्पादन गर्ने उनीहरूको योजना छ।

खयरमारामा खानेपानीको अभावले गाईका लागि सुक्खायाममा घाँस उत्पादनमा कमी हुँदा फर्म सञ्चालनमा समस्या हुँदै आएको छ। ‘अर्काको देशमा पसिना बगाउन जानुभन्दा आफ्नै देशमा बगाएको पसिनाले देश समृद्ध बन्छ’, गोपी र किशोरले एकै स्वरमा भने, ‘त्यसका लागि सरकारले कृषि क्षेत्रमा योजनाबद्ध काम गर्नु पर्छ। युवालाई कृषिमै प्रेरित गर्नु पर्छ।’

करोडौंको लागतमा गाई फर्म

महोत्तरीको बर्दिबास नगरपालिकास्थित हात्तीलेटको विजयबस्तीनजिकै पाँच जना युवाले एक करोड ३५ लाख रुपैयाँ लगानी गरी गाई फर्म सुरु गरेका छन्। बिजलपुराका स्थानीय ओमप्रकाश लुंगेली मगर, वीरेन्द्र महतो, हात्तीलेटका राजनारायण महतो, सत्यनारायण महतो र बर्दिबासका दिलबहादुर किङरिङले सम्युक्त लगानीमा तीन महिना अघिदेखि गाईपालन थालेका हुन्। कक्षा १० पढेका युवादेखि स्नातक तहसम्मको अध्ययन गरेका युवा फर्ममा सहभागी छन्।

चितवनबाट होलेस्टेन जातका गाई ल्याएका छन्। फर्ममा २० वटा गाई ८ वटा बाच्छाबाच्छी र दुईवटा साँढे पनि छन्। १२ वटा गाईले दैनिक ८० लिटर दूध दिन्छन्। फर्मबाट व्यापारीले दूध किनेर लैजान्छन्। अरु गाई ल्याउने तरखरमा उनीहरू छन्। प्रगतिशील गाईपालन समूह गठन गरेर फरक/फरक क्षेत्रका युवाले गाई फर्म खोलेका छन्।

२५ कठ्ठामा फैलिएको फर्ममा पालिएका गाईका लागि सिजनमा हुने डाले, लहरे र बन्सो घाँस लगाइएको छ। ५० लाख ऋण लिएर सुरु गरिएको फर्ममा गाईको स्याहारसुसारमा लागेका ओमप्रकाश लुंगेली मगरले गाईफर्ममा ६ जनालाई रोजगारी दिएको सुनाए।

कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गतको गाईपालन तथा दुग्ध उत्पादन उपआयोजनाको अनुदान र आफ्नो बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा सामूहिक र संस्थागत रुपमा गाईपालन सुरु गरिएको छ। फर्मकै हातामा वस्तुभाउका लागि पानी खुवाउन नयाँ इनार पनि खन्ने काम भइरहेको छ।

उनीहरूले फर्म परिसरमै चिलिङ भ्याट सञ्चालनका लागि भौतिक संरचना तयार गरेका छन्। दही, घ्यू, पनिर उत्पादनका लागि उनीहरूले उपकरण खरिद गर्न लागेका छन्।

तीन सय लिटर दूध दैनिक उत्पादन गर्ने लक्ष्य लिएका उनीहरूले प्रांगारिक मल उत्पादन गर्ने योजनामा छन्। अन्डा उत्पादनका लागि कुखुरापालन पनि गर्ने तयारीमा छन्।

मीठाई उत्पादन

महोत्तरी औरहीका दरेश यादव पनि चार बिघा क्षेत्रफलमा उन्नतजातका गाई राखी दूध बिक्री गरेर मनग्गे आम्दानी गर्दै आएका छन्। धनलक्ष्मी पशुपालन तथा कृषि व्यवसाय कम्पनीको स्थापना गरेर दुई वर्ष अघिदेखि उनले गाईपालन गर्दै आएका हुन्।

दुग्धजन्य उत्पादनको स्थानीय बजार आवश्यकता पूरा गर्न उनले डेढ करोड लगानी गरेर गाईपालन र दूध डेरी सञ्चालन गरे। दूध, दही, पनिर बिक्री गरेर दिनको ४०/५० हजारको व्यापार हुने गरेको दरेशले सुनाए।

उनको फर्ममा होलस्टेन जातका १७ वटा गाई र ३० वटा बाच्छी छन्। डेरी र गाई फर्ममा गरी नौ जनाले रोजगारी पाएका छन्। एक बिघा जग्गामा गाई फर्म र डेरी छ भने तीन बिघा जग्गा ठेक्का लिएर गाईको आहारका लागि घाँस लगाएका छन्।

सोनामाई, फुलबरिया, मेघरौल, औरही, चेपकटलगायत गाउँका पशुपालक किसानबाट दैनिक पाँच सय लिटर दूध संकलन गरिँदै आएको छ। गाउँमा दूध डेरी सञ्चालनमा आएपछि गाईभैंसीपालनतर्फ किसान आकर्षित भएको दरेशले बताए।

‘उत्पादन बिक्री गर्न बजारको अभाव छैन’, उनले भने, ‘बजारको माग पूरा गर्न हामीलाई गाह्रो छ। उत्पादन बढाउन काम गरिरहेका छौं।’ सरकारले ल्याएको पशुपालन कर्जा कार्यक्रमअन्तर्गत राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखाबाट एक करोड ऋण लिएर उनले फर्म सञ्चालन गरेका हुन्।

वैशाखदेखि फर्ममै एउटा सटरमा मीठाई, लस्सी, बिक्री वितरण गर्ने योजना रहेको उनले सुनाए। दरेशले गाई फर्म सञ्चालन गरेको देखेर गाउँका युवा पनि पशुपालनतर्फ आकर्षित भएको उनको भनाइ थियो।

किसानका लागि गौशाला

महोत्तरीको गौशालामा सहकारी विकास बोर्डको सहयोगमा व्यावसायिक गाईपालन गर्नेको संख्या ठूलो छ। नेपाल सरकारको लगानीमा गौशालास्थित १० बिघा क्षेत्रफलमा आधुनिक फर्म निर्माण गरिएको छ।

नौवटा गाई गोठ रहेको गाई गौशालासँग स्थानीय, होलेस्टेन जातका गरी दुई सय ६५ वटा गाई, बाच्छा र बाच्छी रहेको निमित्त व्यवस्थाक रामछविला रायले बताए। उन्नत जातका दुधालु गाईका बाच्छी वितरण गरी गौशालालाई दूध संकलन केन्द्रका रूपमा विकास गर्ने योजना नेपाल सरकारको रहेको उनले सुनाए।

दूध प्रशोधन गरेर उपभोक्ताको अवश्यकता पूरा गर्ने लक्ष्यसहित नेपाल सरकारको लगानीमा देशमै ठूलो संख्यामा गौशालामा गाईपालन गरिएको हो। फर्ममा पालिएका गाईको खुराकका लागि २२ बिघा जमिनमा नेपियर, जै, स्टाइलो जातको हरियो घाँसपात, पराल, गहुँको भुस राखिएको छ।

गाईको हेरचाहका लागि पशु चिकित्सक, गोबर सोहोर्न, दूध दुहुन, गौशाला व्यवस्थानका लागि २० जना कर्मचारी खटिएका छन्।

पशुपालनका लागि पशु विज्ञान कक्षा

बर्दिबास, माइस्थान, गौरीबास, किसाननगर, बिजलपुरा, गौशाला, औरहीलगायत क्षेत्रमा पशुपालनका लागि सुहाउँदो हावापानी, आहारको वातावरण छ। चुरे क्षेत्रमा पशुपालनको बढ्दो सम्भावनालाई उपयोग गर्न र युवाको विदेश पलायन रोक्न महोत्तरीको बर्दिबासस्थित जनता माध्यमिक विद्यालयमा कक्षा नौबाटै पशु विज्ञान तथा प्राविधिक शिक्षाधारअन्तर्गत पठनपाठन भइरहेको विद्यालय व्यवस्थान समितिका अध्यक्ष राजन ढुंगानाले बताए।

यहाँ पशु विज्ञानसम्बन्धी डिप्लोमासम्मको हुन्छ। नौ कक्षाबाट सुरु गरिएको पशु विज्ञानको डिप्लोमा तहको अन्तिम वर्षमा अध्ययनरत ३८ जना विद्यार्थी छन्। कक्षा ९ देखि १३ सम्मका एक सय ८९ जना विद्यार्थीले पशु विज्ञान विषय लिएर पढिरहेका विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर रम्तेलले जानकारी दिए। यहाँबाट तयार भएका जनशक्तिले व्यवस्थित रूपमा पशुपालनमा सघाउने उनको विश्वास छ।
सरकारको लक्ष्य प्राविधिक शिक्षा

महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका विजयी उम्मेदवार तथा शिक्षा, प्रविधि तथा विज्ञानमन्त्री गिरिराजमणि पोखरेलले बर्दिबासलाई शैक्षिक हब र गौशाला क्षेत्रलाई दुग्धजन्य उत्पादन केन्द्रको रूपमा विकास गर्ने योजना रहेको बताए। सरकारले प्राविधिक शिक्षामा हात अगाडि बढाएको मन्त्री पोखरेलले अन्नपूर्णसँग जानकारी दिए। ‘नेपालको मुलधारको शिक्षा भनेको अब आफ्नै गाउँमा बसेर युवा जनशक्ति बाँच्न सक्ने प्राविधिक शिक्षा नै हो’, उनले भने, ‘विद्यार्थी विद्यालयबाट निस्किँदा उनीहरूसँग कमाइ खाने सीप होस्। हामीले यहीँ चाहेका छौं।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :