पत्रकारिताको कलम छाडेर व्यवसायिक बाख्रापालन

यो समाचार 1378 पटक पढिएको

बाख्रा पालनले सफल भएका दुई कृषि अभियन्ता

काठमाडौं । केही समयअघि अक्षरको खेती गर्दै आएका रामेश्वर धिताल अचेल नुवाकोटमा बाख्रा चराउँदै गरेका भेटिन्छन् । राजधानीको एक आर्थिक दैनिकका पत्रकार धिताल चार वर्षदेखि बाख्रापालनमा रमाइरहेका छन् । पत्रकारिता गर्दागर्दा उनलाई आफ्नै गाउँठाउँमा कृषिकर्म गर्ने मन लागेपछि राजधानीको जागिर छोडेर गृहजिल्ला नुवाकोट हान्निएको सुनाउँछन् धिताल । बाख्रापालनमा सन्तुष्ट छन् उनी । राम्रो आर्जन गरिरहेको बताउँछन् । धितालले सुरुमा १० लाख लागतमा ठूलासाना गरी ५० वटा बाख्रा खरिद गरे । आफ्नै स्रोत र मेहनतले खोर बनाउँदा थप पैसा खर्च हुनबाट जोगिएको उनी सुनाउँछन् । आफैंले केही गर्छु भन्ने अठोट गरेर सहरको जागिर छोडेर गाउँ हान्निएको बताउँछन् उनी ।

उनी भन्छन्, ‘मैले केही पाउँछु भनेर बाख्रा पाल्न थालेको होइन । केही गर्छु भन्ने मनसायले व्यवसाय सुरु गरेको हुँ ।’  सुरुमा भने निकै चुनौती सामना गर्नुपरेछ उनले । पहिलो दुई वर्ष त धैर्यको परीक्षा नै भयो । ‘तेस्रो वर्षदेखि राम्रो भइरहेको छ, म सन्तुष्ट नै छुु,’ उनी भन्छन् । अहिले उनी बाख्रापालनबाट मनग्गे आम्दानी गरिरहेका छन् । उनको फार्ममा घरकै चारजनाले काम गर्छन् । आवश्यकताअनुसार सहयोगी राख्ने गरेका छन् । ‘समुन्द्रटार कृषि फार्मु नाम दिइएको फार्म हाउसलाई बाख्रा स्रोतकेन्द्रका रूपमा विकास गर्ने उनको योजना छ ।

पत्रकारितामा राम्रै स्थान बनाइरहेका धितालले किन हुँदाखाँदाको पेसा छोडे त ? जबाफमा उनी व्यवसाय गर्ने रहर बताउँछन् । ‘मेरो पेसा लेखनी हो । मेरो व्यवसाय कृषि फार्म हो,’ उनी भन्छन् । दुई वर्षदेखि उनी नाफामा छन् । बाख्रापालनबाट वार्षिक १० देखि १२ लाख आम्दानी गरेको बताउँछन् उनी । लगानी विस्तार गरी नमुना स्रोतकेन्द्र बनाउने ध्याउन्नमा डटेका छन् उनी अहिले ।

पशु सेवा कार्यालय नुवाकोटले उनको ‘समुन्द्रटार फार्म हाउस’ लाई समाविष्ट गरिसकेको छ । बोयर, जमुनापारि, बारबेरी र खरी जातका बाख्रा उत्पादन तथा वितरण गरिरेहका धिताल आफ्ना उत्पादनसँगै अन्यत्रबाट खसीबाख्रा खरिद गरी बिक्रीवितरण पनि गर्छन् । बिक्रीवितरण पनि गर्दा अन्य बाख्रापालकलाई फाइदा पुगेको उनको दाबी छ । ‘कसैलाई बेच्न र खरिद गर्न कुनै समस्या पर्दैन । यसो भएपछि वरिपरिका सबैलाई राहत मिलेको छ,’ धितालले भने।

धितालले बाख्रा पालनका साथै तरकारी खेती, फलफूल खेती र लोकल कुखुरा पालन गरेका छन् । बाख्रालाई घाँसमा आधारित बनाउन करिब २० रोपनी जमिनमा घाँस खेती गरेको उनी बताउँछन् । त्यस्तै करीब ८० रोपनी जमिनमा चरिचरनको व्यवस्था मिलाइएको छ । ‘बाख्रालाई चरण पर्याप्त चाहिँदो रहेछ’, उनले भने । ‘समुन्द्रटार कृषि फार्म’ जस्तै नुवाकोटमा अहिले करिब डेढ सय बाख्रा फार्म छन् ।

कुनैबेला पत्रकारिता क्षेत्रमै जमेका भवानीशंकर ढुंगेल पनि यतिखेर बाख्रा पालनमा व्यस्त छन् । राजधानीबाट गृहजिल्ला ओखलढुंगा फर्केर ढुंगेलले सहकारीमार्फत बाख्रा पालन सुरु गरेका हुन् । आफ्नै लगानीमा बंगुरपालन पनि गरिरहेका उनले रानीवन कृषि सहकारी संस्थामार्फत बाख्रा पालन सुरु गरेका हुन् । पत्रकारिता छोडेर बाख्रापालनमा लागेका नुवाकोटका रामेश्वर धिताल र भवानीशंकर ढुंगेलले कृषि र पशुपालनमै व्यावसायिकता विकास गरिरहेछन् ।

संस्थाले १ सय रोपनी जग्गाभित्र २ सय १० वटा बाख्रा अट्ने आधुनिक खोर निर्माण गर्नुका साथै घाँस खेती गरेको छ । १० लाख सेयर पुँजीबाट सुरु भएको संस्थाले अहिले सेयर वृद्वि गर्दै लगेको पनि छ । भूकम्पका कारण व्यवसाय चौपट भए पनि अहिले तंग्रिन लागेको उनले बताए । सहकारीले सदस्यलाई आवश्यक तालिमसहित पाठापाठी नै दिन्छ । ‘हामीले सदस्यलाई ज्ञान, सीप, प्रविधि र ऋणस्वरूप पाठापाठी नै दिन्छौु’, उनले भने, ‘उत्पादित खसीबाख्रा पनि हामी नै खरिद गरिदिन्छौं ।’

सदस्यको आर्थिक हैसियत उठाउनका लागि ऋण नै पाठापाठी दिने गरेको उनले बताए । संस्थाले महिलालाई विशेष प्राथमिकता दिएर आयआर्जनमा अग्रसर गराउँदै आएको छ । संस्थाले पछिल्लो समय बचत तथा ऋणको समेत काम गर्दै आएको छ । रानीवन बाख्रा फार्म हेर्न जाने जोकोहीले एक सय रुपैयाँ शुल्क तिर्नुपर्ने प्रावधान राखिएको छ । संस्थाले फार्म हेर्न जाने सबैलाई बाख्रापालनसम्बन्धी विस्तृत जानकारी पनि दिने गर्छ । फार्ममा बयर, जमुनापारि, सिनाल र खरी जातका बाख्रा छन् ।

रानीवन कृषि सहकारीमा दुई सयभन्दा बढी सदस्य छन् । सहकारीका सबै सेयर सदस्यले दुईदेखि २० वटासम्म बाख्रा पालेका छन् । अहिले देशभर आयात प्रतिष्ठापन गर्न वर्षको ३ लाखदेखि ५ लाखसम्म बाख्रा उत्पादन गर्नुपर्छ । तर १५ अर्बभन्दा बढीको मासु आयात भइरहेको छ । संस्थाका कार्यकारी अध्यक्ष ढुंगेलले कृषिकै जगमा टेकेर आत्मनिर्भर हुन सकिने दाबी गरे । उनी भन्छन्, ‘सबैको ध्यान कृषिमा जाने हो भने मासुजन्यमा मात्र होइन, कृषिका हरेक क्षेत्रमा आत्मनिर्भर हुन सकिन्छ ।’ संस्थाले बाख्रालाई फल लाग्ने र फूल फुल्ने सबै डाले घाँस तथा भुइँ घाँस खुवाउने गरेको छ । त्यसका लागि आफ्नै जग्गामा बकाइनो, ज्वाइन्ट भेन्चर, बडहर, कुरिलो, टाँकी, कोइरा, स्टाइलो, नेपियरलगायत घाँस खेती गरिएको छ ।

व्यवसाय सुरु गरेको ५ वर्षमा लगानी उठ्नुका साथै प्रतिफल आउने उनी दाबी उनी गर्छन् । ‘बाख्रा पाल्दा धैर्यशील भएर मेहनत गर्नुपर्छ । कम्तीमा दुईतीन वर्ष त केही पनि नहुँदा दुःख मान्नु हुन्न’, उनले भने । बाख्रा पाल्न थालेको अहिले तीन वर्ष पुगेको छ । सहकारीले खासगरी २० देखि २५ केजीसम्मका खसीबोका बेच्ने गर्छ । एउटा पाठीलाई हुर्कन आठ महिना लाग्ने भएकाले बाख्रामा अरूमा जस्तो छिटो प्रतिफल नआउने उनी बताउँछन् ।

धिताल र ढुंगेल मात्र होइन, पछिल्लो समयमा बाख्रापालनतर्फ कृषकको आकर्षण बढ्दो क्रममा छ । पछिल्लो समयमा कृषिमा आधुनिक र व्यावसाकियता बढ्न थालेको छ । सानो पुँजीदेखि ठूलो पुँजीसम्म बाख्रापालनमा लागाउने कृषक प्रतिवर्ष बढेका छन् । वैदेशिक रोजगारीबाट फर्केर बाख्रापालनसँगै कृषिका अन्य काममा समेत युवाले लगानी गर्न थालेका छन् । बाख्रापालन व्यवसाय प्रवद्र्धन गर्नका लागि सरकारले पनि लगानी विस्तार गरिरहेको छ । सरकारले केन्द्रीय भेडाबाख्रा प्रवद्र्धन कार्यालयमार्फत विभिन्न कार्यक्रम गरी बाख्रापालन प्रवद्र्वन गर्दै आएको छ । कार्यालयका अनुसार २० वटाभन्दा बढी बाख्रा पालन गर्ने फार्म बढ्दै गएका छन् । २० भन्दा कम बाख्रा पाल्ने कृषक पनि अधिक छन् ।

सरकारले विगत चार वर्षदेखि वैदेशिक रोजगारबाट फर्केका १८ देखि ५० वर्षसम्मका युवालाई लक्षित गरी युवा लक्षित कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमअन्तर्गत कृषकले प्रतिव्यक्ति २ लाखसम्म अनुदानसमेत पाउँछन्।

-तुलसी सुवेदी