झापामा अस्ट्रिच पालन : किसानलाई निल्नु न ओकल्नु

यो समाचार 1477 पटक पढिएको

किसान भन्छन, ‘बजार नै पाइएन, लहलहैमा लाग्दा खत्तम भयो !’

दमक । ‘सुरुमा  राम्रै आम्दानी हुन्छ भन्ने सुनेँ । नङदेखि मासुसम्म बिक्री हुन्छ भन्ने सुनेपछि खुसीले अस्ट्रिच फार्म खोलेँ तर अहिले यही फार्म बोझ बन्दै गएको छ’, झापा धरमपुरका अस्ट्रिचपालक दीपेश रिजालले यसरी गुनासो पोखे । उनको पाथिभरा अस्ट्रिच कृषि फार्ममा अहिले बेच्ने बेलाका अस्ट्रिच छन् । दीपेशका लागि मात्र हैन सबैभन्दा ठूलो प्रजातिको चरा अस्ट्रिच यतिबेला झापाका सबै अस्ट्रिच पालकका लागि चुनौती बन्दै गएको छ।

अस्ट्रिच पालकका लागि सबैभन्दा ठूलो समस्या बजार हो । एउटै अस्ट्रिचको तौल दुई सय केजीभन्दा माथि हुन्छ तर झापामा बिक्रीको अनुपात नगन्य हुनाले अस्ट्रिच पालक समस्यामा पर्दै गएका छन् । यस पंक्षीको जानकार विज्ञ व्यक्ति नहुनु, यसले खाने घाँस उत्पादनका लागि समस्या हुनुजस्ता कारणले अस्ट्रिच पालक चिन्तित बनेका छन् । सानोतीनो समस्या आए पनि जिल्लामा यसबारे जानेको कोही नहुँदा समस्या भएको रिजालको भनाइ छ । बुटवलबाट एक वर्ष अगाडि ५० वटा अस्ट्रिचको चल्ला किनेर ल्याएकोमा अहिलेसम्म १५ वटा मरिसकेको उनले बताए ।

बच्चा खरिद गर्नेलाई बुटवलको फार्मले दुई दिनको तालिम दिए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । खरिद गर्दै आवश्यक औषधि लिएर आउने गरेको उनले बताए । ‘बुटवलको फार्मले पनि खरिद गरुन्जेल मात्र हो रहेछ सहयोग गर्ने, त्यसपछि कुनै सहयोग नहुँदा समस्या बढ्दै गएको छ’, रिजालले भने । दमकका अर्का व्यवसायीले त अस्ट्रिचले ठूलै नोक्सान पुर्याएको भन्दै पाल्न नै छोडे । दमक १३ का दिलबहादुर बुढाथोकीले दुई वर्षसम्म पालेर अहिले फार्म नै बन्द गरेका छन् ।

अस्ट्रिचपालकका लागि सबैभन्दा ठूलो समस्या बजार हो । एउटै अस्ट्रिचको तौल दुई सय केजीभन्दा माथि हुन्छ तर झापामा बिक्रीको अनुपात नगन्य छ।

२०७१ सालमा बुटवलबाट ६० वटा बच्चा लिएर आएकोमा २० वटा मात्र बचाउन सकेको उनले बताए । उनी आफैंले ह्याचिङ मेसिनमा राखेर अन्डाबाट चल्ला उत्पादन गरे पनि त्यसलाई बचाउन नसकेको बताए । यसबारे प्राविधिक विशेषज्ञ नहुनु, उत्पादित मासुलाई बेच्ने ठाउँ नहुनु नै मुख्य समस्या रहेको बुढाथोकीको भनाइ छ । ‘सानोतीनो समस्या आयो बुटवल जानुपर्ने, मलाई यो व्यवसायले नोक्सानी पुर्यायो’, उनले भने । पशु सेवा कार्यालय झापाका वरिष्ठ पशु चिकित्सक डा. माधव दाहालसँग बुझ्दा यस पंक्षीबारे विषय विशेषज्ञ जनशक्ति नरहे पनि पंक्षीकै प्रजाति रहेकाले केही सामान्य सल्लाह भने दिने गरेको बताए । उनका अनुसार अस्ट्रिच मरे त्यसको कारण खोज्न विराटनगरस्थित क्षेत्रीय प्रयोगशालामा परीक्षण गर्न सकिने र यस्ता विषय लिएर कृषक नआएको दाहालको भनाइ छ ।

अस्ट्रिचको मासु झापामा कम खपत हुने व्यवसायीको भनाइ छ । मासु अत्यन्तै राम्रो र स्वास्थ्यका लागि उपयुक्त भए पनि यसको माग स्थानीय स्तरमा नरहेको बुढाथोकीले बताए । आपूले व्यवसाय सुरु गर्दा नङ, खुट्टा, छाला, प्वाँख, मासु सबै बिक्री हुने भनेको सुने पनि त्यसको बिक्री गर्ने ठाउँ नै नरहेको रिजाल बताउँछन् । नेपालकै सबैभन्दा ठूलो अस्ट्रिच फार्म बुटवलमा समेत अस्ट्रिचको छाला, नङ, प्वाँख वर्षौंदेखि थन्किएको बताउँदै रिजालले यहाँको बिक्री हुन्छ भन्ने आश नरहेको बताए । त्यस्तै अस्ट्रिचपालनका लागि अर्को महत्वपूर्ण विषय यसले खाने बर्षिम घाँस हो । यस प्रकारको घाँस भैरहवाजस्तो झापामा उत्पादन राम्रो नभएको उनीहरुको भनाइ छ।

अस्ट्रिचका लागि बर्षिम घाँसका अलवा बन्दाकोबी, स्थानीय सागसब्जी पनि खुवाउने गरेको रिजालको भनाइ छ । अहिले झापामा अस्ट्रिचको मासु बजारमा प्रतिकेजी १५ सयका दरले बिक्री भइरहेको छ । दमकको मासुपसल मिटमार्टका सञ्चालक तारा भट्टराईका अनुसार दिनमा औषत चार केजी मासु बिक्री हुने गरेको छ । बोनलेस प्रतिकेजी १५ सय, बोनसहितको प्रतिकेजी नौ सय र भुटन मासु प्रतिकेजी पाँच सय रुपैयाँका दरले बिक्री हुने गरेको उनको भनाइ छ । ग्राहकले बढी मात्रामा बोनलेस मासु खोज्ने गरेको उनले बताए ।