प्रधानमन्त्री परियोजनामा पशुपालन क्षेत्र समेटन माग

यो समाचार 679 पटक पढिएको

काठमाडौं । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजले हालै सरकारले सञ्चालनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पशु पालन क्षेत्र पनि समावेश गर्न माग गरेको छ ।


समाजले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त परियोजनामा पशुपालन क्षेत्रलाई समावेश नगराइएकोमा सरकारको ध्यानाकर्षण गराउदै सुपरजोन, जोन र ब्लकमा पशुपालन क्षेत्रलाई पनि समावेश गर्न आग्रह गरेको छ । समाजका अध्यक्ष आनन्दप्रसार निहुरेले उक्त परियोजनामा पशु क्षेत्रलाई समावेश गर्न माग गरेका छन् । ‘कृषि क्षेत्रमा ठूलो हिस्सा ओगट्दै आएको पशुपालनलाई नै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा समावेश गरिएन’, उनले भने,‘यस्ता विभेदपूर्ण वातावरणलाई चिर्न सरकारले तत्कालै उक्त परियोजनामा पशुपालनलाई पनि समेटेर योजना तयारी पारी कार्यान्वयनमा ल्याउनुपर्छ ।’

समाजले आगामी दुई बर्षभित्रमा दूध र मासुमा मुलुकलाई सरकारले आत्मनिर्भर बनाउने लक्ष्य राखेपनि लगानी, प्रविधि र प्रभावकारी कार्यक्रमको अभावमा उक्त लक्ष्य कागजमै सिमित बन्ने औल्याएको छ । समाजले किसानको वर्गीकरण गरी १० भन्दा कम संख्यामा पशुपंक्षी पालन गर्ने किसानलाई एक प्रतिशत ब्याजदरमा, १० भन्दा बढी पालन गर्ने किसानलाई दुई प्रतिशत ब्याजदरमा एक करोडसम्म र त्यो भन्दा बढी संख्यामा पशुपंक्षी पालन गर्ने किसानलाई तीन प्रतिशत व्याजदरमा एक करोडभन्दा बढी रकम सुलभ रुपमा बैंकबाट उपलब्ध गराउनुपर्ने माग अघि सारेको छ ।

समाजले व्यवसायिक दूध उत्पादक किसान समाज र सहकारीको २५ प्रतिशत लगानी तथा सरकारको ७५ प्रतिशत लगानी हुने गरी चितवन धूलो दूध कारखाना तत्काल सञ्चालनमा ल्याउनुपर्नेलगायतका नौं बुंदे माग अघि सारेको छ ।