५ वर्षभित्र सबै खेतीयोग्य जमिनमा सिँचाइ

यो समाचार 280 पटक पढिएको

काठमाडौं । सरकारले ५ वर्षभित्र देशभरका सबै सिँचाइयोग्य जमिनमा सिँचाइ सुविधा पुरयाउने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष ०७५/७६ देखि कार्यान्वयन हुने योजनाअनुसार आर्थिक वर्ष ०७९/८० सम्म सबै सिँचाइयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उक्त अवधिमा निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने र नयाँ आयोजनाहरू सुरु गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

१५ जेठमा सार्वजनिक चालू आवको बजेटमा ५ वर्षभित्र सबै सिँचाइयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने उल्लेख छ । यसलाई मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनाले पनि निरन्तरता दिएको छ । यसअघि मन्त्रालयले २५ वैशाखमा सार्वजनिक गरेको स्वेतपत्रमा भने यो विषय परेको थिएन । बरु, सिँचाइ क्षेत्रको विकास गरिने र कृषिका लागि सिञ्चित क्षेत्र विस्तार गरी वर्षैभरि भरपर्दो सिँचाइ सुविधा पुरयाउने उल्लेख छ ।

साढे ३ लाख हेक्टरमा सिँचाइ आवश्यक
देशको कुल १ करोड ४७ लाख १८ हजार १ सय हेक्टर जमिनमध्ये कृषियोग्य क्षेत्रफल २६ लाख ४१ हजार हेक्टर छ । त्यसमा कुल सिँचाइयोग्य जमिन करिब १७ लाख ६६ हजार हेक्टर मात्र छ । हालसम्म कुल १४ लाख ३३ हजार २८७ हेक्टर जमिनमा सिँचाइ संरचनाहरू निर्माण भई सिँचाइ सुविधा पुगेको छ । यसअनुसार सरकारले लक्ष्य पूरा गर्न ५ वर्षभित्र ३ लाख ३२ हजार ७१३ हेक्टर जमिन सिँचाइ सुविधा पुरयाउनु पर्नेछ ।

गौरवका आयोजनाको कामलाई तीव्रता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लक्ष्य पूरा गर्न राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणलाई तीव्रता दिने तयारीमा छ । विशेष गरी पछिल्लो समय कार्यप्रगति र बजेट खर्च राम्रो देखिएका भेरी–बबई डाइभर्सन, रानीजमरा कुलरिया, सिक्टा र बबई सिँचाइ आयोजनाहरूको निर्माणकार्यलाई तीव्रता दिइने कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै, बृहत् दाङ उपत्यका सिँचाइ आयोजनालाई निरन्तरता दिइने भएको छ । यसबाहेक साना सिँचाइ, टार सिँचाइ, स्यालो ट्‍युबेललगायतका साना तथा मझौला आयोजनाहरू सञ्चालन (प्रदेश तथा स्थानीय तहसँगको लागत सहभागितामा) गरिनेछ । मन्त्रालयले तमोर–चिसाङ, सुनकोसी–मरिन, कालीगण्डकी–तिनाउ र पश्चिम सेती–कैलाली–पाण्डुल सिँचाइलगायतका नदी पथान्तरण आयोजनाहरूको सम्भाव्यता अध्ययन गर्ने कामलाई पनि अघि बढाउने भएको छ ।

सिँचाइका प्रकार र सिञ्चित क्षेत्रफल
कुल सिञ्चित क्षेत्रफलमध्ये भूमिगत सिँचाइबाट भएको सिञ्चित क्षेत्रफल ४ लाख ४३ हजार ३ सय ६५ हेक्टर, कृषक व्यवस्थित सिँचाइ प्रणालीबाट भएको सिञ्चित क्षेत्रफल १ लाख ६७ हजार ९२५ हेक्टर तथा सतह सिँचाइबाट सिञ्चित भएको क्षेत्रफल ८ लाख १३ हजार ६७ हेक्टर छ । नेपालको कुल सिञ्चित क्षेत्रमध्ये करिब एकतिहाइ भूभागमा मात्र वर्षभरि सिँचाइ सुविधा पुगेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :