‘जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्छु’ : कृषिमन्त्री

यो समाचार 441 पटक पढिएको

काठमाडौं । सरकारले जग्गाको कित्ताकाटमा लागेको प्रतिवन्ध फुकुवा गर्ने तयारी गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताएका छन्।

शनिबार तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण समारोहमा उनले भने, ‘कृषि भूमिको संरक्षण हुने गरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारको छ।’

जग्गा व्यवस्थापनसम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउने बताउँदै ‘यस सम्बन्धमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको छु, एक महिनाभित्र यो विषयलाई हामीले टुंग्याउने छौं,’ मन्त्री खनालले भने।

गत साउन २६ मा तत्कालीन भूमिसुधारमन्त्री गोपाल दहितको मन्त्रिस्तरीय निर्णयबाट वर्षमा एक पटक वा अदालतको फैसला र अंशबन्डामा मात्र कित्ताकाट गर्न पाउने व्यवस्था कायम छ।

मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा रोकिएको छैन, बरु यसले अनेक विकृति बढाएको छ, त्यसैले सरकारले नयाँ व्यवस्था गर्न थालेको बताए। स्थानीय तहले भूउपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले रुपन्देहीमा खेतीयोग्य जमीनको संरक्षण गरिनुपर्ने बताए।

प्रदेशसभा सदस्य दधिराम न्यौपानेले जग्गाको कित्ताकाट रोकिँदा मालपोत र नापी कार्यालयमा धेरै विकृति देखिएको उल्लेख गर्दै समस्या समाधानका लागि संघीय सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहेको उल्लेख गर्दै आफूहरू नीति बाहिर जान नसक्ने बताए। तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले नगरभित्रको जग्गाको वैज्ञानिक व्यवस्थापनमा नगरपालिका क्रियाशील रहेको बताए ।

तिलोत्तमाका ११२ जनाले पाए जग्गाधनी प्रमाणपूर्जा

रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं १५ र १७ का ११२ जनाले गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल, प्रदेशसभा सदस्य दधिराम न्यौपाने, नगर प्रमुख वासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले उनीहरुलाई जग्गाधनी प्रमाणपूर्जा प्रदान गरेका हुन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :