खाद्यान्न उत्पादन हुने क्षेत्रफल बढ्यो

यो समाचार 84 पटक पढिएको

काठमाडौं । खाद्यान्न तथा अन्नबाली उत्पादन हुने जमिनको क्षेत्रफल दुई वर्षमा ३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सबै किसिमका खाद्यान्नको उत्पादन हुने जमिनको क्षेत्रफल दुई वर्षमा ३ दशमलव ३७ प्रतिशतले वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७२/७३ मा कुल २७ लाख ८० हजार ७१ हेक्टर क्षेत्रफलमा खाद्यान्न उत्पादन हुने गरेको थियो । त्यसयता चालू आर्थिक वर्षमा खाद्यान्न उत्पादन हुने क्षेत्रफलमा वृद्धि हुँदै २९ लाख ८९० हेक्टर क्षेत्रफल पुगेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिमा धान उत्पादन हुने क्षेत्रफलमा ७ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७२/७३ मा कुल १२ लाख ७० हजार ७५२ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुँदै आएको थियो ।

चालू आर्थिक वर्षमा १३ लाख ७६ हजार ८६१ हेक्टर क्षेत्रफलमा धान खेती भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै, सो अवधिमा मकै उत्पादन हुने क्षेत्रफल भने घटेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा कुल ७ लाख ५ हजार ७९८ हेक्टर क्षेत्रफलमा हुँदै आएको मकै खेती शून्य दशमलव ६१ प्रतिशतले घट्दै ७ लाख २ हजार ७९८ हेक्टर क्षेत्रफलमा हुने गरेको छ ।

त्यस्तै, १ लाख ९९ हजार ८४९ हेक्टर क्षेत्रफलमा हुँदै आएको कोदो खेती दुई वर्षमा १ प्रतिशत बढीले घटेको छ । आर्थिक वर्ष २०७२/७३ मा १ लाख ९९ हजार ८४९ हेक्टर क्षेत्रफलमा हुँदै आएको कोदो खेती चालू आर्थिक वर्षमा १ लाख ९७ हजार १९२ हेक्टर क्षेत्रफलमा भएको छ । यो सो अवधिमा १ दशमलव २ प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार तरकारी खेती हुने जमिनको क्षेत्रफलमा साढे ५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७२/७३ मा कुल १ लाख ५८ हजार ३२२ हेक्टर क्षेत्रफलमा हुँदै आएको तरकारी खेती चालू आर्थिक वर्षमा १ लाख ६८ हजार ५५५ हेक्टर पुगेको छ । त्यस्तै, फलफूल तथा मसलाको खेती हुँदै आएको जमिनमा समेत ५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा कुल १ लाख ६० हजार ३३८ हेक्टर क्षेत्रफलमा हुँदै आएको फलफूल तथा मसला खेती चालू आर्थिक वर्षमा १ लाख ७२ हजार ७८६ हेक्टर पुगेको छ । सरकारले आगामी पाँच वर्षभित्र मुलुकलाई प्रमुख खाद्यान्न बालीमा आत्मनिर्भर बनाउने योजना अघि सारेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले किसानलाई समयमै मल तथा बीउ बिजन उपलब्ध गराउन सकेमा खाद्यान्न उत्पादनमा निकै मद्दत पुग्ने बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :