एक बोरा मलमा १५ रुपैयाँ बढी असुली

यो समाचार 990 पटक पढिएको

काभ्रे । सरकारी स्वामित्वको कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेलले मलको कृतिम अभाव सृजना गरेका कारण किसान मर्कामा परेका छन् ।  लिमिटेडले बाली लगाउने मुख्य सिजनमा रासायनिक मलको कृतिम अभाव सिर्जना गरी सरकारी मूल्यभन्दा प्रति बोरा १५ रुपैयाँ बढी मूल्य असुल्दै मल बिक्री गरेको बिक्रेता डिलरहरुले बताएका छन् ।

लिमिटेडले बिक्री गर्दै आएको युरिया मल प्रति बोरा आठ सय ३४ रुपैयाँ ५० पैसा भएपनि बिल नदिई नै लिमिटेडले ८ सय ५० रुपैयाँ बेच्ने गरेको मल बिक्रेता डिलरहरुको गुनासो छ । काभ्रेसहित चार जिल्लामा मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडले सहकारीका प्रतिनिधिलाई साथ लिएर ठगी गरेको किसानको आरोप छ ।

कृषि सामग्री कम्पनीको क्षेत्रीय डिपो वीरगञ्जमा युरिया मलको डिलर मूल्य सातसय रुपैयाँ प्रतिबोरा छ भने डिएपीको दुई हजार एक सय ५० रुपैयाँ डिलर मूल्य छ । वीरगञ्जबाट काभ्रेको ढुवानी मूल्य प्रतिबोरा एक सय ३४ रुयैयाँ ५० पैसा कायम गरी युरिया प्रतिबोरा आठसय ३४ रुपैयाँ ५० पैसा र डिएपी प्रतिबोरा दुईहजार दुईसय ८३ रुपैयाँ ५० पैसा कायम गरिएको थियो । कम्पनीले अहिले अभाव देखाउँदै सहकारीको प्रतिनिधिमार्फत १५ रुपैयाँ प्रतिबोरा असुली गरिरहेको छ ।

यस विषयमा कम्पनीका लेखा अधिकृत वासुदेव शर्माले आफू पन्छिएर सहकारीको प्रतिनिधि प्रेमकाजी पोतेसँग बुझ्न आग्रह गर्नुभयो । सामाग्री केन्द्रकै हातामा सहकारीका प्रतिनिधि प्रेमकाजी पोतेको अगुवाईमा बढी रकम असुली भइरहेको आरोप छ । पोतेले भने ढुवानी भाडा बढेका कारण मलको मूल्यमा वृद्धि भएको बताउनुभयो ।

उहाँले मल ढुवानीको ठेक्का पाएका ठेकेदारले ढुवानी भाडामा थप गर्न भनेपछि प्रमुख जिल्ला अधिकारी शिव सिंखडालाई मौखिक जानकारी गराई प्रतिबोरा १५ रुपैयाँका बढाएको बताउनुभयो ।