जैबिक झोलमोलको प्रयोगले बालीमा विषादीको प्रयोग घटायो

यो समाचार 916 पटक पढिएको

बनेपा । काभ्रेपलाञ्चोकमा प्रयोगमा ल्याइएको जैविक झोलमोलका कारण खाद्यान्न र तरकारी वालीमा बिषादीको प्रयोग दर घट्दै गएको छ । यहाँका किसानले विभिन्न बालीमा झोलमोललाई उपयोगमा ल्याएका छन् ।

जिल्लाको महादेवस्थान, रविओपी, पात्लेखत गाविस र पाँचखाल नगरपालिकामा भएको विभिन्न प्लटको प्रदर्शनी बालीमा झोलमोलको प्रयोग प्रभावकारी देखिएको कृषकले बताएका छन् । “मात्रा मिलेन भने झोलमोल पनि विष जस्तै हुँदोरहेछ,” महादेवस्थानकी गङ्गा नेपालले भन्नुभयो ।

उहाँले पहिलो, दोस्रो र तेस्रो गरी तीन विधिबाट झोलमोलको उत्पादन गरेर त्यसलाई रासायनिक मल र जैविक विषादीका रुपमा बालीमा प्रयोग गरेको उल्लेख गर्दै रासायनिक मल र विषादीको प्रयोग विगतको तुलनामा घटेको बताउनुभयो । रविओपीकी कृषक मनिता चौलागार्इंले विगतमा विषादी बढी प्रयोग भएको तरकारी फिर्ता भएको जानकारी दिनुभयो । यहाँ कृषक समूहमार्फत रोग वा किराको पहिचान गरेर जैविक मल र विषादीको प्रयोग गर्दै आएका छन् ।

परियोजनाका प्रविधिज्ञले दिएको जानकारीअनुसार पहिलो गोबर, गाई वा भैँसीको पिसाब र पानीको घोलबाट उत्पादन हुने झोलमोल जैविक मलका रुपमा प्रयोग हुने गरेको छ । दोस्रो, पिसाब र पानीको घोलबाट उत्पादन हुने झोलमोल किरालाई पनि मन नपर्ने र त्यसमा नाइट्रोजनसमेत हुने भएकाले रासायनिक मलका रुपमा समेत कृषकले प्रयोग गरेका छन् ।

त्यस्तै, वानस्पतिक झारपात, टिमुर, लसुन, खुर्सानी, वनमारा, बकाइनोलगायत पिसाब र पानीको घोलमा मिश्रण गराएर एक महिना कुहाउने र एक भाग त्यस्तो झोलमा तीन भाग पानी मिसाएर तेस्रो प्रकारको झोल प्रयोगमा ल्याइने गरिएको छ । यसलाई टर्रो, पिरो र अमिलो स्वादको बनाउन धेरै वानस्पतिक मिश्रण गरिएको हो । तर बिरुवा सानो वा कलिलो छ भने त्यसका लागि एक भाग झोलमा पाँच भाग पानी मिसाएर झोलमोलको प्रयोग भएको छ ।

जलवायुमैत्री गाउँ परियोजना काभ्रेपलाञ्चोक संयोजक रोशन सुवेदीले अनुसन्धानात्मक कामका लागि झोलमोल प्रयोगको विधि कृषकलाई सिकाइएको जानकारी दिँदै यसबाट कृषकलाई दिगो लाभ मिल्ने बताउनुभयो । “हामीले कृषकलाई प्रविधि र सीपमा सक्षम बनाउन खोजेका हाँै,” उहाँले भन्नुभयो । झोलमोलको प्रयोग जैविक मल र जैविक विषादीका रुपमा धान, गहुँ, तोरी, आलु, काउली, बन्दा र तीतेकरेलामा हुने गरेको कृषकले बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालय, धुलिखेलका वरिष्ठ कृषि अधिकृत दुर्गा पण्डितले झोलमोलको प्रयोगलाई संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिँदै नार्कले प्रमाणित गरेपछि यसलाई औपचारिक रुपमा अघि बढाउन सकिने बताउनुभयो ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)का कार्यकारी निर्देशक लक्ष्मी भट्टले यस्तो परियोजना अन्य केही जिल्लामा समेत सञ्चालन हुन लागेको जानकारी दिँदै जलवायु परिवर्तनका कारण बालीमा आउने जोखिम हटाउन यस्ता प्रविधि कृषकका लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो । विगत दुई वर्षदेखि जिल्लाको विभिन्न समुदायको सङ्काटासन्न गाविसमा सञ्चालन भएको यो कार्यक्रमले सुमदायमा परेको सुख्खा, बालीको रोग किरा, आँधीहुरी, तुषारो, असिना, कुहिरो, वर्षा जस्ता समस्यासँग मुकाबिला गर्दै अनुकूलनको क्षमता बढाउने विश्वास गरिएको छ ।

यसबाहेक कृषकलाई धान, मकै, गहुँको जातीय परीक्षण, वर्षा भएको मौसममा गोलभेँडाको जातीय परीक्षण, छरुवा धानको प्रविधि, सघन धानखेती, घरबगैँचा र आइपिएम खेतीमा समेत परियोजनाले कृषकलाई सघाउँदै आएको छ । यसको उद्देश्य मध्यपहाडी क्षेत्रको कृषि क्षेत्रमा जलवायु परिवर्तनको नकारात्मक असर न्यूनीकरणका लागि उपयुक्त प्रविधिको प्रवद्र्धन, समुदायको जलवायु परिवर्तन, सङ्कटासन्नताको न्यूनीकरण तथा जीविकोपार्जनमा सहयोग गर्नु हो ।

जलवायु परिवर्तन अनुकूलन खेतीका लागि अनुसन्धानका काम गर्दै आएको वातावरण तथा कृषि, नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्र (सिप्रेड) र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)को संयुक्त परियोजनाबाट जिल्लाका विभिन्न गाविसमा ४० कृषक समूहमा आवद्ध एक हजार ८९ कृषक लाभावन्वित भएका छन् ।