फलफूलमा आत्मनिर्भर बन्न मार्गचित्र कोरिदैं

यो समाचार 57 पटक पढिएको

 काठमाडौँ । ‘एक नेपाली एक फलफूलका बिरुवा रोपण’ अभियान थालिएसँगै नेपाल फलफूलमा आत्मनिर्भर बन्ने बाटोमा उन्मुख छ ।

अभियान सुरु भएको साढे पाँच महिनामा २३ लाखभन्दा बढी फलफूलका बिरुवा रोपिएका छन् । अभियानअन्तर्गत तीन वर्षमा तीन करोड बिरुवा रोपिने लक्ष्य राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै सार्वजनिक गरेको अभियानको प्रगति प्रतिवेदन अनुसार अहिलेसम्म फलफूलका २३ लाख १६ हजार सात सय ३९ बिरुवा रोपिएका छन् । जसमध्ये सबैभन्दा बढी पाँच लाख चार हजार चार सय ९४ कागतीका बिरुवा छन् ।

अन्य प्रजातिका पाँच लाख ७४ हजार एक सय ८० अन्य बिरुवा रोपिएको प्रतिवेदनमा जनाइएको छ । फलफूल अन्य प्रजातिका गरी २८ लाख ९० हजार ९१९ विरुवा रोपिएका छन् ।

हेर्नुस् रोपिएका बिरुवाको प्रजातिगत विवरण

नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन थालिएको यो अभियान प्रभावकारी बन्दै गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवम् प्रवक्ता विनोदबहादुर कुँवरले बताए । ‘अभियान सफल पार्न सबै सरोकारवालालाई पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘अहिलेसम्मको कार्यप्रगति सन्तोषजनक छ ।’

अभियान अन्तर्गत सबैभन्दा बढी फलफूलका बिरुवा गण्डकी प्रदेशमा रोपिएका छन् । सो प्रदेशमा आठ लाख ३० हजार दुई सय १४ बिरुवा रोपिएको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा कम प्रदेश २ मा रोपिएका छन् । सो प्रदेशमा ६५ हजार सात सय ७३ बिरुवा रोपिएको जनाइएको छ ।

यस्तै, प्रदेश ५ मा चार लाख २४ हजार दुई सय २४, प्रदेश ३ मा तीन लाख ५५ हजार तीन सय ३६, कर्णालीमा दुई लाख ५६ हजार चार सय ३५, प्रदेश १ मा दुई लाख दुई हजार तीन सय ६४ र सुदूरपश्चिममा एक लाख ८२ हजार तीन सय ९३ बिरुवा रोपिएका छन् ।
हेर्नुस् विवरण

अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा बैंक तथा वित्तीय संस्था एवम् सार्वजनिक संस्थानले पनि अभियानमा सहयोग पु¥याइएको प्रतिवेदनमा उल्लेख छ ।
हेर्नुस् विवरण

प्रतिवेदन अनुसार लमजुङमा सबैभन्दा धेरै फलफूलका बिरुवा रोपिएका छन् । सो जिल्लामा तीन लाख ८१ हजार आठ सय ६७ बिरुवा रोपिएको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा धेरै बिरुवा रोप्ने जिल्लाको दोस्रो, तेस्रो, चौथो र पाँचौंमा क्रमशः रोल्पा, पर्वत, उदयपुर र कास्की छन् ।
हेर्नुस् विवरण

प्रतिवेदन अनुसार मुस्ताङमा सबैभन्दा कम फलफूलका बिरुवा रोपिएका छन् । सो जिल्लामा जम्मा १३ बिरुवा मात्रै रोपिएको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम बिरुवा रोप्ने जिल्लाको दोस्रो, तेस्रो, चौथो र पाँचौंमा क्रमशः बैतडी, सल्यान, मनाङ र तेह्रथुह छन् ।
हेर्नुस् विवरण

विश्व वातावरण दिवसका अवसरमा गत जुन ५ (जेठ २२ गते) अभियान सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवारमा एभोगाडो र लिचीको बिरुवा रोपेर अभियान उद्घाटन गरेका थिए ।

पाँच फलफूलका प्रजाति सबैभन्दा बढी
सबैभन्दा बढी संख्यामा रोपिएका पाँच फलफूलका प्रजातिहरुमा अलैची, कागती, सुन्तला/मुन्तला, आँप र लिची रहेका छन् ।
हेर्नुस् विवरण

यसरी गरिएको थियो सुरुवात
प्रधानमन्त्री केपी शर्मा ओलीले फलफूलका विरुवा रोपण गर्ने अभियानलाई देशव्यापी रूपमा वर्षैभरि निरन्तरता दिई आगामी तीन वर्षमा तीन करोड फलफूलका विरुवा रोपण गर्नुका साथै तिनको संरक्षण एवं संवद्र्धन गर्ने र नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने अभियानलाई तीव्रताका साथ अगाडि बढाउने उदघोषसहित सिंहदरवार परिसरमा आफूलाई मनपर्ने फलफूलका बिरुवा रोपेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

उक्त अभियानलाई सफल पार्न प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा प्रमुख सहसचिव विनोदबहादुर कुँवरले ७७ जिल्ला प्रशासन कार्यालय, ७७ जिल्ला समन्वय समितिको कार्यालय, ७५३ स्थानीय तहहरुलाई सरकारी तथा गैर सरकारी निकायहरू समेतको सहभागितामा फलफूलका बिरुवाहरू रोप्ने अभियानलाई तदारुकताका साथ अगाडि बढाउन अनुरोध गर्दै विभिन्न मितिमा पत्राचार गरेका थिए ।

रोपिएका बिरुवाहरूको संरक्षणका निम्ति आवश्यक पहलकदमी लिन वन तथा वातावरण मन्त्रालयलाई र समन्वयकारी भूमिका निर्वाह गर्न अनुरोध गर्दै विभिन्न मन्त्रालयहरूलाई पत्राचार समेत गरिएको थियो ।

‘रोपिएकामध्ये आधा मात्रै हुर्काउन सक्ने हो भने पनि ‘फलफूलको देश’ बन्न धेरै समय लाग्ने छैन,’ महाशाखा प्रमुख तथा प्रवक्ता विनोदबहादुर कुँवर भन्छन् । बिरुवा रोप्ने र हुर्काउने पनि सँगसँगै अगाडि बढाइएकाले अभियानले पूर्ण सफलता पाउनेमा विश्वस्त रहेको कुँवरको भनाइ छ ।

प्रधानमन्त्री कार्यालयको प्रशासन शाखा र कृषि, वन तथा वातावरण शाखाबाट सम्पूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निरन्तर सम्पर्क गर्दै अभियानलाई निरन्तरता दिइरहेको शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेयले बताए ।

फलफूलका विरुवा रोपण अभियानलाई निरन्तरता दिन अनुरोध गर्नुका साथै रोपिएका बिरुवाहरूको प्रजातिगत, जिल्लागत एवं प्रदेशगत विवरण संकलन गरिएको छ । तथ्यांक संकलन तथा विश्लेषणसम्बन्धी कार्यको समन्वय उपसचिवद्वय विष्णुप्रसाद घिमिरे र कपिलप्रसाद तिमल्सेना, संयोजनका रूपमा शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेय, प्राप्त तथ्यांकहरूलाई एकीकृतरूपमा प्रविष्टी तथा विश्लेषण गर्ने कार्य तथ्यांक अधिकृत रमा भण्डारी गौतम र सम्पर्क अधिकृतका रूपमा निम्न अधिकृत कर्मचारीहरूलाई तोकिएको थियो ।

प्रदेश १ मा शाखा अधिकृत रमेश लामिछाने र सुशील पनेरु, प्रदेश २ मा प्रज्वल घिमिरे, प्रदेश ३ मा छविकला अधिकृत शालिकराम कोइराला, गण्डकी प्रदेश शाखा अधिकृत रजनी रेग्मी, प्रदेश ५ मा तथ्यांक अधिकृत रमा भण्डारी गौतम, कर्णाली प्रदेशमा शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेय र पर्वत गिरी तथा सुदूरपश्चिम प्रदेशमा शाखा अधिकृत अच्युत अर्यालले समन्वय गरेका थिए ।

प्रशासन शाखाका शाखा अधिकृतत्रय गोपालप्रसाद दाहाल, सुरथ पोख्रेल र दीपेन्द्रराज अधिकारीले गरेका थिए भने कृषि, वन तथा वातावरण शाखाका शाखा अधिकृत श्रीराम थापा, प्रशासन शाखाका नायव सुब्बाद्वय नारायणप्रसाद लामिछाने र टीकाराम तिमिल्सिना तथा कम्प्युटर अपरेटर अनितकुमार रसाइलीले सहजीकरण गरेको शाखा अधिकृत पाण्डेयले बताए ।

यसरी बन्न सक्छ नेपाल आत्मनिर्भर
प्रतिवेदनमा नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन यी काम गर्न सुझाइएको छ ।

  • सरकारी नर्सरीमा बिरुवा उत्पादन गर्दा कम्तिमा ४० प्रतिशत फलफूलका बिरुवा उत्पादन गर्न अनुरोध गर्ने ।
  • पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण कोरिडोर, मध्यपहाडी लोकमार्ग, काठमाडौं चक्रपथमा प्रत्येक पाँच मिटरमा एक-एक फल र फूल रोप्ने अभियानलाई भौतिक पूर्वाधार तथा यातायात र वन मन्त्रालयलाई संयुक्तरूपमा संचालन गर्न अनुरोध गर्ने ।
  • साथै अब निर्माण हुने सडकहरूको किनारामा सम्भव भएसम्म एक–एक फल र फूलको बिरुवा रोप्ने कामलाई निरन्तरता दिने ।
  • काठमाडौं–तराई द्रुत मार्गको प्रत्येक ५ देखि १० मिटरको अन्तरमा क्रमैसँग वातावरण अनुकूलका एक–एक फूलको बिरुवा रोप्न रक्षा मन्त्रालयलाई अनुरोध गर्ने ।
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई खाली रहेका सार्वजनिक स्थलमा फलफूल बगैंचा र उद्यान निर्माण गर्न अनुरोध गर्ने ।
  • विश्व विद्यालय, सरकारी क्याम्पस र सार्वजनिक विद्यालयका खाली जग्गामा अनिवार्यरूपमा फलफूल लगाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्ने ।
  • लुम्बिनी विकास कोषले संचालन गरिरहेको गुरुयोजनाअन्तर्गत एक हजार एक सय ५५ विघा (सात सय ७७ हेक्टर) क्षेत्रफलमा फैलिएको जमिनको ३०-४० प्रतिशतसम्मको क्षेत्रमा विभिन्न जातका फलफूल रोप्ने र फलफूलसम्बन्धी उद्योग स्थापना गरी आँप, लिची, अम्बा, कटहर लगायतका फलफूलहरूको रोपण गरी लुम्बिनीमा भगवान गौतम बुद्धको प्रसादको रूपमा प्रचार प्रसार गरी मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सकिने अवस्था छ । यसको लागि पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषसँग समन्वय गरी कार्ययोजना बनाई अगाडि बढ्न अनुरोध गर्नुपर्ने ।
  • नेपाल ट्रष्टको स्वामित्वका प्रयोगविहीन अवस्थामा रहेका जग्गाहरूमा फलफूलका बगैंचा बनाउन अनुरोध गर्ने ।
  • रोपिएका बिरुवाको उचित संरक्षण र ‘एक नेपाली एक फलफूलको बिरुवा रोपण’ अभियानको नेतृत्व कृषि तथा पशुपन्छी मन्त्रालयले लिई कार्यक्रमलाई अगाडि बढाउनको लागि अनुरोध गर्ने । गुणस्तरयुक्त फलफूलका बिरुवा उत्पादनमा जोड दिँदै फलफूलका बिरुवा रोप्ने मौसममा पर्याप्त बिरुवाको उपलब्धता हुने व्यवस्थाका लागि आवश्यक कदम चाल्न अनुरोध गर्ने ।
  • पशुपति क्षेत्र विकास कोष, विभिन्न धार्मिक स्थल विकास समितिहरूले ओगटेका क्षेत्रहरू जस्तै : पाथिभरा, हलेसी, खप्तड, मुक्तिनाथ, स्वयम्भुनाथ लगायतका क्षेत्रमा हावापानी सुहाउँदो फलफूलका बिरुवा रोपण गरी धार्मिक कार्यमा फलफूलको प्रयोगमा प्रोत्साहित गर्ने ।
  • नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको देशभरका कार्यालय तथा ब्यारेक वरिपरि रहेको खाली जमिनमा फलफूलका बिरुवा रोपण अभियानलाई निरन्तरता दिन सम्बन्धित मन्त्रालयमार्फत् अनुरोध गर्ने ।
  • प्रत्येक स्थानीय तहहरूलाई हरेक वर्ष फलफूलका बिरुवा रोपण गर्ने कार्यक्रम अनिवार्यरूपमा वार्षिक कार्यक्रममा समावेश गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् अनुरोध गर्ने ।
  • बैंक तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठान तथा अन्य संगठित संस्थाहरूलाई सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत फलफूलका बगैंचा निर्माण गर्न अभिप्रेरित गर्न अर्थ मन्त्रालयमार्फत् अनुरोध गर्ने ।
  • मनाङ जिल्लाको नेस्याङ गाउँपालिकामा लगाइएको व्यावसायिक स्याउ खेती जस्तै तरिकाले हिमाली क्षेत्रका अधिकांश जिल्लाका खाली जमिनमा स्याउ खेती लगाउन सकिने भएकाले अत्यधिक स्याउ उत्पादन हुने जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला, मुगु, दार्चुलामा स्याउ, ओखर, आरु, आल्चा आदि फलफूलहरू लगाउन सकिने जिल्लाहरू ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, गोरखा, धादिङ, रसुवा, कालिकोट, बाजुरा, बझाङ लगायतका उच्च पहाडी भागहरूमा सोही किसिमको अभियान चलाउन उपयुक्त हुने ।
  • हिउँद मौसममा पनि मौसम अनुकूलका फलफूलका बिरुवाहरू देशैभरि रोपण गर्ने अभियानलाई तीव्रताका साथ निरन्तरता दिने ।

प्रतिवेदनमा सुझाइएका व्यवस्थाहरु लागू गर्न सकिएको खण्डमा उपलब्ध स्रोत साधन(जमिन, हावा, श्रम, पानी, सीप आदि)को समुचित उपयोग भई अधिकतम् सदूपयोगको व्यवहारिक कार्यान्वयन बाट आत्मनिर्भर हुने देखिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :