साढे नौं करोड खर्चेर इटलीबाट स्याउका ९० हजार बिरुवा आयात गरिँदै

यो समाचार 148 पटक पढिएको

काठमाडौं । सरकारले इटालीबाट स्याउका ९० हजार २ सय बिरुवा आयात गर्ने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पहिलोपटक स्याउका बिरुवा आयात गर्न लागिएको हो । ९० हजार २ सय स्याउका बिरुवाका लागि ९ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक लक्ष्मणप्रसाद पौडेलले बताए । उनले भने, ‘सो बजेटबाट ३ करोड रुपैयाँबराबरको स्याउ रोप्ने किसानलाई तालिम दिइनेछ ।’ तालिममा किसानलाई बिरुवा कसरी रोप्नेदेखि बिरुवाको व्यवस्थापन कसरी गर्ने भन्नेबारे सिकाइने पनि उनले बताए ।

अहिले परियोजनाले बिरुवा आयातका लागि टेन्डर आह्वान गरी टेन्डरको मूल्यांकन अध्ययन गरिरहेको उनले बताए । स्याउका बिरुवा आयातका लागि चारवटा कम्पनी निवेदन परेको छ । अब केही दिनमा आयात गर्ने कम्पनीको छनोट गरी बिरुवा आयात गर्ने जिम्मा दिने पौडेलेले बताए । इटालीबाट नेपालमा त्यस्ता बिरुवा फागुन महिनासम्ममा आइपुग्ने अपेक्षा गरिएको छ ।

आयातीत बिरुवा जोन कार्यक्रम सुरु भएका सात जिल्लाका किसानलाई वितरण गरिने कार्यक्रम रहेको बताए । जसमा जिल्ला मुस्ताङ, मनाङ, डोल्पा, हुम्ला, मुगु, जुम्ला र पूर्वको सोलुखुम्बु छनोटमा परेका छन् ।

निर्देशक पौडेलका अनुसार, किसानले स्याउको बिरुवा खरिद गर्दा लागेको लागातको ३० प्रतिशत रुपैयाँ तिर्नुपर्नेछ । यसको ७० प्रतिशत परियोजनाले बेहोर्नेछ । जिल्लाको सदरमुकामसम्म पु¥याएको एउटा बिरुवाको लागत र ढुवानी खर्च १३ सय ५० रुपैयाँ पर्ने बताए । यसमा ३० प्रतिशत खर्च किसानले र बाँकी ७० प्रतिशत परियोजनाले बेहोर्नुपर्ने बताए ।

नेपाललाई स्याउमा मात्र निर्भर बन्ने उद्देश्यले इटालीबाट पहिलोपटक स्याउका बिरुवा आयात गर्न लागेको उनले बताए । पौडेलका अनुसार सरकारले इटालीबाट तीन जातका स्याउका बिरुवा आयात गर्न लागेका छ । गेन्डेल विलिसिएस, गाला र फुजी जातका स्याउका बिरुवा रहेका छन् । यी परम्परागत बिरुवालाई नयाँ तरिकाले सुधार गरेर बनाएका बिरुवा हुन् । जुन बिरुवाले परम्परागत बिरुवाको भन्दा धेरै उत्पादन दिन्छ ।

बाली विज्ञहरूका अनुसार त्यस्ता बिरुवाले रोपेको एक वर्षमै उत्पादन दिन थाल्छ । कुनै बिरुवाले रोपेको एक वर्ष नपुग्दै फल दिन्छ । आधुनिकीरण प्रविधिबाट तयार पारिएका बिरुवाको उत्पादन धेरै हुनुका साथै मलजल र व्यवस्थापन धेरै गर्नुपर्ने पौडेलले बताए ।

बिरुवाको राम्रो व्यवस्थापन नगर्ने हो भने ती बिरुवामा मर्ने सम्भावना धेरै हुने उनले बताए । सो स्याउको बिरुवा बचाउन टेका दिनुका साथै तारबार पनि लगानुपर्ने बताए । बिरुवामा टेका र तारबार नलगाउने हो भने बिरुवा भाँचिएर जाने उनेको भनाइ छ ।

पौडेलका अनुसार, परम्परातगका स्याउका बिरुवाले प्रतिहेक्टर जमिनमा १५ मेट्रिक टन स्याउ उत्पादन हुन्छ । विदेशमा हामीले आयात गर्ने लागेका जातका बिरुवाले प्रतिहेक्टरमा सय मेट्रिकटन स्याउ उत्पादन हुन्छ ।

सुरुमा विदेशमा जस्तो प्रतिहेक्टरमा सय मेट्रिकटन उत्पादन नभए पनि परम्परागत स्याउका बिरुवाले भन्दा धेरै उत्पादन दिने विश्वास छ ।
बिरुवाको राम्रो व्यवस्थापन गरे कम्तीमा पनि २५ वर्षसम्ममा स्याउ उत्पादन गर्न सकिने बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :