खाने होइन हजुर ! सिस्‍नोको चिया

यो समाचार 211 पटक पढिएको

सुनसरी । बारीका कान्ला र जंगलमा पाइने सिस्‍नो पकाएर खाने चलन त नेकपाका स्थानीय नेता धरानका अशोक राईलाई पहिल्यै थाहा थियो। तर, त्यही सिस्‍नोबाट चिया पनि बन्छभन्दा उनलाई अचम्म लाग्यो। अचेल उनी सिस्‍नोबाट बनेको चिया नियमित पिउँछन्।

सुरुमा त राईलाई सिस्‍नोको चियाभन्दा ‘के हो, कस्तो हो’ भन्ने लागेको थियो। ‘खाइ हेरौं न त’ भनेर सुरु गरेका उनलाई नियमित चिया पिउँदा कब्जियत र पायल्स पनि ठीक भयो। उनी भन्छन्, ‘स्वास्थ्यका लागि निकै फाइदाजनक रहेछ। अहिले घरमै मगाएर नियमित पिउँछु।’

जंगल र बारीमा खेर गइरहेको सिस्‍नोबाट एक वर्षअघि केही युवाले उत्पादन सुरु गरेको चिया अहिले लोकप्रिय बन्न थालेको छ। अशोक मात्र होइन धरान र इटहरीका धेरै जना सिस्‍नोको चियाको पारखी बनेका छन्। धेरै जसो ग्रिन टी पसलमा अहिले सिस्‍नोको चिया पाइन्छ भने कतिपयले घरघरमै मगाएर नियमित पिउने गरेका छन्।

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा माइक्रोबायोलोजी पढेका श्रीजंग राई, सामाजिक तथा व्यावसायिक क्षेत्रमा आबद्ध रोहित कुलुङ राई, नरेश राईलगायत युवाले खेर गइरहेको सिस्‍नोको सदुपयोग गर्ने उद्देश्यले करिब चार लाख लगानी गरेर ‘नेटल धरान समूह’ स्थापना गरेका छन्। यो समूहले धरानको बसन्तटार, धनकुटाको भेडेटारलगायत क्षेत्रबाट कृषले संकलन गरेर ल्याएको सिस्‍नो किन्छ र त्यसलाई प्रशोधन गरेर चिया तयार गर्छ।

जंगल र बारीमा खेर गइरहेको सिस्‍नो बाट एक वर्षअघि केही युवाले उत्पादन सुरु गरेको चिया अहिले लोकप्रिय बन्न थालेको छ।

उत्पादित चिया प्याकेटमा हालेर बजारमा पठाइन्छ। अहिले धरान, इटहरीदेखि चितवनसम्म उनीहरूले उत्पादन गरेको सिस्‍नोको चिया जाने गरेको छ। समूहका सचिव रोहित कुलुङ राई भन्छन्, ‘अझै धेरैले यसबारेमा बुझेका छैनन्। बुझ्नेले नियमित सेवन गर्छन्। हामीले अझै राम्रोसँग मार्केटिङ गर्न सकेका छैनौं।’

माइक्रोबायोलोजिस्ट श्रीजंग राईका अनुसार सिस्‍नोमा आइरन, जिंक, क्याल्सियम, एन्टि अक्सिडेन्ट, मिनरल्स जस्ता धेरै न्युट्रेसन पाइन्छ। यसले हाड खिइने समस्या कम गर्ने, बुढ्यौलीपन कम गर्नेदेखि विभिन्न शारीरिक समस्या ठीक गर्छ। सिस्‍नो आयुर्वेदिक औषधिय वनस्पतिका रूपमा पनि चिनिन्छ। राई भन्छन्, ‘पढ्दा स्थानीय स्रोत साधनबाट पनि उत्पादन गर्न सकिन्छ भनेर बुझियो। प्राविधिक क्षेत्रमा आफैं भएकाले कम लगानीमा सुरु गर्न सकियो। अहिले बजारबाट राम्रो प्रतिक्रिया पाएका छौं।’

जंगल र बारीमा धेरै प्रकारका सिस्‍नो पाइन्छन् तर चियाका लागि आर्टिका डायका प्रजातिको सिस्‍नो मात्र प्रयोग गर्ने गरिएको राईको भनाइ छ। सिस्‍नोबाट बडीलोसन, टुथपेस्टलगायत धेरै उत्पादन गर्न सकिने उनी बताउँछन्। भन्छन्, ‘कृषिमा राज्यले गरेको लगानी सदुपयोग हुने हो भने हाम्रै बारी, जंगलमा पाइने वनस्पतिबाट धेरै वस्तु उत्पादन गर्न सकिन्छ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :