डुब्दै अलैँचीका किसान, ब्याजको ऋण पनि डुब्यो, थातथलोबाट विस्थापित पनि गरायो

यो समाचार 179 पटक पढिएको

ताप्लेजुङ । अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिनुभयो ।

झण्डै सात लाख रुपैयाँ लगानी थपेर उहाँले अलैँची खेती विस्तार पनि गर्नुभयो । साहुबाट महङ्गो ब्याज दरमा ऋण लिनुभएका सार्कीले ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै खर्चिनुभयो । बाँकी रकमले बिरुवा किनेर धान उत्पादन हुने खेतमा अलैँची लगाउनुभयो तर, सोचे जस्तो भएन ।

सधैं २५ मुरी भन्दा बढी धान फल्ने खेतमा अलैँची रोपेपछि उहाँ चामल खरिद गर्न थाल्नुभयो । अलैँची फल्छ, अनि बेचेरै साहुको ऋण तिरौँला भनेर दिनरात खट्नुभएका सार्कीलाई त्यही अलैँची खेतीले बसाइँ हिँडायो । अहिले उहाँ नुवाकोटमा गएर गुजारा चलाउँदै आउनुभएको छ । “न अलैँची राम्रो फल्यो, न त मूल्य नै राम्रो भयो, दिनानुदिन ऋण माथि ऋण थपिँदै गएपछि विकल्प खोज्न परिवारसहित नुवाकोटमा गएर काम गरिरहेको छु,” सार्कीले भन्नुभयो ।

उहाँले थप्नुभयो – “उसबेला साहुबाट लिएको ऋणको साँवा र ब्याज हिसाब गर्दा झण्डै १५ लाख पुगेछ । यसपालि बल्लतल्ल डेढ मन अलैँची फलेछ । अहिलेको भाउ अनुसार ५० हजार पनि आउँदैन । के ले ऋण तिर्ने ? होश उडिसक्यो ।”

त्यही ठाउँका राजकुमार भट्टराईलाई खेत मासेर अलैँची खेती गरे यता दिनरात पिरलो छ । वर्षभर पुग्ने अन्नपात उब्जने खेतमा राम्रो आम्दानी हुने सपना देखेर अलैँची रोपे तर, भाउ नहुँदा र उत्पादन समेत नहुँदा उहाँलाई पिरलो भएको हो । “झण्डै तीन लाख रुपैयाँ ऋण गरेर सिँचाइको व्यवस्था गरेँ, अलैँची राम्रो फलेन, भाउ पनि फेदैमा पुग्यो, अलैँची खेती निल्नु न ओकल्नु भयो,” भट्टराई भन्नुहुन्छ । भाउ बढेकै बेला किसान यसको खेतीमा आकर्षित हुन थाले पछि फुङलिङ नगरपालिका बस्दै आउनुभएका भिङ्मारे लिम्बुमा बिरुवा बेचेरै आम्दानी गर्ने सोच पलायो र अलैँची नर्सरी गर्न थाल्नुभयो ।

पछिल्लो समयमा गरेको लगानी त्यसै खेर जाने भए पछि उहाँमा पनि चिन्ता थपियो । यी त सीमित क्षेत्रका किसानका मात्रै कथा हुन् । जिल्लाभरकै अलैँची किसानको कथाव्यथा उस्तै उस्तै छ । केही वर्ष अघि प्रतिमन १ लाख २० हजार रुपैयाँसम्म मूल्य आउँदा हौसिएर अलैँची खेतीमा लगानी गरेका किसानको काँधमा ऋणको पोको झुण्डिन पुगेको छ । वर्षभर खान पुग्ने अन्नपात उब्जाउ हुने खेतबारी अलैँची र जङ्गलले ढाकिएका छन् ।

खेतबारी नै मासेर बसेका किसानका घरमा झापादेखिका व्यापारीले धान लगेर बेच्न थालेका छन् । कुनै समय तिनै किसान आफैंले उत्पादन गरेको धान बेचेरै गुजारा चलाउँथे । एक्कासि मूल्य बढेर क्रमशः ओरालो लागेपछि आफूहरु मारमा परेको कृषकहरु बताउँछन् । प्रतिमन एक लाख २० हजार रुपैयाँको हिसाब गरेर लगानी गरेका उनीहरुमाथि समस्याको पहाड आइलागेकोे छ – मूल्य ओरालो लाग्दै गएर २५–३० हजार रुपैयाँमा झरेपछि ।

व्यापारीलाई पनि चिन्ता

अलैँचीको मूल्यमा हुने उतारचढावले किसान मात्रै हैन अलैँची व्यापारी समेत हैरान छन् । छोटो छोटो अवधिमा मूल्यमा आउने उतारचढावले उनीहरु समस्यामा परेका हुन् । मूल्य स्थिर नहुँदा खरिद बिक्री गर्न नै समस्या हुने गरेको अलैँची व्यापारी बुद्ध दाहालले बताउनुभयो । “किसानबाट एउटा मूल्यमा लिएको अलैँची कहिले घाटामा कहिले नाफामा बेच्नु पर्छ, प्रायः नाफा भन्दा घाटा धेरै हुन्छ,” दाहाल भन्नुहुन्छ । अलैँचीको मूल्य बढ्दा किसानलाई दिएको ऋण उठाउनै पर्ने बाध्यताले पनि घाटा सहेर कारोबार गर्नुपरेको व्यापारीहरु बताउँछन् ।

अलैँची कै कारोबारले टाट पल्टिएर व्यवसायबाटै पलायन हुनेदेखि ठूला शहरमा घर बनाउनेसम्मका व्यापारी छन् । मूल्यमा आउने उतारचढावले किसानलाई मानसिक समस्यामा पारेको छ भने व्यापारीलाई आर्थिक रुपमै डुबाउने र उकास्ने गरेको छ । ठूला व्यापारी सिधै भारतका व्यापारीसँग कारोबार गर्छन् भने साना व्यापारी बिर्तामोडका व्यापारीसँग ।

भारत, बिर्तामोड जता लगे पनि नेपाली अलैँचीको बजार भारत मात्रै हो । साना ठूला दुवै व्यापारी भारतीय व्यापारीकै भर हुन्छन् । अलैँची व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले भन्नुभयो “भारतीय व्यापारीले जे भन्यो त्यही ठिक हुन्छ । आज एउटा मूल्य भन्या छ, अर्को दिन तुरुन्तै फेरिन्छ । उनीहरुसम्म अलैँची पु¥याएर कारोबार गर्न सहज छैन ।” भारतकै मात्र भर पर्नुपर्ने भएकाले पनि नेपालका अलैँची व्यवसायीलाई यसको कारोबारमा समस्या हुने गरेको छ ।

यता, पछिल्लो समयमा ताप्लेजुङमा अलैँचीको कारोबार घटेको व्यवसायीहरु बताउँछन् । केही दिन यता कारोबार प्रायः ठप्प बनेको अध्यक्ष बरालले बताउनुभयो । उहाँले भन्नुभयो – “बिर्तामोडका साहुले लिँदैनन् । सबै व्यापारीको गोदाम अलैँचीले भरिएको छ । हामीले किसानसँग हाताहाती कारोबार गर्नुपर्छ । किसानबाट लिँदालिँदै भएको पैसा सकियो । के ले कारोबार गर्ने रु” उहाँका अनुसार भारततर्फ निकासी कमै भइरहेकाले नेपालको अलैँची गोदाम मै थन्किरहेको हो ।

निकासीमा समस्या भएको व्यापारीहरुको भनाइ छ । कतिपय व्यापारीले भने पछिल्लो समयमा मूल्य निरन्तर ओरालो लागिरहेकाले घाटामा पर्ने डरले किन्नै छाडेका छन् । पछिल्लो तीन साता यता मूल्य निरन्तर घटिरहेको छ । मङ्सिरमा प्रतिमन २९ हजारमा कारोबार भएको अलैँचीको मूल्य अहिले आएर २६–२७ हजार रुपैयाँमा झरेको छ ।

नेपाल बाहेक अन्य मुलुकहरुमा समेत अलैँची उत्पादन हुन थालेपछि नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजार खुम्चिएको बताइन्छ । यो वर्ष अलैँची किन्न भारतका व्यापारी पनि कमै आएका छन् ।

सरकारसँग गुनासो

नेपालको अर्थतन्त्रमा ठूलो योगदान रहेको अलैँचीको बजारीकरणमा राज्यले पर्याप्त चासो नदिएको व्यवासायीहरु बताउँछन् । अध्यक्ष बालमणि बरालले भन्नुभयो – “अलैँचीको नेपालको अर्थतन्त्रमा ठूलै हिस्सा रहे पनि यसको बजारीकरणमा भने राज्यले आँखा चिम्लिदिएको छ ।” उहाँले थप्नुभयो – “भारत बाहेकका तेस्रो मुलुकसम्म नेपाली व्यापारीको पहुँच छैन । भारतका व्यापारीले जे मूल्य तोक्छन् त्यही अनुसार नेपालमा मूल्य निर्धारण हुने गरेको छ ।”

राज्यले अलैँची खेती प्रर्वद्धनका लागि स्पष्ट नीति नबनाइदिएकाले समस्या भएको उहाँको ठम्याइ छ । सरकारले अन्तर्राष्ट्रिय स्तरसम्म अलैँचीको बजारीकरण गरिदिन सहयोग गर्नुपर्नेमा व्यवसायीको जोड छ ।

अलैँची खेतीको प्रर्वद्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलै लगानी हुने गरेको तर बजारीकरणमा भने गम्भीर नभएको व्यवसायीको गुनासो छ । भारत बाहेकका तेस्रो मुलुकमा समेत अलैँचीको कारोबार हुने वातावरण मिलाउन सके भारतका व्यापारीको मनोमानीबाट मुक्ति मिल्ने विश्वास व्यवसायीको छ । किसानले गरेको लगानी र व्यवसायीले मोलेको खतरालाई राज्यले गम्भीर रुपमा नलिएकामा उनीहरुको दुःखेसो छ ।

पहाडी भेगबाट झापाको बिर्तामोड हुँदै भारतीय बजारसम्म अलैँची पु¥याइन्छ । नेपालमा उत्पादित ९० प्रतिशत अलैँची भारत निर्यात हुने गरेको छ । मसला बनाउन प्रयोग गरिने अलैँचीको खास बजार भने खाडी मुलुक हो । भारतको नयाँ दिल्ली हुँदै दुबई, साउदी अरब, कतार, बहराइन जस्ता खाडी मुलकमा पठाइन्छ । केही परिमाण पाकिस्तान पनि जान्छ । नेपालमा यसको बजार छैन । नेपाली व्यापारीहरु तेस्रो मुलुकमा निर्यात गर्ने सामथ्र्य राख्दैनन् । नेपालमै प्रशोधनको कुनै उपाय पनि खोजिएको छैन । आफ्नै देशमा प्रशोधन नहुँदा यो उपज सस्तोमा बेच्नुपर्ने बाध्यता छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :